काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो लोगो, टाइपफेस र कलर कम्बिनेसन परिवर्तन गरेको छ । मङ्गलबार एक ब्लगमार्फत कम्पनीले नयाँ स्वरूप सार्वजनिक गरेको हो ।
नयाँ लोगो पहिलो नजरमा पुरानोभन्दा खासै फरक नदेखिए पनि तुलना गर्दा यसको रेखा स्पष्ट र बीचमा थोरै खाली ठाउँ देखिन्छ ।
यो नयाँ डिजाइन ओपनएआईकै आफ्नै डिजाइन टोलीले तयार पारेको हो । सीईओ साम अल्टम्यान र सह-संस्थापक इल्या सुट्सकेभरले पहिलो लोगो डिजाइन गरेका थिए । यस पटक भने भिट मोलर र श्यानन जेगर नेतृत्वको टोलीले नयाँ लोगो डिजाइन गरेको हो ।
वालपेपर म्यागजिन अन्तर्वार्तामा उनीहरूले डिजाइन परिवर्तन गर्नुको कारण खुलाएका छन् ।
ओपनएआईले ‘ओपनएआई सान्स’ नामक नयाँ टाइपफेस पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो टाइपफेसले ज्यामितीय शुद्धता र कार्यक्षमतालाई गोलाकार रूपमा प्रस्तुत गर्दछ । यसलाई मानवीय स्पर्श दिन ‘ओ’ अक्षरको बाहिरी भाग पूर्ण गोलो र भित्री भाग भने केही फरक राखिएको छ ।
ओपनएआईका डिजाइनरहरूले वालपेपरलाई बताए अनुसार उनीहरूले फोटोग्राफी, टाइपोग्राफी, मोसन र स्पेसल डिजाइनका विज्ञहरूसँग मिलेर काम गरेका थिए । डिजाइनलाई अझै नवीन र मानवीय बनाउन ड्याल.ई, च्याटजीपीटी र सोरा जस्ता एआई टुललाई पनि प्रयोग गरिएको थियो ।