एनभिडिया चिप आधारित पहिलो विन्डोज कम्प्युटर सार्वजनिक हुँदै, क्वालकम, इन्टेल र एएमडीलाई कडा चुनौती
जेठ १७, २०८३ १२:१७
काठमाडौँ । एनभिडियाको आर्म-आधारित (Arm-based) चिपमा आधारित पहिलो विन्डोज कम्प्युटर सार्वजनिक हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माणमा कम्पनी एनभिडिया र माइक्रोसफ्टको संयुक्त पहलमा नयाँ कम्प्युटर ल्याउन लागिएको हो ।
हालै माइक्रोसफ्ट, एनभिडिया र चिप डिजाइन कम्पनी आर्मले ताइवानको ताइपेईको कोअर्डिनेट्स उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा 'पीसीको नयाँ युग' (A new era of PC) को नाममा यसको सङ्केत दिएका छन् ।यी नयाँ प्रविधिका कम्प्युटरहरू आगामी साता ताइवानमा आयोजना हुने कम्प्युटेक्स ट्रेड शो र सान फ्रान्सिस्कोमा हुने माइक्रोसफ्टको बिल्ड डेभलपर कन्फ्रेन्समा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
एनभिडियाका सीईओ जेन्सन ह्वाङले आइतबार कम्प्युटेक्समा सम्बोधन गर्दै एन-१ र एन-१-एक्स नामक आफ्ना नयाँ ल्यापटप प्रोसेसरहरूको औपचारिक घोषणा गर्ने चर्चा छ । विभिन्न मिडिया रिपोर्टहरूका अनुसार यी नयाँ चिपहरू माइक्रोसफ्टको आफ्नै सर्फेस सिरिजका साथै डेल, लेनोभो र एसुस जस्ता अन्य प्रमुख कम्प्युटर निर्माता कम्पनीका डिभाइसहरूमा प्रयोग हुनेछन् ।
एनभिडियाको यो कदमसँगै विन्डोज ११ आर्म (Windows 11 Arm) अपरेटिङ सिस्टममा रहेको क्वालकमको एकाधिकार समाप्त हुनेछ । यसले बजारमा ल्यापटप कम्पनीहरूबिच प्रतिस्पर्धालाई अझ तीव्र बनाउनेछ भने एप्पलका म्याकबुकका साथै इन्टेल र एएमडी जस्ता परम्परागत चिप निर्माताहरूलाई कडा चुनौती दिनेछ ।
हार्डवेयरका साथै माइक्रोसफ्टले एआई एजेन्टहरूलाई क्लाउडको भर पर्नुको सट्टा कम्प्युटरमै (लोकल रूपमा) काम गर्न सक्षम बनाउने नयाँ सफ्टवेयर पनि ल्याउने तयारी गरेको छ । यसअघि माइक्रोसफ्टको एआई पीसी अभियानअन्तर्गतको कोपाइलट प्लस पीसी सुरक्षा सम्बन्धी चिन्ता र सार्वजनिक हुन भएको ढिलाइका कारण केही आलोचित बनेको थियो ।
तर एआई प्रविधिमा विश्वमै सबैभन्दा लोकप्रिय मानिएको चिप निर्माता एनभिडियाको प्रवेशले विन्डोजलाई एआईको भरपुर सदुपयोग गर्ने दिशामा नयाँ र शक्तिशाली अवसर दिएको विश्लेषकहरूको बुझाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १२:१८
