काठमाडौँ । अब वैदेशिक रोजगारीका लागि अनलाइनमार्फत श्रम स्वीकृति लिन एक घण्टाभन्दा बढी कुर्नु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक घण्टाभित्रै श्रम स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबको एक साताभित्र एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था लागु हुने जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक सुधार सम्पन्न भइसकेको छ ।
“केही समयअघि श्रम स्वीकृति लिन ८-१० दिन लाग्थ्यो । हाल तीन दिनमा स्वीकृति दिन थालिएको छ । अब तीन-चार दिनभित्रै एक घण्टामा श्रम स्वीकृति दिनेछौँ,” उनले भने ।
यो सेवा सुरु भएपछि पहिलोपटक विदेश जान चाहने र दोहोरिएर जाने दुबै प्रकारका सेवाग्राहीले फेमिस प्रणालीमार्फत एक घण्टाभित्र श्रम स्वीकृति लिन सक्नेछन् ।
सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन फेमिस प्रणाली लागु गरेको हो ।