काठमाडौं । सस्तोमा स्टाइलिश डिजाइन र आकर्षक फिचरले भरिएको फोन हो, ‘बेन्को भी ९२’ । हामीले केही साता यो फोन प्रयोग गरेका छौं । र, त्यसैका आधारमा हालै मात्र बजारमा आएको यो बेन्को भी ९२ का विभिन्न पक्षको चर्चा गरेका छौं:
विशेषगरी बजेट फोनको खोजीमा रहेका प्रयोगकर्तालाई लक्षित गरी यो फोन बजारमा आएको छ । बेन्को भी ९१ प्लस पछिको यो फोन कस्तो छ ? यो फोन हातमा लिँदा नै यसको डिजाइनले तपाईंलाई आकर्षित गर्नेछ । यसमा प्रयोग भएको भेगन लेदर टेक्स्चरले प्रिमियम फोनको अनुभव दिन्छ । यो स्पेस ब्ल्याक (Space Black) र सहारा गोल्ड (Sahara Gold) कलर भेरियन्टमा उपलब्ध छ । १६ हजार ९९९ रुपैयाँ मूल्य पर्ने यो फोन फिचर र डिजाइनका हिसाबले ठीकै लाग्यो ।
बेन्को भी ९२ मा ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । डिस्प्लेको रङ एकदमै जीवन्त देखिन्छ । र, भिडिओ हेर्दा वा सामाजिक सञ्जाल चलाउँदा राम्रो अनुभव प्राप्त हुन्छ । क्यामेराको कुरा गर्दा यसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र ३२ मेगापिक्सलको सेल्फी क्यामेरा छ । पर्याप्त उज्यालोमा मुख्य क्यामेराले राम्रा तस्बिरहरू खिच्छ, जुन तपाईं हाम्रो तलको भिडिओमा पनि हेर्न सक्नुहुन्छ । पोर्ट्रेट मोडमा खिचेका तस्बिरहरू पनि राम्रै छन् र बोके (Bokeh) प्रभावले राम्रो काम गर्छ । तपाईंले विभिन्न फिल्टरहरू प्रयोग गरेर आकर्षक फोटो खिच्न सक्नुहुन्छ ।
यसको फ्रन्ट क्यामेराबाट लिइएका सेल्फीहरू पनि आकर्षक देखिन्छन् । मूल्यलाई हेर्ने हो भने यी फोटो ठीकै हुन् भन्ने निष्कर्शमा पुग्न सकिन्छ । भिडिओको हकमा यसको फ्रन्ट क्यामेराबाट ७२० पिक्सेलमा ३० एफपीएस र ब्याक क्यामेराबाट १०८० पिक्सेलमा ३० एफपीएस सम्मको भिडिओ खिच्न सकिन्छ । भिडिओमा केही जर्क (Jerk) अनुभव हुन्छ । क्यामेरामा प्रो, पोर्ट्रेट, अल्ट्रा , टाइम ल्याप्स जस्ता मोडहरू पनि छन् । समग्रमा १७ हजारको मूल्यमा यसको क्यामेरालाई राम्रै मान्न सकिन्छ, तर भिडिओलाई स्थिर (Stable) बनाउन भने सुधार गर्नुपर्ने देखिन्छ । हिँडेर भिडिओ खिच्दा वा तपाईंको हात काप्छ भने यसले तपाईंले अपेक्षा गरेको जस्तो भिडिओ रेकर्ड नगर्न सक्छ ।
बेन्को भी ९२ एन्ड्रोइड १४ मा आधारित छ । यसमा युनिसोक टी६०६ओक्टा-कोर प्रोसेसर (Octa-Core Processor) प्रयोग गरिएको छ । यो इन्ट्री लेभलको प्रोसेसर भएकाले सामान्य कामहरू सहजै गर्न सकिन्छ । सामान्य गेमहरू खेल्दा पनि खासै समस्या नआउने गरेको हामीले पायौं । यसमा फ्री फायर जस्ता गेमहरू पनि खेल्न सकिन्छ । यसले एचडी ग्राफिक्स सपोर्ट गर्छ र एक घण्टा जति गेम खेल्दा तात्तिने समस्या देखिएन । तर कहिलेकाहीँ फ्रेम ड्रप (Frame Drop) भएको अनुभव हुन्छ । यसले जाइरोस्कोप (Gyroscope) पनि सपोर्ट गर्छ, तर यो त्यति प्रभावकारी छैन । यो फोन दैनिक गेम खेल्नेहरूका लागि भने होइन । तपाईं गेमिङका लागि यो फोन खरिद गर्दै हुनुहुन्छ भने निरुत्साहित हुन सक्नुहुन्छ ।
यसमा इन वन यूआई (In One UI) छ, जुन चलाउन सजिलो छ । यसमा स्मार्ट विन्डो भन्ने नयाँ फिचर पनि थपिएको छ, जुन आईफोनको डाइनामिक आइल्यान्ड (Dynamic Island) जस्तै छ । फोन चार्ज गर्दा, कल गर्दा र फेस अनलक (Face Unlock) गर्दा माथि क्यामेराको भाग भएको ठाउँमा नोटिफिकेसन देखिन्छ ।
यसमा ५००० एमएएच क्षमताको ब्याट्री छ । तर १८ वाटको मात्र चार्जर दिइएकाले फोन चार्ज हुन दुई घण्टाभन्दा बढी लाग्छ । हामीले प्रयोग गर्दा एक पटक चार्ज गरेपछि भने यो फोन डेढ दिनसम्म टिक्यो । तपाईं कति प्रयोग गर्नुहुन्छ भन्नेमा ब्याट्री कति टिक्छ भन्ने थाहा हुन्छ । ब्याट्रीको हिसाबले यो फोन राम्रो छ, तर चार्जरमा भने कम्पनीले ध्यान दिनुपर्ने देखिन्छ ।
कनेक्टिभिटीको लागि यसमा डुअल ब्यान्ड वाईफाई, डुअल सिम र ब्लुटुथ जस्ता सुविधा छन् । सुरक्षाको लागि साइड माउन्टेड फिंगरप्रिन्ट, फेस आईडी, पिन र पासवर्डको विकल्प पनि छ । फोनमा ६ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज छ, जुन सामान्य प्रयोगको लागि पर्याप्त छ ।
समग्रमा क्यामेरा, ब्याट्री, पर्फर्मेन्स र लुक्स सबैमा सन्तुलन मिलाइएको फोन खोज्नेहरूका लागि बेन्को भी ९२ एउटा राम्रो विकल्प हुन सक्छ ।