चीनबाट भोलि अन्तरिक्षमा प्रक्षेपण गरिँदै चेपाङ बालबालिकाको सहभागितामा बनेको नेपाली स्याटलाइट
मंसिर २३, २०८२ १४:९
काठमाडौँ । अन्तरिक्ष प्रतिष्ठान नेपालले बनाएको स्याटलाइट ‘स्लिपर्स टु स्याट’ भोलि बुधबार अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ । नेपाली समय अनुसार भोलि बुधबार बिहान ८ः४५ बजेपछि यो स्याटेलाइट लञ्ज गरिने स्लिपर्स टु स्याटका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले टेकपानालाई जानकारी दिए ।
लञ्जको चाँजोपाँजो मिलाउन अधिकारीसहित चार जना गत असोजमा चीनको राजधानी बेइजिङ गएका थिए । त्यहाँ यसको गुणस्तर जाँच गरेर अन्तरिक्ष, रकेट र स्याटलाइटबिचको वातावरण मिलाउने काम गरिएको उनले बताए ।
अस्ति आइतबार चिनियाँ रकेट काइनेटिका वन ( Kinetica one) मा स्लिपर्स टु स्याट स्याटलाइट इन्टिग्रेट भइसकेको छ । भोलि बुधबार बिहान ११ बजेसम्ममा यो स्याटलाइट लञ्ज भइसक्ने अधिकारीले बताए ।
सामान्यतया ट्युब ढाँचाको स्याटलाइट डेढ किलोग्राम भन्दा धेरै हुन पाउँदैन । त्यसैले स्लिपर्स टु स्याटको तौल १ किलो २० ग्राम छ । यो स्याटलाइटमा २ वटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालका वनस्पति र पानीको विवरण दिनेछ ।
त्यस्तै, भूकम्पको पूर्व सूचना अध्ययन गर्ने प्रविधि पनि यसमा रहेको छ । भूकम्प जानुअघिका सूक्ष्म तरङ्गलाई नाप्ने र जानकारी दिने प्रविधि स्याटलाइटमा रहेको प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले जानकारी दिए । त्यस्तै विद्युतीय चुम्बक पनि यसमा राखिएको छ । पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ ।
स्लिपर्स टु स्याट ५ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको थियो । तर ११/११ वर्षमा सूर्यको किरण कम चहकिलो र धेरै चहकिलो हुने चक्र चल्ने गर्छ । यस पटक सूर्यको किरण धेरै चहकिलो हुने चक्र चल्ने भएकाले स्याटलाइटमा चाँडै असर पुग्ने अनुमान छ । त्यसैले कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान छ ।
एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले यो परियोजनामा सहयोग गरेको थियो । यो परियोजनामा चितवनका चेपाङ बालबालिकालाई पनि सहभागी गराइएको थियो । यो स्याटलाइटबाट प्रवाह हुने डेटा संसारभर एमेचोर रेडियो फ्रिक्वेन्सीको लाइसेन्स पाएका सबैले प्राप्त गर्न र उपयोग गर्न पाउनेछन् ।



पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ १४:२९
