भारतमा १ वर्षसम्म च्याटजीपीटी गो निःशुल्क उपलब्ध गराउने ओपनएआईको घोषणा
कात्तिक ११, २०८२ २२:२४
काठमाडौँ । एआई कम्पनी ओपनएआईले भारतमा च्याटजीपीटी गो (ChatGPT Go) सदस्यता योजना एक वर्षका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । ४ नोभेम्बरदेखि साइनअप गर्ने कुनै पनि भारतीय प्रयोगकर्ताले यो सुविधा पाउने कम्पनीले जनाएको छ ।
एआई क्षेत्रमा भारतसँगको संलग्नता अझ गहिरो बनाउने उद्देश्यका साथ ओपनएआईले ४ नोभेम्बरमा भारतमा हुने ‘डेभ डे एक्सचेन्ज’ कार्यक्रमको अवसर पारी यस्तो योजना सारेको हो । भारत हाल च्याटजीपीटीका सबैभन्दा ठुला बजारमध्ये एक हो ।
प्रति महिना ५ डलरभन्दा कम मूल्यको च्याटजीपीटी गोलाई ओपनएआईले आफ्नो सबैभन्दा सस्तो सशुल्क सदस्यता योजनाको रूपमा गत अगस्टमा भारतमा सुरु गरेको थियो । त्यसपछि यो सेवा एसियाका थप १६ देशहरूमा विस्तार भयो ।
एक अर्बभन्दा बढी इन्टरनेट ग्राहक र ७० करोडभन्दा बढी स्मार्टफोन प्रयोगकर्ता भएको भारत एआई कम्पनीका लागि मुख्य बजार बन्दै गएको छ । यही परिप्रेक्ष्यमा ओपनएआईले आफ्नो उपस्थिति विस्तार गर्न गत अगस्टमा नयाँ दिल्लीमा कार्यालय खोलेको थियो भने हाल स्थानीय टोली निर्माण गरिरहेको छ ।
यद्यपि, भारतमा च्याटजीपीटीका सशुल्क योजनाहरूबाट आम्दानी गर्न चुनौतीपूर्ण देखिएको छ । एपफिगर्सको तथ्याङ्क अनुसार अगस्टसम्मको ९० दिनमा यो एप दुई करोड ९० लाखभन्दा बढी डाउनलोड भए पनि कम्पनीले इन-एप पर्चेजहरूबाट जम्मा ३६ लाख डलर आम्दानी गरेको थियो ।
च्याटजीपीटी गोमा के छ खास ?
एआई मोडेल जीपीटी–५ मा आधारित च्याटजीपीटी गो योजनाले निःशुल्क संस्करणको तुलनामा १० गुणा बढी प्रयोगको सुविधा दिने कम्पनीको भनाइ छ । जसमा रेस्पोन्सहरू जेनेरेट गर्ने, तस्बिरहरू बनाउने, फाइलहरू अपलोड गर्ने सुविधा लगायत समावेश छन् । यसमा थप पर्सनलाइज्ड रेस्पोन्सहरूका लागि सुधारिएको मेमोरी पनि छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ २२:२४
