close

आईफोन १६ लाई टक्कर दिन सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक हुँदै, केके छन् फिचर ?

टेकपाना टेकपाना

पुस २७, २०८१ १९:१४

आईफोन १६ लाई टक्कर दिन सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक हुँदै, केके छन् फिचर ?

 

काठमाडौं । सामसङको नयाँ स्मार्टफोन सिरिज ग्यालेक्सी एस२५ सार्वजनिक हुन दुई साताभन्दा पनि कम समय बाँकी छ । आगामी २२ जनवरीमा हुने ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङले आफ्नो बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गर्दैछ ।

ग्यालेक्सी एस २५ सिरिज अन्तर्गत एस २५, एस २५ प्लस र एस २५ अल्ट्रा सार्वजनिक हुनेछन् । यी तीन ओटै फोनमा शक्तिशाली प्रोसेसर र उत्कृष्ट क्यामेरा सेटअप हुने अपेक्षा गरिएको छ ।

सामसङ ग्यालेक्सी एस २५

सामसङको नयाँ सिरिजका विभिन्न मोडेलको विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । तर, विभिन्न लिकरहरूले फोनको हार्डवेयर र सफ्टवेयरको बारेमा महत्त्वपूर्ण जानकारी लिक गरिसकेका छन् । 

लिक भएका जानकारीका अनुसार सामसङ एस २५ को बेस भेरियन्टमा ६.२ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुनेछ । यसलाई फुल एचडी प्लस डिस्प्लेका रूपमा चर्चा गरिएको छ ।

त्यस्तै यसमा २३४०x१०८० पिक्सेल रेजोलुसन र १२० हर्जको रिफ्रेस रेट हुनेछ । फोनमा स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी प्रोसेसर प्रयोग भएको दाबी गरिएको छ । यो फोन १२ जीबी र्‍याम र १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा ४००० एमएएच क्षमयाको ब्याट्री हुनेछ भने यसलाई २५ वाटको वायर्ड चार्जरबाट चार्ज गर्न सकिनेछ । 

यसमा वायरलेस चार्जिङको सुविधा पनि हुने भनिएको छ । तर, यसको विवरण खुलाइएको छैन । क्यामेराको कुरा गर्दा यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (ओआईएस, थ्रीएक्स अप्टिकल जुम) हुनेछ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ ।

फोनमा डुअल सिम, ईसिम, वाई-फाई सेभेन र ब्लुटुथ ५.३ जस्ता सुविधा हुने उल्लेख गरिएको छ । यो फोन एन्ड्रोइड १५ र सामसङको वन यूआई सेभेन अपरेटिङ सिस्टममा आधारित हुनेछ । यसको तौल १६२ ग्राम र आकार १४६.९ x ७०.५ x ७.२ एमएम रहने दाबी गरिएको छ ।

सामसुङ ग्यालेक्सी एस २५ प्लस

सामसङले सार्वजनिक गर्न लागेको अर्को मोडेल हो ग्यालेक्सी एस २५ प्लस । यसमा ६.७ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुनेछ । ३१२० x १४४० (WQHD) पिक्सेल रेजोल्युसन भएको यस डिस्प्लेको रिफ्रेस रेट १२० हर्ज हुने बताइएको छ । यस फोनमा पनि स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी प्रोसेसर प्रयोग हुनेछ । फोनमा १२ जीबी र्‍याम र २५६ जीबी वा ५१२ जीबी स्टोरेज विकल्प उपलब्ध हुनेछ । ४९०० एमएएच क्षमताको ब्याट्री हुने यस फोनले ४५ वाटको वायर्ड चार्जिङ सपोर्ट गर्ने दाबी गरिएको छ । यसमा वायरलेस चार्जिङको सुविधा पनि हुनेछ ।

क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (ओआईएस, थ्रीएक्स अप्टिकल जुम) हुनेछ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने बताइएको छ । यसमा पनि डुअल सिम, ईसिम, वाई-फाई सेभेन र ब्लुटुथ ५.३ जस्ता सुविधा हुनेछन् । फोन एन्ड्रोइड १५ र सामसङको वन यूआई सेभेनमा चल्नेछ । यसको तौल १९० ग्राम र आकार १५८.४ x ७५.८ x ७.३ एमएम हुने चर्चा गरिएको छ ।

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा

यस सिरिजको सबैभन्दा शक्तिशाली फोन सामसङ ग्यालेक्सी एस २५ अल्ट्रामा ६.९ इन्चको फ्ल्याट डाइनामिक एमोलेड टुएक्स डिस्प्ले हुने दाबी गरिएको छ । यसमा ३१२०*११४० पिक्सेल रेजोलुसन र यसको रिफ्रेस रेट १२० हर्ज हुने बताइएको छ । यसमा सामसङको शक्तिशाली स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी प्रोसेसर रहने जनाइएको छ । फोनमा १२ जीबी र्‍याम र २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज विकल्प उपलब्ध हुनेछ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ भने यसले ४५ वाटको वायर्ड चार्जिङ सपोर्ट गर्नेछ । यसमा पनि वायरलेस चार्जिङ पनि उपलब्ध हुनेछ ।

क्यामेरा सेटअपमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामेरा (ओआईएस, फाइभएक्स अप्टिकल जुम) र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (ओआईएस, थ्रीएक्स अप्टिकल जुम) हुनेछ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ । यसमा डुअल सिम, ईसिम, वाई-फाई सेभेन र ब्लुटुथ ५.३ जस्ता फिचर हुनेछन् । यो फोन एन्ड्रोइड १५ र सामसङको वन यूआई सेभेनमा चल्नेछ । यसको तौल २१८ ग्राम र आकार १६२.८x७७.६x८.२ एमएम हुनेछ । 

यी लिकरले बाहिर ल्याएका र अपेक्षा गरिएका एस २५ सिरिजका फिचरहरू हुन् । सधैंजसो सामसङलाई यस वर्ष एप्पलको आईफोन १६ सँग प्रतिस्पर्धा गर्ने चुनौती छ । त्यसैमा ह्वावेको मेट ६० प्रो पनि थपिएको छ । एस २५ सिरिजमा सामसङले गुगलसँग मिलेर विभिन्न एआई फिचर ल्याएको थियो । त्यसमध्ये कल तत्कालै अनुवाद गरिदिने, तत्कालै सर्कल गरेर गुगलमा सर्च गर्न सकिने, नोटलाई स्तरीय बनाउन एआईले सघाउने लगायतका फिचर उपलब्ध गराएको थियो । ती फिचर पछिल्लो समय अन्य स्मार्टफोनमा पनि उपलब्ध हुन थालेका छन् ।

एप्पलले आईफोन १६ लाई भिन्नै बनाउन क्यामेरा बटन थपेर नयाँ स्वरूप दिएको थियो । त्यस्तै चुनौती सामसङलाई पनि छ । सामसङले यस पटक गुगलको एआई च्याटबट जेमिनाईको एड्भान्स भर्सन केही समयका लागि प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउन पहल गरिरहेको चर्चा छ । त्यसबाहेक कम्पनीले फोनमा अन्य के परिवर्तन ल्याउँछ भन्ने खुलिसकेको छैन । हालसम्म बाहिरिएका विवरण हेर्ने हो भने पनि सामसङले एस २५ सिरिजमा ठूलो हार्डवेयर परिवर्तन ल्याउने सङ्केत देखिएको छैन ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८१ १९:१४