close

ओपनएआईले ल्याउने पहिलो ग्याजेट आईफोन जत्तिकै क्रान्तिकारी तर ‘शान्त’ हुन्छः अल्टम्यान

टेकपाना टेकपाना

मंसिर १०, २०८२ १६:३२

ओपनएआईले ल्याउने पहिलो ग्याजेट आईफोन जत्तिकै क्रान्तिकारी तर ‘शान्त’ हुन्छः अल्टम्यान

काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो नयाँ एआई डिभाइस आईफोन जत्तिकै क्रान्तिकारी हुने दाबी गरेका छन् । हालै सान फ्रान्सिस्कोमा आयोजित इमर्सन कलेक्टिभको नवौं वार्षिक डेमो डे कार्यक्रममा बोल्दै अल्टम्यानले आफ्नो बहुप्रतिक्षित एआई डिभाइसको भिजन चर्चा गरेका हुन् । 

एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभसँग मिलेर संयुक्त रूपमा निर्माण गर्न लागिएको उक्त डिभाइसले आईफोनको तुलनामा प्रयोगकर्तालाई बढी ‘शान्त अनुभव’ दिने गर्ने अल्टम्यानको दाबी छ । अल्टम्यानले एप्पलको आईफोनलाई ‘उपभोक्ता उत्पादनको अहिलेसम्मकै महान् उपलब्धि’ को संज्ञा दिए पनि आधुनिक प्रविधिले मानिसको ध्यान भड्काइरहेको भन्दै आलोचना गरे । उनले अहिलेका डिभाइस वा एप चलाउनुलाई न्युयोर्कको ‘टाइम्स स्क्वायर’ मा हिँड्दा हुने कोलाहल, फ्ल्याश लाइट र सानातिना अवरोधसँग जुध्नुजस्तै भएको तर्क गरे ।

उनका अनुसार चम्किला नोटिफिकेसन र डोपामाइन बढाउने सामाजिक सञ्जालका एपले मानिसलाई आफ्नो काममा केन्द्रित हुन दिँदैनन् । यसको ठिक विपरीत उनको नयाँ एआई डिभाइसले ‘पहाडको छेउमा रहेको सुन्दर तालको किनारमा बस्दा हुने शान्त अनुभव’ प्रदान गर्ने अल्टम्यानको दाबी छ । बाहिरिएका विभिन्न जानकारी अनुसार यो डिभाइसले अनावश्यक अवरोधलाई हटाएर प्रयोगकर्ताको आवश्यकता अनुसार सही समयमा मात्र सूचना दिनेछ । 

उक्त कार्यक्रममा बोल्दै डिजाइनर जोनी आइभले यो एआई डिभाइस आगामी दुई वर्षभित्र उपलब्ध हुन सक्ने पुष्टि गरे । आइभले आफूलाई हेर्दा सामान्य लाग्ने, तर प्रयोग गर्न सजिलो र शक्तिशाली उपकरण मन पर्ने बताए । उनले यो डिभाइसले प्रयोगकर्तालाई तर्साउने नभई एउटा उपयोगी टुलको महसुस गराउने धारणा राखे ।

यद्यपि यो प्रोटोटाइपबारे धेरै जानकारी गोप्य राखिएको छ । तर प्रविधि बजारमा यो डिभाइस खल्तीमा अट्ने आकारको र स्क्रिनलेस हुने चर्चा छ । प्रयोगकर्ताले लामो समयसम्म एआईलाई विश्वास गरेर आफ्ना काम सुम्पन सक्नेगरी यसको डिजाइन भइरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १६:३५