काठमाडौं । रुसको वाग्नर समूहसँग सम्बद्ध भएको दाबी गर्ने ह्याकरहरूले रुसी स्याटलाइट इन्टरनेट सेवाप्रदायकको डेटा चोरी गरेको र सेवा नै अफलाइन बनाइदिएको बताएका छन् । बिहीबार बिहानदेखि रुसी स्याटलाइट सञ्चार प्रदायक डोजोर-टेलिपोर्टको सेवा अवरुद्ध भएसँगै रहस्यमयी यो समूहले एउटा टेलिग्राम च्यानलमार्फत यस्तो बताएको हो ।
"रुसको एफएसबी (फेडेरल सेक्युरिटी सर्भिस), ग्याजपर्म, रोस्टम र सैन्य संस्थालाई स्याटलाइट इन्टनरेट प्रदान गर्ने डोजोर-टलिपोर्ट अवरुद्ध भएको तथ्याङ्कले सुनिश्चित गरेको छ," इन्टरनेट ट्राफिक मनिटर नेटब्लक्सले भनेको छ ।
त्यस बाहेक केन्टिक र इन्टरनेट आउटेज अलर्टले समेत डोजोर-टेलिपोर्ट अफलाइन रहेको बताएका छन् । टेलिग्राम मेसेजमा उक्त ह्याकर समूहले दाबी गर्दै भनेको छ, "डोजोर-टेिपोर्टको स्याटलाइट टर्मिनलको भाग असफल भएको छ र उक्त कम्पनीको सर्भरबाट सूचना सबै मेटाइएको छ ।"
त्यसको प्रमाणको रूपमा ह्याकर समूहले डोजर-टेलिपोर्टका आन्तरिक कागजात पोस्ट गरेको छ, जसबाट उनीहरूले कम्पनीको नेटवर्क सफलतापूर्वक कम्प्रोमाइज गरेको जस्तो देखिन्छ ।
ह्याकर समूले रुसी वेबसाइटहरू बिगारेर त्यसमा "वाग्नर को हुन् ? सबैले उनीहरूलाई २४ जुनमा देखेका थिए," शीर्षकमा सन्देश लेखिएको समेत उल्लेख गरेको छ ।
"सारा विश्वले हाम्रो एक्सन हेरेका छन्, हाम्रा प्रत्येक शब्द सुनेका छन् । हामी कति सजिलै मस्को पुग्न सक्छौं भन्ने कुरा देखाइदिएका छौं," उक्त मेसेजमा भनिएको छ । वाग्नर त्यही भाडाको सैन्य समूह हो, जसले युक्रेन युद्धमा रुसलाई सघाएको थियो । केही दिन अघि भने उल्टै रुसी सेनासँग जाइलाग्ने हिसाबले उक्त समूह मस्कोतर्फ अघि बढेको थियो ।