close

भारतको सञ्चार साथी एप हटाउनै नमिल्ने गरी प्रि-इन्स्टल गर्नुपर्ने निर्देशन एप्पलले नमान्ने

टेकपाना टेकपाना

मंसिर १७, २०८२ १२:६

भारतको सञ्चार साथी एप हटाउनै नमिल्ने गरी प्रि-इन्स्टल गर्नुपर्ने निर्देशन एप्पलले नमान्ने

काठमाडौँ । एप्पलले आफ्ना आईफोनमा भारत सरकारको ‘सञ्चार साथी’ नामक साइबर सुरक्षा एप पहिले नै इन्स्टल (प्रि-लोड) गरेर पठाउनुपर्ने निर्देशन नमान्ने भएको छ । रोयटर्सले मङ्गलबार एक रिपोर्ट प्रकाशित गर्दै यस्तो खुलासा गरेको हो । 

गोपनीयता र सुरक्षा सम्बन्धी चिन्ताका कारण एप्पलले यस्तो अनुरोध पालना गर्न नसकिने जानकारी भारत सरकारलाई दिने योजना बनाएको कुरा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । यद्यपि एप्पलले यस विषयमा अदालत जाने वा सार्वजनिक रूपमा कडा विरोध भने नजनाउने बताइएको छ । 

हाल भारतीय स्मार्टफोन बजारमा एप्पलको हिस्सा ९ प्रतिशत रहेको छ भने भिभो, ओप्पो र सामसङ जस्ता अन्य कम्पनीलाई पनि यो एप अनिवार्य गर्न निर्देशन दिइएको थियो । ‘सञ्चार साथी’ एप खासगरी हराएका वा चोरी भएका फोन आईएमईआई मार्फत ट्र्याक गर्न र ब्लक गर्नका लागि बनाइएको दाबी गरिएको छ । 

गत २८ नोभेम्बरमा मोबाइल निर्मातालाई दिइएको गोप्य निर्देशन अनुसार यो एप नयाँ फोनमा अनिवार्य हुनुपर्ने, पुराना फोनमा सफ्टवेयर अपडेटमार्फत पठाउनुपर्ने र प्रयोगकर्ताले यसलाई हटाउन वा बन्द गर्न नमिल्ने बनाउनुपर्ने उल्लेख छ । एप हटाउन नमिल्ने प्रावधानका कारण यसको दुरुपयोग भई सरकारले नागरिकमाथि निगरानी राख्न सक्ने आशंका उब्जिएको छ । यसैलाई आधार मान्दै गोपनीयता पक्षधर भारतीय नागरिकले सरकारको चर्को आलोचना गरिरहेका छन् । 

यसैबिच भारतका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले मङ्गलबार प्रतिक्रिया दिँदै यो एप पूर्ण रूपमा वैकल्पिक रहेको र प्रयोगकर्ताले चाहेमा यसलाई हटाउन सक्ने बताए । तर, मन्त्रीको यो भनाइ सरकारले कम्पनीलाई पठाएको ‘एप हटाउन नमिल्ने बनाउनुपर्ने’ लिखित निर्देशनसँग सोझै बाझिएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १२:७