एप्पलले सार्वजनिक गर्यो आईफोन राख्ने थैली, काटिएको मोजा जस्तो देखिने पकेटको मूल्य ३२ हजार
कात्तिक २८, २०८२ १०:०
काठमाडौँ । प्रविधि कम्पनी एप्पलले आईफोन राख्ने थैली सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार ‘आईफोन पकेट’ नाम दिइएको नयाँ क्यारिङ केस (हाते थैली) सार्वजनिक गरेको हो ।
यसको मूल्य २३० अमेरिकी डलर (करिब साढे ३२ हजार रुपैयाँ) तोकिएको छ । आज (शुक्रबार) देखि यो केस अमेरिकासहित फ्रान्स, चीन, इटाली, जापान, सिङ्गापुर, दक्षिण कोरिया र बेलायतमा उपलब्ध भएको छ । यही थैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा एप्पलको चर्को आलोचना भइरहेको छ ।
मोबाइल बोक्ने सामान्य थैलीको यति महँगो मूल्य देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । धेरै प्रयोगकर्ताले यसको अस्वाभाविक मूल्यलाई लिएर आलोचना गरेका छन् भने कतिपयले यसको डिजाइनलाई सामान्य बुनेको मोजा जस्तै भएको भन्दै मजाक उडाएका छन् ।
एक्समा एक प्रयोगकर्ताले लेखेका छन्, “काटिएको मोजाको लागि २३० डलर ?” यसैबिच चर्चित टेक युट्युबर मार्कस ब्राउनलीले यसलाई एप्पलका फ्यानका लागि ‘लिटमस टेस्ट’ को संज्ञा दिएका छन् । उनले भने, “यो उत्पादनले एप्पलले जे निकाले पनि किन्ने वा त्यसको बचाउ गर्ने फ्यानको वफादारीको परीक्षा लिनेछ ।”
एक प्रेस विज्ञप्ति जारी गर्दै एप्पलले यो आकर्षक रङ्गीन थैली जापानी फेसन लेबल ‘इसे मियाके’ (Issey Miyake) सँगको सहकार्यमा सीमित संस्करणका रूपमा तयार पारिएको जनाएको छ । यही कम्पनीका स्वर्गीय फेसन डिजाइनरले एप्पलका सह-संस्थापक स्टिभ जब्सले लगाउने प्रसिद्ध कालो टर्टलनेक जम्पर डिजाइन गरेका थिए ।
एप्पलका अनुसार यो उत्पादन ‘कपडाको एउटा टुक्रा’ बाट प्रेरित छ र यसको अवधारणा ‘एउटा अतिरिक्त पकेट बनाउने सोच’बाट आएको हो । छोटो फित्ता भएको यो थैली आठ ओटा कलर भेरियन्टमा उपलब्ध छ । साथै फिताको सन्दर्भमा यो तीन ओटा भेरियन्टमा उपलब्ध छ ।
यो घोषणासँगै सामाजिक सञ्जालमा धेरैले ‘एप्पलका फ्यानले जेसुकैको लागि पनि पैसा तिर्छन्’ भन्दै आलोचना गरेका छन् । थैलीको खुला मुख र मोजा जस्तो बनावटलाई लिएर पनि प्रश्न उठेको छ । एक्सका एक प्रयोगकर्ताले भने, “न जिपर, न कुनै बलियो बनावट र आजकल आईफोन चोरीका घटना बढिरहेका बेला यसमा सुरक्षा खोइ ?”
केहीले त हलिउड अभिनेता साशा ब्यारोन कोहेनको चर्चित पात्र ‘बोराट’ ले लगाउने हरियो म्यानकिनीसँग तुलना गर्दै व्यङ्ग्यात्मक तस्बिर पनि पोस्ट गरेका छन् । तर, केहीले भने यसको बचाउ पनि गरेका छन् । उनीहरूका अनुसार ‘इसे मियाके’ जस्तो ठुलो फेसन ब्रान्डसँगको सहकार्यका कारण यसको मूल्य बढी भएको हो ।
उनीहरूले यसलाई ‘एप्पलको इतिहासप्रतिको सम्मान’ को रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल विश्लेषक म्याट नभाराले बीबीसीलाई बताए अनुसार यसको मूल्य उपयोगिताभन्दा पनि ‘बनावट, ब्रान्डिङ र विशिष्टता’ मा केन्द्रित देखिन्छ ।
उनले भने, “लक्जरी फेसन र डिजाइनर सहकार्यको दुनियाँमा यस्तो मूल्य नौलो होइन । तर अधिकांश उपभोक्ताका लागि यो एप्पलले आफ्नो ब्रान्डप्रतिको वफादारीको सीमा परीक्षण गरिरहेको जस्तो देखिन्छ ।”
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १२:५
