झन्डै बन्द भइसकेको ‘किताब किरो’, टिकटक बनाउन थालेपछि दैनिक ५० हजारमाथिको व्यापार
माघ ४, २०८२ १८:५
काठमाडौँ । फुर्सदमा जति बेला पनि किताब पढ्ने रुचि । यही रुचिका कारण मोरङका तारा निधि रेग्मीले १४ वर्ष पहिला ‘किताब किरो’ नामक पुस्तक पसल सञ्चालनमा ल्याए ।
कोभिड १९ को महामारी ताका भने उनी पुस्तक पसललाई लिएर निकै निराश थिए । दिनभर दुई तीन हजारको पनि पुस्तक व्यापार हुन छाडेपछि पुस्तक व्यवसाय नै छाड्नु पर्ने हो कि भन्ने कुराले तनाव दिन्थ्यो ।
पुस्तक नबिक्नुको मुख्य कारण भने उनलाई टिकटकजस्ता सामाजिक सञ्जाल नै हुन् जस्तो लाग्थ्यो । उनी सुनाउँछन् “मानिसहरू मोबाइलमा स्क्रोल गरेर दिन बिताइ दिन्छन् । मोबाइल धेरै चलाउँदा मानिसहरूले किताब पढ्न छाडे भन्ने लाग्थ्यो । घरमा बच्चाहरूले टिकटक चलाएको देखेँ भने पनि गाली गरिदिन्थेँ ।”
एक दिन उनले ‘शिक्षक मासिक’ पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई पुस्तक व्यवसाय नचलेको गुनासो पोखे । यसको मुख्य दोषी सामाजिक सञ्जाल भएको उनले तर्क गरेका थिए । सम्पादक दाहालले भने प्रविधिको विकासका सकारात्मक र नकारात्मक दुवै पक्ष हुने भन्दै उनलाई सम्झाए । उनले सम्पादक दाहालले आफूलाई बुझाएका कुरा सम्झँदै भने, “संसारमा कागजको प्रयोगको सुरुवात हुँदा दार्शनिक *प्लेटोले पनि यसको विरोध गरेका थिए । मानिसहरूले कागजमा लेख्न थालेपछि याद गर्न छाड्छन् भन्ने उनको सोचाइ थियो । तर कागजको प्रयोग त रोकिएन । अहिले प्रविधि पनि त्यस्तै हो । यसलाई मन नपराउने र प्रयोग नगर्ने होइन । जसले प्रयोग गर्दैन, त्यो मानिस पछि पर्न सक्छ भनेर उहाँले मलाई भन्नुभयो ।”

दाहालको उक्त भनाइले रेग्मीलाई टिकटक एक्स्प्लोर गर्न मन लाग्यो । प्ले स्टोरबाट डाउनलोड गरेर टिकटक अकाउन्ट बनाए । अनि टिकटकमा स्क्रोल गर्न थाले । आफ्नो सुरुवाति अनुभव सुनाउँदै उनले भने, “महिलाहरूको भिडिओ र नग्नताले भरिएका कन्टेन्टहरूको बाढी थियो । तर यस्तै मात्र कन्टेन्ट हेर्ने दर्शकहरूमात्र पक्कै छैनन् होला भन्ने लाग्यो । त्यसपछि मैले पढ्न मन पराउनेहरूले हेर्न रुचाउने भिडिओ किन नबनाउने भनेर कन्टेन्ट बनाउन सुरु गरेँ ।”

सन् २०२१ को सुरुवातबाट ‘Kitab Kiro’ नामबाट टिकटकमा भिडिओ बनाउन थालेका उनको अकाउन्टमा हाल ८७ हजार फलोअर्स छन् । उक्त अकाउन्टबाट सार्वजनिक भएका पोस्टमा कूल १८ लाखभन्दा धेरै लाइक छन् । यस्तै फेसबुकमा पनि ‘Kitab Kiro’ नामकै पेजमा ३६ हजार बढी फलोअर्स छन् । उनले विभिन्न लेखकका किताबको बारेमा जानकारी, किताबका विशेषता, किताब किन पढ्ने लगायतका जानकारी दिने भिडिओ बनाएका छन् ।
रेग्मीले सबैभन्दा पहिला टिकटक भिडिओमा देखिएर खबुज नामक उपन्यासको बारेमा जानकारी दिँदै भिडिओ बनाए । खाडी मुलुकमा रोजगारीमा जाने मानिसहरूको कथा समेटिएको यो किताबको भिडिओ हेरेर धेरैले अर्डर समेत गर्न थाले ।
तर किताबको बारेमा बताउँदा भन्दा पनि पढ्ने बानीका विषयमा बनेका कन्टेन्टहरू सामाजिक सञ्जालमा बढी रुचाउने गरेको उनको अनुभव छ । उनले भने, “पुस्तक पढ्ने मानिसहरूलाई कसरी चिन्न सकिन्छ भन्ने जानकारी सहितको दोस्रो भिडिओ बनाएँ । कोभिडको समयमा हाउ टु भन्ने खालको भिडिओ ट्रेन्डिङमा जाने समय थियो । यस्तै ट्रेन्डमा बनाउँदा मानिसहरूले रुचाउन थाले ।”
तेस्रो भिडिओ बनाउन थाल्दा एक हजार फलोअर्स कटिसकेको रेग्मी सुनाउँछन् । उनले भने, “हजार फलोअर्स कटेपछि त टिकटकमा पनि लाइभ बसेर भिडिओ बनाउन थालेँ । त्यहाँबाट अनलाइनमार्फत किताब अर्डर गर्ने क्रम पनि बढ्न थाल्यो ।”
भिडिओ बनाएपछि बदलिएको किताब व्यवसाय
आफ्नो नामका कारण भन्दा पनि पछिल्लो समय रेग्मी पुस्तक पसलको नामबाट नै परिचित छ । सामाजिक सञ्जालमा पनि ‘किताब किरो’ कै नामले परिचित भएका कारण यही नाम पहिचान बनेको सुनाउँदै उनले भने, “धेरै साथीहरूले त मेरो नाम पनि बिर्सिसक्नु भयो । भर्खरै पुस्तक व्यवसायी सङ्घको निर्वाचनमा पनि धेरै साथीहरूले भोट हाल्ने बेलामा मेरो नाम चिनिनँ भन्दै कल गर्नु भयो । मेरो वास्तविक नाम धेरैलाई थाहा नभएर नै सङ्घको पदाधिकारीको उम्मेदवारीमा हारेँ ।”

पहिले दुई तीन हजारको पुस्तक व्यापार गर्न मुस्किल पर्ने उनलाई अचेल व्यापार गर्न भ्याइ नभ्याइ छ । उनले भने, “अनलाइन अफलाइन गरेर एक दिनमा कम्तीमा पनि पचास हजारको किताब सजिलै बिक्री हुन्छ । पहिला किताब डिस्ट्रिब्युटर भएर बेच्ने किताबभन्दा अचेल पसलबाट एक दिनमा धेरै किताब बेचिरहेको हुन्छु ।”
हाल सामाजिक सञ्जालमार्फत नै सबैभन्दा धेरै किताबको अर्डर आउने गरेको उनको अनुभव छ । उनले भने, “हाम्रो वेबसाइटबाट पनि केही अर्डर आउँछन् । टिकटक र ह्वाट्सएपबाट सबैभन्दा धेरै अर्डर आउँछ ।”
दैनिक कयौँ ग्राहकहरू टिकटक भिडिओ हेरेर भौतिक पसल खोज्दै आउने गरेका छन् । काठमाडौँको सामाखुसीबाट टोखा जाने सडकमा रहेको उनको पसलमा आउने अधिकांश ग्राहकले ‘भिडिओमा देखेको थिएँ’ भन्दै पुस्तकका बारेमा कुराकानी गर्ने गरेको उनले सुनाए ।

अनलाइनबाट अर्डर आएपछि रिप्लाइ गर्ने र अर्डर प्लेसमेन्ट गर्न भ्याइ नभ्याइ हुने गरेको उनले बताए । रेग्मीले भने, “बिहान पसलमा बस्छु । दिउँसो घरबाट पसलमा सघाउन आउनु हुन्छ । मलाई अनलाइनबाट अर्डर लिन, रिप्लाइ गर्न र भिडिओ बनाउन भ्याइ नभ्याइ हुन्छ ।”
हाल किताब किरोले नेपालका सबै जिल्लामा किताब डेलिभरी गर्दै आएको छ । यस्तै हुलाक सेवामार्फत ३७ देशमा र अन्य कुरियरमार्फत गरेर ६५ बढी देशमा पुस्तक पुर्याउँदै आएको छ । रेग्मीले भने, “नेपालका जुनसुकै ठाउँमा दुई दिनभित्र डेलिभरी हुन्छ । नेपाल बाहिर डेलिभरी गर्न १०/११ दिनको समय लाग्छ ।”
कन्टेन्ट बनाउन लागि अध्ययन
पुस्तक पसल सञ्चालन गर्नुभन्दा पहिले रेग्मीले शिक्षक मासिक पत्रिकाको मार्केटिङ टिममा रहेर काम गरे । विद्यार्थी जीवनमा खासै पाठ्यक्रमबाहिरका किताबमा रुचि नराख्ने उनको पत्रिकाको जागीरले अध्ययनमा बानी पर्यो । त्यसपछि उनी फुर्सदको समय किताबमा हराउन थाले ।
त्यसपछि विसं २०६८ मा उनले ‘किताब किरो’ नामक पुस्तक पसल सुरु गरे । २०७२ सालबाट भने मिडिया मार्केटिङको जागिर छाडेर उनी पूर्ण रूपमा पुस्तक व्यवसायी बने ।
पहिला अध्ययनमा रुचि भएका कारण पुस्तक पसल खोलेका रेग्मी अचेल कन्टेन्ट बनाउन पनि किताब पढ्छन् । उनले भने, “स्क्यानिङ र रिडिङ गरेर मैले दुई किसिमले अध्ययन गर्छु । मन परेका किताबहरू हरेक लाइनहरू मजाले पढ्छु । अरू किताबहरूको मूल विषयवस्तु बुझ्न सरसर्ती हेरेर राम्रा भनाइहरू टिप्छु । पछि त्यो किताबको बारेमा भिडिओ बनाउने बेलामा त्यही लाइनहरू प्रयोग गर्छु ।”

हाल आफ्नो पुस्तक पसलमा चार हजार बढी पुस्तक रहेको रेग्मीले सुनाए । ती सबै किताब कम्तीमा एक पटक सरसर्ती पढेको उनले बताए । उनले भने, “हरेक पटक नयाँ किताब पढ्दा सोच्ने तरिकामा पनि केही न केही नयाँपन आउँछ । यसले कन्टेन्ट राम्रो बनाउन पनि सघाउँछ ।”

किताब पसलकै कुनामा रेकर्डिङ
दैनिक जसो टिकटकमा भिडिओ बनाएर हाल्ने रेग्मीले भिडिओ बनाउन आफ्नै पुस्तक पसलको एक कुनालाई रोजेका छन् । उनले भिडिओ बनाउन स्क्रिप्ट, स्टुडियो वा फेन्सी क्यामेराको प्रयोग गरेका छैनन् ।
किताबको चाङमाथि मोबाइल राखेर सेल्फीबाट भिडिओ बनाउँछन् । पुस्तक पसलमा सघाउन कोही उपलब्ध भएमा उनीहरूलाई क्यामेरा समाइदिन अनुरोध गर्छन् ।
रेग्मी भन्छन्, “मलाई भिडिओको बारेमा खासै ज्ञान छैन । अलि समयअघि राम्रो कन्टेन्ट बनाउनेहरूलाई भनेर टिकटकले ट्रेनिङ दिएको थियो । त्यही बेलामा भिडिओको क्वालिटी बढाउन माइक र सानो लाइट पनि लिएको थिएँ । माइक त हरायो, भिडिओ बनाउने बेलामा लाइटको चाहिँ प्रयोग गर्छु ।”
सामाजिक सञ्जालमा कसरी भिडिओ बनाइएको छ र कति फलोअर्स छन् भन्दा पनि सही कन्टेन्ट सही दर्शकमा पुगेको छ कि छैन भन्ने कुरा जरुरी हुने गरेको उनले बताए । उनले राखेको भिडिओ १० हजारदेखि लाखौँ प्रयोगकर्ताले हेर्ने गरेका छन् ।
आफ्ना फलोअरमा अधिकांश पुस्तक प्रेमी रहेको रेग्मी बताउँछन् । पछिल्लो पाँच वर्षमा आफूले हजारौँ मानिसहरूलाई पुस्तक पढ्न आकर्षित गरेको उनको दाबी छ ।
उनले भने, “अहिलेसम्म मैले कम्तीमा १० हजार नयाँ ग्राहक बनाउन सकेको छु । ती मध्ये अधिकांशले नियमित किताब किन्ने गरेका छन् ।”
टिकटकमा लाइभ बसेर पनि केही आम्दानी हुने गरेको छ । आफ्नो फेसबुक अकाउन्ट पनि मनिटाइज भएको उनले बताए । यसलाई पनि आम्दानीको विकल्पको रुपमा उनले लिएका छन् ।
तर फेसबुक र टिकटक प्लेटफर्मले दिएको आम्दानीका लागि भन्दा पनि वास्तविक लेखकहरूलाई प्रवर्धन गर्ने र किताब पढ्न मानिसहरूलाई आकर्षित गर्ने कन्टेन्ट बनाउने कामलाई निरन्तरता दिने उनको योजना छ ।
*संसारमा कागजको प्रयोगको सुरुवात हुँदा प्लेटोले विरोध गरेका सन्दर्भ उल्लेख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १९:१२
