close

लिपमोटरको नयाँ विद्युतीय गाडी ‘बी१०’ नेपाल आउँदै, नाइमा अटो शोमा सार्वजनिक हुने

टेकपाना टेकपाना

साउन २, २०८२ १०:३७

लिपमोटरको नयाँ विद्युतीय गाडी ‘बी१०’ नेपाल आउँदै, नाइमा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ । विद्युतीय गाडी ‘लिपमोटर बी१०’ नेपाल भित्रिने भएको छ । साङ्ग्रिला मोटर्स प्रालिले उक्त कार चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ । यो गाडी आगामी २१-२५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा अटो शो’मा सार्वजनिक गरिनेछ ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले लिपमोटर गाडीको आधिकारिक आयातकर्ताको जिम्मेवारी सन् २०२४ देखि लिएको हो । यसअघि कम्पनीले सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन गाडीहरू आयात गर्दै आएको छ । 

साङ्ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले ‘लिपमोटर बी१०’ को आगमनले नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउने प्रतिबद्धतालाई थप बलियो बनाउने धारणा राखे । “हामी नाइमा अटो शोमा बी१० सार्वजनिक गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं,” उनले भने ।

यो गाडीको मूल्य ६० लाख रुपैयाँभन्दा कम हुने अनुमान छ ।

चिनियाँ बजारमा लिपमोटर बी१० दुई ब्याट्री र मोटर विकल्पमा सार्वजनिक भएको थियो । यसमा रहेको ५६.२ किलोवाट आवर ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ५१० किलोमिटरको रेन्ज दिनेछ भने ६७.१ किलोवाट आवरको ठुलो ब्याट्री प्याकले ६०० किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । नेपाली बजारमा दुवै ब्याट्री प्याक मोडेल उपलब्ध हुने कुरा भने स्पष्ट भइसकेको छैन ।

पर्फर्मेन्सको हिसाबले यसको मोटरले १७६ देखि २१६ बीएचपीसम्म पावर र १७५ देखि २२० एनएमसम्म टर्क उत्पादन गर्छ । फास्ट चार्जिङ सपोर्ट गर्ने यो गाडी केवल २० मिनेटमा ३०% बाट ८०% सम्म चार्ज हुने कम्पनीले उल्लेख गरेको छ ।

ग्राभिटी फिल्ड डिजाइनमा आधारित बी१० मा भविष्यमुखी र आकर्षक एयरोडाइनामिक बनावट रहेको छ । यसमा १४.६ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र प्रिमियम टु-स्पोक स्टेयरिङ ह्वील जस्ता विशेषता छन् ।

सुरक्षाका लागि बी१० ले ‘ANCAP’ बाट फाइभ-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसमा ६ ओटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६०-डिग्री क्यामेरा र वैकल्पिक लाइडार सेन्सर जस्ता सुरक्षा प्रणालीहरू जडान गरिएका छन् । यसका साथै, १.८ वर्ग मिटरको पानोरमिक सनरुफ, हिटेड र भेन्टिलेटेड सिट, १५ वाटको वायरलेस चार्जिङ र १२-स्पिकर प्रिमियम अडियो सिस्टम रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:२१