काठमाडौँ । बागमती प्रदेश सरकारले पर्यटन प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी (ईभी) सञ्चालन गर्नका लागि मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘पर्यटक यातायात (विद्युतीय सवारी) को गुणस्तर, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरी लागु गरेको हो ।
यसअघि इन्धनबाट चल्ने पर्यटक सवारीका लागि मापदण्ड भएपनि ईभीका लागि कुनै कानुनी आधार नभएकाले यो मापदण्ड ल्याइएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार ‘प्रदेश पर्यटन ऐन, २०७८’ को दफा ११७ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै यो मापदण्ड बनाइएको हो ।
अब बागमती प्रदेशमा पर्यटक सवारीका रूपमा दर्ता भएका ईभीहरू सोही मापदण्ड अनुसार सञ्चालनमा आउनेछन् ।
मापदण्डअनुसार पर्यटक ईभीलाई साना, मझौला र ठुला गरी तीन किसिममा वर्गीकरण गरिएको छ । साना सवारीमा अधिकतम १४ सिट क्षमताका गाडी पर्छन् । यस श्रेणीलाई सिटी सफारी, जिप सफारी र जङ्गल सफारीमा विभाजन गरिएको छ । सिटी सफारी र जिप सफारीको सिट क्षमता ५ देखि १४ सम्म, जङ्गल सफारीको सिट क्षमता १४ सम्म तोकिएको छ । यी सवारीको न्यूनतम प्रमाणित रेन्ज सिटी सफारीका लागि २०० किलोमिटर, जिप सफारीका लागि ३०० किलोमिटर र जङ्गल सफारीका लागि १५० किलोमिटर तोकिएको छ ।
मझौला सवारीमा २५ सिट क्षमतासम्मका ईभी समेटिएका छन् । यसको मोटर क्षमता ८० किलोवाट प्रति घण्टा भन्दा बढी र ब्याट्री क्षमता ५० किलोवाट प्रति घण्टा भन्दा बढी हुनुपर्नेछ । ठुला सवारीमा २६ वा सोभन्दा बढी सिट क्षमताका गाडी पर्छन् । त्यसका लागि मोटर क्षमता ९० किलोवाट प्रति घण्टा वा सोभन्दा बढी, ब्याट्री क्षमता ६० किलोवाट प्रति घण्टा वा सोभन्दा बढी र ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटरभन्दा बढी हुनुपर्नेछ ।
जङ्गल सफारीका लागि प्रयोग हुने खुला सवारीको पछाडिको भागमा विशेष सुरक्षा अपनाउनुपर्ने मापदण्डमा उल्लेख छ । पे-लोड क्षमता १ टनभन्दा बढी हुनुपर्नेछ भने खुला भागमा आरामदायी सिटको व्यवस्था गर्नुपर्नेछ । पर्यटकलाई जङ्गली जनावरको आक्रमणबाट जोगाउन ३० एमएम भन्दा बाक्लो फलामको जाली राख्नुपर्नेछ । झ्यालको दुबै छेउमा दुई तहको फलामको बार (३० एमएम भन्दा बढी) जडान गर्नुपर्नेछ ।
सवारीमा टर्च र लाइट अनिवार्य रूपमा राख्नुपर्नेछ भने जनावरलाई हानि पुर्याउने उपकरण लैजान नपाइनेछ । गन्तव्य स्थानसम्म पुग्ने समय यात्रुका लागि असहज हुने गरी तोक्न नहुने उल्लेख छ । यात्रा अवधिमा सवारी बिग्रिएमा पर्यटकको सुविधालाई प्राथमिकता दिनुपर्ने र उनीहरूको मालसामानको सुरक्षा सुनिश्चित गर्नुपर्नेछ ।
यात्राका लागि सवारीधनीले यात्रुको दुर्घटना बीमा तथा मालसामान (लगेज) को समेत बीमा गराउनु पर्नेछ । भाडादर ‘विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ को नियम ३ अनुसार निर्धारण गरिनेछ ।
ईभीको ब्याट्रीको आयु सकिएमा वा बिग्रिएमा त्यसको व्यवस्थापन सवारीधनीले नै गर्नुपर्ने व्यवस्था मापदण्डमा उल्लेख छ । सो मापदण्ड कार्यान्वयनमा आएको छ वा छैन भन्नेबारे संस्कृति तथा पर्यटन मन्त्रालयले निरीक्षण तथा अनुगमन गर्नेछ र उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार कारबाहीको निर्देशन दिनेछ ।