काँग्रेसको वेबसाइट र फेसबुकको एक्सेस देउवा पक्षसँग, एक्स गगनसँग अनि इन्स्टाग्राम निष्क्रिय
माघ १, २०८२ १३:४२
काठमाडौँ । बुधबार देशकै सबैभन्दा ठुलो दल नेपाली काँग्रेस औपचारिक रूपमा विभाजन भएपछि दुवै पक्षले आफूलाई आधिकारिक भएको दाबी गरिरहेका छन् । यसको असर पार्टीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा समेत देखा परेको छ ।
पछिल्ला केही दिनको अपडेटका आधारमा पार्टीको वेबसाइट र फेसबुक अकाउन्टको एक्सेस देउवा नेतृत्वको काँग्रेससँग रहेको देखिन्छ । वेबसाइटबाट तत्कालीन महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नाम मेटाइएको छ ।
त्यस्तै पार्टीको भेरिफाइड फेसबुक पेजमा बुधबार विशेष महाधिवेशन पक्षधर गगन थापा लगायतका तीन नेतालाई कारबाही गरिएको विज्ञप्ति अपलोड गरिएको थियो । सोही अकाउन्टमा बिहीबार कार्यवाहक सभापति पूर्णवहादुर खड्काले जारी गरेको अर्को प्रेस विज्ञप्ति पनि अपलोड भएको छ ।
तर एक्समा भने तत्कालीन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको तर्फबाट गरिएको विशेष महाधिवेशन आह्वानसम्बन्धी वक्तव्य १ जनवरी २०२६ मा अपलोड भएको देखिन्छ । त्यस यता भने उक्त ह्यान्डलमा कुनै नयाँ अपडेट देखिँदैन ।
उता इन्स्टाग्राममा भने काँग्रेस निष्क्रिय छ । १२१ हप्तादेखि सो अकाउन्टमा कुनै पनि अपडेट देखिँदैन ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ १३:४२
