एआईका कारण विश्वव्यापी चिप अभाव बढ्दो, स्मार्टफोनसँगै ल्यापटप तथा पीसीको मूल्य बढ्न सक्ने
मंसिर २९, २०८२ १९:१
काठमाडौँ । आगामी दिनमा ल्यापटप, कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट र स्मार्टवाच लगायत मेमोरी प्रयोग हुने लगभग सबै ग्याजेटहरूको मूल्य उल्लेख्य रूपमा बढ्ने सम्भावना उच्च देखिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि डेटा सेन्टरको निर्माणको काम तीव्र गतिमा बढ्दा विश्वव्यापी रूपमा मेमोरी चिपको आपूर्तिमा चरम अभाव देखिँदा यस्तो अवस्था सिर्जना भएको हो ।
यो अवस्थालाई बजार विश्लेषकहरूले चिन्ताजनक भन्दै यसले सबै क्षेत्रलाई असर गरेको बताएका छन् । एआईको माग यति छिटो बढ्ने कुराका लागि सेमिकन्डक्टर उद्योग तयार नरहेकाले यो अप्रत्याशित असन्तुलन आएको विश्लेषकहरू बताउँछन् ।
मेमोरी चिपको मूल्यमा भएको वृद्धिका कारण २०२५ मा स्मार्टफोन उत्पादन लागत ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने ट्रेन्डफोर्सको प्रतिवेदनमा उल्लेख छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको तीव्र विकास नै उपभोक्तामुखी उत्पादनमा मेमोरीको मूल्य बढ्नुको मुख्य कारण हो । मेटा, माइक्रोसफ्ट र गुगल जस्ता प्रविधि कम्पनीहरूले एआईको माग धान्नका लागि आफ्ना डेटा सेन्टर र पूर्वाधारलाई आक्रामक रूपमा विस्तार गरिरहेका छन् ।
यसको परिणामस्वरूप माइक्रोन र सामसङ जस्ता प्रमुख मेमोरी निर्माताहरूले कम्प्युटर र स्मार्टफोनमा प्रयोग हुने मेमोरीको सट्टा डेटा सेन्टरमा प्रयोग हुने विशेष प्रकारको मेमोरी उत्पादनमा ध्यान केन्द्रित गरेका छन् । माइक्रोनले त झन् एआई-ड्रिभन मागमा भएको उच्च वृद्धिको कारण देखाउँदै उपभोक्ता मेमोरी व्यवसायबाट बाहिरिने घोषणा समेत गरिसकेको छ । सामसङ मेमोरी विभागका कार्यकारी उपाध्यक्ष जेजुन किमले मोबाइल र पीसी मेमोरीको आपूर्ति अभाव अझै चर्किने चेतावनी दिएका छन् ।
मेमोरी र स्टोरेज चिपको विश्वव्यापी अभावले गर्दा पीसी उद्योगमा मूल्य वृद्धि भइसकेको छ । जसले डेल, लेनोभो र एचपी जस्ता ब्रान्डलाई समेत असर गरेको छ । डेलले आफ्ना व्यावसायिक उत्पादन लाइनअप (corporate clients) मा डिसेम्बर १७ देखि लागु हुने गरी मूल्य बढाइसकेको छ ।
मेमोरी युनिटको अभावका कारण यो मूल्य वृद्धि १० प्रतिशतदेखि ३० प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ । यस हिसाबले ३२ जीबी र्याम भएको डेल प्रो र प्रो म्याक्स नोटबुक र डेस्कटपमा १३० देखि २३० अमेरिकी डलरसम्म वृद्धि हुनेछ ।
त्यस्तै १२८ जीबी भेरियन्टमा ५२० देखि ७६५ अमेरिकी डलरसम्म बढ्न सक्छ ।ल्यापटपमा १ टीबी स्टोरेज (NAND) थप्दा कुल लागतमा ५५ देखि १३५ डलरसम्म वृद्धि हुन सक्छ ।
यो मूल्य वृद्धिले एआई ल्यापटपहरू र मनिटरहरूलाई पनि असर गर्नेछ । उदाहरणका लागि डेल प्रो ५५ प्लस फोरके मनिटरको मूल्यमा १५० डलरसम्मको वृद्धि हुनेछ ।
डेलका सीओओ जेफ क्लार्कले डीआरएएङ्ग चिपको मूल्य परिवर्तनको दर अस्वाभाविक रहेको र माग आपूर्तिभन्दा धेरै रहेको बताएका छन् । लेनोभोले पनि नयाँ वर्षको सुरुदेखि नै मूल्य बढाउने घोषणा गरेको छ । अन्य पीसी विक्रेताहरूले पनि यही रणनीति अपनाउने अपेक्षा गरिएको छ ।
मेमोरी चिप, विशेषगरी डीआरएएमको मूल्य २०२५ को अन्तिम त्रैमासमा ३० प्रतिशतले बढ्ने र अर्को वर्षको सुरुमा थप २० प्रतिशतले उकालो लाग्न सक्ने अनुमान गरिएको छ । इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी) का अनुसार स्मार्टफोनको मूल्य २०२६ को सुरुवातमै बढ्न सक्छ । यसको सबैभन्दा ठूलो असर सस्ता एन्ड्रोइड फोनहरूमा पर्नेछ । किनकि कम मूल्यका उत्पादनमा नाफाको मार्जिन एकदमै कम हुन्छ । सस्तो एन्ड्रोइड फोनको मूल्य नबढाउनु कम्पनीका लागि लगभग असम्भव हुने अनुसन्धान निर्देशक नबिला पोपालले सीएनएनसँगको कुराकानीमा बताएकी छिन् ।
२०२५ मा ४५७ अमेरिकी डलर रहेको स्मार्टफोनको औसत बिक्री मूल्य बढेर २०२६ मा ४६५ पुग्ने अनुमान छ । मेमोरी अभावका कारण २०२६ मा स्मार्टफोन बजार ०.९ प्रतिशतले घट्ने अनुमान आईडीसीले गरेको छ ।
लामो समयदेखिको र्याम आपूर्ति सम्झौताका कारण यो सङ्कटबाट जोगिएको एप्पलको पनि डीआरएएम (DRAM) चिप सम्झौता जनवरी २०२६ मा समाप्त हुँदैछ । त्यसपछि कम्पनीले सामसङ र एसके हाइनिक्ससँग उच्च मूल्यमा सम्झौता गर्नुपर्ने हुनसक्छ ।
What I find hard to understand is that the sell-side and the market are significantly overestimating Apple's supply chain management capabilities.
— Jukan ✈️Semicon Japan (@jukan05) December 13, 2025
In my view, Apple is also likely to take a significant hit from this memory price surge. The LTAs (Long-Term Agreements) that Apple…
फलस्वरूप नयाँ आउने आईफोन १८, नयाँ म्याकबुक एयर र म्याकबुक प्रो जस्ता डिभाइसहरूको मूल्य पनि २०२६ को पहिलो अर्धवार्षिक अवधिमा उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ । एप्पलले आन्तरिक चिपबाट हुने बचत र अर्बौँको नगद सञ्चितिका कारण यो लागत आफैँले धान्न सक्ने भए पनि त्यसो गर्दा शेयरधनीहरूलाई दिइने प्रतिफल घट्ने खतरा हुन्छ ।
नयाँ ल्यापटप तथा कम्प्युटर अहिले किन्ने कि पर्खिने ?
विश्लेषकहरूले उपभोक्ताहरूलाई ल्यापटप वा डेस्कटप खरिदमा ढिलाइ नगर्न सुझाव दिएका छन् । यदि तपाईँसँग खरिद गर्ने पैसा छ र यो अङ्ग्रेजी वर्ष सकिनु अघि किन्न सक्नुहुन्छ भने मूल्य बढ्नुअघि नै खरिद गर्नु उपयुक्त हुनसक्छ ।
ल्यापटप खरिद गर्दा सकेसम्म बढी मात्रामा प्रिइन्स्टल गरिएको र्याम (जस्तै ३२ जीबी वा ६४ जीबी) भएको मोडल किन्नु बुद्धिमानी हुन्छ । किनकि धेरै ल्यापटपमा र्याम पछि गएर अपग्रेड गर्न मिल्दैन र पछि अपग्रेड गर्दा बढी शुल्क लाग्न सक्छ ।
यद्यपि आपूर्ति शृङ्खलाले आफूलाई समायोजन गर्दै जाँदा २०२६ को अन्त्यतिर अवस्था सामान्य बन्न सक्ने अनुमान गरिएको छ । जसले मूल्य वृद्धि रोक्न वा केही हदसम्म घटाउन मद्दत गर्न सक्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १९:१
