close

ओपनएआईको ‘स्टारगेट’ प्रोजेक्टका लागि सामसङ र एसके हेनिक्सको अत्याधुनिक चिप उपलब्ध गराउने

टेकपाना टेकपाना

असोज १६, २०८२ २३:७

ओपनएआईको ‘स्टारगेट’ प्रोजेक्टका लागि सामसङ र एसके हेनिक्सको अत्याधुनिक चिप उपलब्ध गराउने

काठमाडौँ । ओपनएआईले आफ्नो हालसम्मकै महत्त्वाकांक्षी योजना ‘स्टारगेट’ का लागि दक्षिण कोरियाका दुई प्रमुख चिप निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्स र एसके हेनिक्ससँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यी कम्पनीहरूले ओपनएआईलाई अत्याधुनिक मेमोरी चिप्स उपलब्ध गराउने भएका छन् ।

यस सहकार्यले ओपनएआईलाई एआई प्रविधिको बढ्दो माग पूरा गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतापछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले दक्षिण कोरियाका राष्ट्रपति ली जेइ मायुङ र सामसङ तथा एसके हेनिक्सका शीर्ष पदाधिकारीसँग भेटघाट गरेका थिए ।

सम्झौता अनुसार ओपनएआईले दक्षिण कोरियामा दुई ओटा डेटा सेन्टर स्थापना गर्नेछ । जसमा सामसङ र एसके हेनिक्स संयुक्त लगानीकर्ता (जोइन्ट भेन्चर पार्टनर) का रूपमा रहनेछन् । यी डेटा सेन्टरहरूलाई ‘स्टारगेट कोरिया’ नाम दिइनेछ ।

यो परियोजनाले दक्षिण कोरियालाई एसियाली क्षेत्रमा एआई प्रविधिको प्रमुख केन्द्र बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालयका प्रमुख सल्लाहकार किम योङ बियोमका अनुसार ओपनएआईले सन् २०२९ सम्मका लागि ९ लाख सेमिकन्डक्टर वाफर्स अर्डर गरेको छ । प्रारम्भिक चरणमा भने सामसङ र एसके हेनिक्ससँगको संयुक्त लगानीमा २० मेगावाट क्षमताका डेटा सेन्टरहरूको निर्माण सुरु हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८२ २३:९