close

फ्याक्टचेकः ‘सिंहदरवार जलाएरै छाड्यौं’ लेखेको पम्प्लेटसाथ रास्वपा उम्मेदवार देखिने तस्विर भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन ३, २०८२ १९:३

फ्याक्टचेकः ‘सिंहदरवार जलाएरै छाड्यौं’ लेखेको पम्प्लेटसाथ रास्वपा उम्मेदवार देखिने तस्विर भ्रामक

 

काठमाडौँ । पछिल्ला केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश कार्कीको एउटा तस्बिर सामाजिक सञ्जालमा फैलिरहेको छ । उक्त तस्बिरमा उनले ‘देखिस् ओली सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड बोकेको देखिन्छ । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त तस्बिर भ्रामक रहेको पुष्टि भएको छ । वास्तवमा कार्कीले ‘NOT GEN-Z BUT WITH GEN-Z’ लेखिएको प्लेकार्ड बोकेका थिए । जेन-जी विद्रोहमा सहभागी भएका बेलाको उनको सक्कली तस्बिरलाई एआईको सहायताले एडिट गरी भ्रम फैलाएको पाइएको हो । 

दाबी

बिहीबार, १२ फेब्रुअरी २०२६ दिउसो ३ः०४ बजे ‘Arunima Sah’ नामक फेसबुक अकाउन्टबाट एउटा भिडिओ अपलोड भयो । भिडिओको तलपट्टि रास्वपा नेता गणेश कार्कीले प्लेकार्ड बोकेको देखिने फोटो राखिएको छ भने माथिपट्टि उनले सर्वसाधारणसँग कुरा गरिरहेको भिडिओ राखिएको छ । फोटोमा ‘देखिस ओली सिंहदरबार जलाएरै छाड्यौ’ लेखेको प्लेटकार्ड बोलेको देखाइएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “जनताले भुलेका छैनन्, कलिला नानिबाबुलाई अघि सारेर सिंहदरबार जलाउने योजना पूरा गरेको त्यो दिन ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २२ हजार बढी रियाक्सन, ३१३ कमेन्ट आएका छन् । ८२ हजार बढी भ्युज पाइसकेको सो भिडिओ ५८४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिन रेकर्ड ।

 

अनुसन्धान 

उक्त फोटोसँग मिल्दाजुल्दा फोटो फेला पार्न गुगल रिभर्स इमेज सर्च गर्दा टेकपाना फ्याक्टचेक डेस्कले फेसबुकमा ‘Omnam Siwaya’ नामको पेजले १३ फेब्रुअरी २०२६ राति ११ः२० बजे सोही फोटो राखेको फेला पर्‍यो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “यो गणेश कार्कि हो र यस्ले हातमा बोकेको प्लेकार्डले के संकेत गर्छ प्रष्ट छैन र !” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै अरुण नेपाली लुइँटेल नामका प्रयोगकर्ताले १२ फेब्रुअरी २०२६ बेलुका ६ः२५ बजे गणेश कार्कीले पम्प्लेट बोकेको फोटो र सर्वसाधारणसँग बोलिरहेको भिडिओ जोडेर राखेको पाइयो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “राजसस्था पुनस्थापना भयो भने सबैभन्दा पहिला यहीँ आतंककारी जेल जान्छ... यस्ता दलाललाई देशमा बस्ने अधिकार पनि छैन ।” यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ३८७ रियाक्सन र ३० कमेन्ट आएका छन् भने नौ हजार भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

 

त्यसैगरी सामाजिक सञ्जाल एक्समा ‘Bhumi Raj’ (@rab89419) नामक प्रयोगकर्ताले १४ फेब्रुअरी २०२६ दिउसो ०४ः०९ बजे कार्कीले पम्प्लेट बोकेको फोटो राख्दै लेखेका छन्, “यो गणेश कार्कि हो र यस्ले हातमा बोकेको प्लेकार्डले के संकेत गर्छ प्रष्ट छैन र ?” यो सामग्री तयार पार्दासम्म ४६०० बढीले हेरेको उक्त पोस्टलाई ५७ अकाउन्टले लाइक, २० अकाउन्टले पोस्ट रिपोस्ट र १० ओटा कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

भाइरल भइरहेको उक्त तस्वीरको भिजुअल विश्लेषण गर्ने क्रममा त्यहाँ लेखिएको नेपाली टेक्स्ट अस्वाभाविक देखियो । ‘देखिस’ मा खको ईकार बिग्रिएको छ । त्यस्तै ‘सिंहदरबार’ लेखिएकोमा सि को पछाडि स्पेस र माथि शिरविन्दु छ । ‘जलाएरै’ शब्दमा रमाथि लागेको ऐकार मात्रा पनि बिग्रिएको देखिन्छ । अन्तिममा रहेको ‘छाड्यौं’ शब्द फरक फन्ट र कलरमा देखिएको छ । यसबाट यो टेक्स्ट एआईले नै एडिट गरेको सङ्केत मिल्यो ।

उक्त फोटो हाइभ मोडरेसनमा जाँच गर्दा मोडिफाई गरिएको देखियो । हाइभ मोडरेसन उक्त फोटो एआई सिर्जित हुनेमा ३.१ प्रतिशत विश्वस्त देखियो । त्यसपछि गुगलको सिन्थ आईडी डिटेक्टरमा जाँच्दा उक्त फोटो गुगलको एआई प्रयोग गरी निर्माण वा एडिट गरिएको देखियो । 

हामीले गुगल रिभर्स इमेज सर्च गरी विस्तृतमा खोज्दा वास्तविक फोटो कार्कीले नै आफ्नो फेसबुकमा ८ सेप्टेम्बर २०२५ मा अपलोड गरेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट । उक्त पोस्टमा कार्कीले लेखेका छन्, “जेनजीसँगै जेनजीका काकाहरु पनि छौँ । नालायक सरकार कर्फ्यु हैन, सुशासन दे ।” उक्त पोस्टमा कार्कीले ‘NOT GEN-Z BUT WITH GEN-Z’ लेखेको पम्प्लेट बोकेको देखिन्छन् । 

यी विभिन्न तथ्यबाट जे पुष्टि हुन्छ भने कार्कीले अपलोड गरेको प्रदर्शनको फोटोलाई एआईको सहायताले एडिट गरी ‘देखिस ओली सिंहदरबार जलाएरै छाड्यौ’ लेखेको जस्तो बनाइएको हो । 

 

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले ‘देखिस् ओली सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड/पम्प्लेट बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

 

दाबीकर्ता

‘Arunima Sah’, ‘Omnam Siwaya’, अरुण नेपाली लुइँटेल लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता र ‘Bhumi Raj’ नामला एक्स प्रयोगकर्ता ।

 

तथ्य

जेन-जी विद्रोहकै क्रममा गणेश कार्कीले ८ सेप्टेम्बर २०२५ मा आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको सक्कली तस्बिरमा उनले ‘NOT GEN-Z BUT WITH GEN-Z’ लेखिएको प्लेकार्ड बोकेका थिए । भाइरल फोटोमा नेपाली अक्षरहरूको बनावट (ईकार, ऐकार र फन्ट) अस्वाभाविक छ जसले यो एआईद्वारा एडिट गरिएको सङ्केत गर्छ । ‘हाइभ मोडरेसन’ र गुगलको ‘सिन्थ आईडी डिटेक्टर’ जस्ता टुलले उक्त तस्बिर एआईको सहायताले एडिट गरिएको पुष्टि गरेका छन् ।

 

निष्कर्ष 

गणेश कार्कीले ‘सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड बोकेको दाबी भ्रामक हो । जेन-जी विद्रोहको समर्थनमा उनले बोकेको वास्तविक प्लेकार्डलाई एआई प्रयोग गरेर एडिड गरी भ्रम फैलाएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १२:५९