काठमाडौँ । प्रविधिको दिग्गज कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट बाहिरिने मनस्थितिमा छन् । नोभेम्बर २०२५ मा ६५ वर्ष लागेका कुक कार्यकारी भूमिकाबाट बिदा लिँदै शान्त जीवनशैली बिताउने मुडमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
स्टिभ जब्सको भूमिकालाई सफलतापूर्वक सम्हाल्दै आएका कुक एप्पल मुख्यालय सिलिकन भ्यालीमा सबैभन्दा धेरै काम गर्ने सीईओ मध्ये पर्छन् । यसैबिच उनी कम्पनी छोड्ने योजनामा अघि बढिसकेका छन् । कुकले आफूलाई विस्थापित गर्ने केही व्यक्तिको सूची समेत तयार पारिसकेका छन् । न्युयोर्क टाइम्सका अनुसार टिम कुक गत वर्षदेखि नै एप्पल छोड्ने मनस्थितिमा पुगिसकेका थिए ।
“नाम नखुलाइएका तीन जना कम्पनी निकट स्रोतका अनुसार कुक एप्पलका शीर्ष सहकर्मीहरूलाई आफूलाई दिइएको जिम्मेवारी छोड्न चाहन्छन् । कुक जिम्मेवारीका कारण थाकिसकेका छन् । त्यसैको विकल्प स्वरूप आफूमाथिको जिम्मेवारी घटाउने उनको चाहना छ । सीईओबाट राजीनामा दिए पश्चात् उनी एप्पलको सञ्चालक समिति अध्यक्षको रूपमा काम गर्नेछन्,” न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।
कुक आफूपछि कसलाई सीईओ बनाउने भन्नेमा आन्तरिक तयारीमा जुटिसकेका छन् । त्यसका लागि केही आन्तरिक उम्मेदवारको सूची उनले तयार गरिसकेको बुझिएको छ । एप्पलले कम्पनीभन्दा बाहिरका व्यक्तिलाई सीईओ बनाउने सम्भावना ज्यादै कम छ ।
एप्पलका वरिष्ठ उपाध्यक्ष (सफ्टवेयर इन्जिनियरिङ) क्रेग फेडरिघि, वरिष्ठ उपाध्यक्ष (सर्भिसेस) एड्डि क्यू, वरिष्ठ उपाध्यक्ष (वर्ल्डवाइड मार्केटिङ) ग्रेग जोसवेक र वरिष्ठ उपाध्यक्ष (रिटेल एण्ड पिपल) डेइड्रे ओब्रेन एप्पलको सम्भावित सीईओ सूचीमा छन् ।
तर, समाचार अनुसार सीईओ बन्ने प्रबल दाबेदारका रूपमा जोन टेर्नस छन् । उनी एप्पलको हार्डवेयर इन्जिनियरिङ तर्फका वरिष्ठ उपाध्यक्ष हुन् । उनी सन् २००१ मा प्रोडक्ट डिजाइन टिमका रूपमा कम्पनी प्रवेश गरेका थिए । सन् २०१३ मा मात्रै उनी हार्डवेयर इन्जिनियरिङ तर्फका वरिष्ठ उपाध्यक्ष बनेका थिए । उनी पछिल्लो दशकमा एप्पलले उत्पादन गरेका आईफोन, आईप्याड र एयरपड्सको निर्माणमा सक्रिय छन् ।
न्युयोर्क टाइम्सका अनुसार जोनकै रणनीति अनुसार एप्पलले आईफोन प्रो मोडेललाई थप फिचरयुक्त र अरू मोडेलभन्दा महँगो बनाएको थियो । सन् २०१९ मा आएको आईफोन ११ सिरिजदेखि यो रणनीति एप्पलले कार्यान्वयनमा ल्याएको थियो । एप्पलको भावी सीईओ बारेको निर्णय कम्पनी सञ्चालक समितिले लिने तयारी गरेको छ । जहाँ कुक पनि सदस्य छन् ।
पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १४:५५
