close

एप्पलको अब्सलिट अर्थात् अप्रचलित उत्पादनको सूचीमा थपिए आईफोनका दुई मोडेल

टेकपाना टेकपाना

चैत ३, २०८२ १२:५८

एप्पलको अब्सलिट अर्थात् अप्रचलित उत्पादनको सूचीमा थपिए आईफोनका दुई मोडेल

काठमाडौँ । एप्पलले आफ्ना दुई पुराना र लोकप्रिय मोडेलहरू आईफोन ४ र आइफोन ५ लाई विश्वव्यापी रूपमा अप्रचलित (Obsolete) उत्पादनहरूको सूचीमा समावेश गरेको छ । १७ मार्च, २०२६ का दिन गरिएको यो निर्णयसँगै अब यी डिभाइसहरूका लागि एप्पलबाट प्राप्त हुने सबै प्रकारका आधिकारिक हार्डवेयर सेवाहरू समाप्त भएका छन् ।

एप्पलको नीति अनुसार कुनै पनि उत्पादनको बिक्री बन्द भएको ५ वर्ष पुरा भएपछि त्यसलाई 'भिन्टेज' सूचीमा राखिन्छ । 'भिन्टेज' उत्पादनहरूको हकमा यदि आवश्यक पार्टपुर्जाहरू मौज्दात छन् भने एप्पलका आधिकारिक सेवा प्रदायकहरूले मर्मत गरिदिन्छन् ।

तर बिक्री बन्द भएको ७ वर्ष पुरा भएपछि ती उत्पादनहरू 'अप्रचलित' (Obsolete) बन्छन् । अप्रचलित भइसकेपछि एप्पलले ती डिभाइसहरूका लागि मर्मतका पार्टपुर्जाहरू उपलब्ध गराउन पूर्ण रूपमा बन्द गर्दछ र कुनै पनि आधिकारिक मर्मत सेवा प्रदान गर्दैन ।

सन् २०१२ मा सार्वजनिक गरिएको आईफोन ५ एप्पलको इतिहासमा निकै महत्त्वपूर्ण मानिन्छ । यो एप्पलको पहिलो फोन थियो, जसमा ३०-पिन कनेक्टरलाई हटाएर लाइटनिङ पोर्ट समावेश गरिएको थियो । यसमा ४ इन्चको ठुलो डिस्प्ले, सिसा र एल्मुनियमको नयाँ डिजाइन र एलटीई सपोर्ट जस्ता अत्याधुनिक फिचरहरू थिए । सन् २०१३ मा आईफोन ५ एस र ५ सी सार्वजनिक भएपछि यसको उत्पादन बन्द गरिएको थियो । यो सन् २०१८ देखि 'भिन्टेज' सूचीमा रहेको यो आईफोन अहिले पूर्ण रूपमा 'अप्रचलित' भएको हो ।

एप्पलले सन् २०११ मा ल्याएको ८ जीबी क्षमताको आईफोन ४ लाई पनि अहिले अप्रचलित सूचीमा थपेको छ । यसअघि नै आईफोन ४ का अन्य मोडेलहरू यस सूचीमा रहे पनि ८ जीबी भेरियन्टलाई भने 'भिन्टेज' सूचीबाट हटाएर अहिले अप्रचलित बनाइएको हो । यी दुवै डिभाइसहरू अमेरिकामा बिक्री बन्द भएपछि पनि विकासोन्मुख देशका बजारहरूमा कम मूल्यका स्मार्टफोनका रूपमा निकै रुचाइएका थिए ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १३:०