close

फ्याक्टचेकः नक्कली पेजको भ्रामक पोस्टबाट पूर्वमन्त्री महावीर पुन नै झुक्किए, गरे अर्की पूर्वमन्त्री पद्मा अर्यालमाथि भद्दा टिप्पणी

हिक्मत आचार्य हिक्मत आचार्य

चैत ८, २०८२ १९:१०

फ्याक्टचेकः नक्कली पेजको भ्रामक पोस्टबाट पूर्वमन्त्री महावीर पुन नै झुक्किए, गरे अर्की पूर्वमन्त्री पद्मा अर्यालमाथि भद्दा टिप्पणी

काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालका विभिन्न माध्यममा एमाले सांसद पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विषयमा टिप्पणी गरेको दाबीसहित एक पोस्ट भाइरल भइरहेको छ । समानुपातिक तर्फबाट छानिएकी एमाले सांसद अर्यालले ‘रास्वपाका सांसदलाई सदनमा कसरी तह लगाउनु पर्छ भने आफूलाई थाहा भएको’ बताएको दाबी गरिएको छ । 

यही पोस्टलाई आधार बनाएर नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले समेत सांसद अर्यालमाथि टिप्पणी गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पुष्टि भएको छ । ‘सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ’ भनेर अर्यालले कतै पनि भनेकी छैनन् । 

उनले रास्वपाले पाएको बहुमतको कदर गर्दै आफूहरूले सशक्त प्रतिपक्षीको भूमिका निभाउने बताएकी छिन् । सरकार गलत ट्रयाकमा गए खबरदारी गर्ने उनको भनाइ थियो । यही भनाईलाई तोडमोड गर्दै गलत आशय लाग्नेगरी भ्रामक पोस्ट राखेको पुष्टि भएको छ । यही भ्रामक दाबीलाई आधार बनाएर पूर्व शिक्षामन्त्री एवम् नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले अर्की सांसद तथा पूर्व कृषिमन्त्री पद्मा अर्याललाई कटाक्ष गरेको पाइएको हो ।

 

दाबी

बिहीबार, १९ मार्च २०२६, राति ९ः१५ बजे ‘Hamro Nepal’ नामक फेसबुक पेजले एक पोस्टर पोस्ट गर्‍यो । जसमा एमाले नेतृ पद्मा अर्यालको फोटोसँगै लेखिएको छ, “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ” । पोस्टरमा ‘Hamro Nepal’ नामको वाटरमार्क पनि छ । माथि क्याप्सनमा लेखिएको छ, “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ - पद्मा अर्याल।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २४०० बढी रियाक्सन, १७०० बढी कमेन्ट र ५२ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले एमाले सांसद अर्यालले रास्वपाका नेतालाई संसद्‍मा तह लगाउने दाबी गरेका पोस्ट फेला पार्न फेसबुकमा ‘सदनमा रास्वपा नेता तह’ किवर्ड सर्च गर्‍यो । त्यस क्रममा ‘Swatantra Media’ नामक अर्को फेसबुक पेजले २० मार्च २०२६ राति ९ः११ बजे त्यही क्याप्सनसहित पोस्ट राखेको फेला पर्‍यो । यस पेजले पोस्टरमा आफ्नो वाटरमार्क थपेको छ भने बाँकी अक्षरमा लेखेको छ, “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ। - एमाले सांसद प‌द्मा अर्याल” । यो सामग्री तयार पार्दासम्म यो पोस्टमा ४८०० बढी रियाक्सन, २३०० बढी कमेन्ट र ५९ ओटा शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘नयाँपुस्ता डटकम’ नामक सूचीकृत अनलाइन सञ्चार माध्यमको फेसबुक पेज ‘nayapusta.com’ मा पनि त्यही दाबीसहितको पोस्टर अपलोड भएको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी ‘Sandesh TV Nepal’ नामक फेसबुक पेजले पनि त्यसरी नै पोस्टर राकेको पाइयो । यस पेजले लेखेको छ, “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ,” पद्मा अर्याल” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

सामाजिक सञ्जाल थ्रेड्समा ‘rajsharma20255’ युजरनेमका प्रयोगकर्ताले ‘स्वतन्त्र मिडिया’ नामक फेसबुक पेजले राखेको पोस्टर अपलोड गर्दै लेखेका छन्, “जनताले तह लगाएर भित्तामा पुर्याएका हरुको फुर्ती! 😁😁” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

हामीले तथ्यजाँचका क्रममा यी भाइरल पोस्टलाई विश्लेषण गर्‍यौँ । यी पोस्टमा उनले कहिले भनिन्, किन भनिन्, कुन सन्दर्भमा भनिन्, कोसँग कुरा गर्दा भनिन्, अरू के भनिन् जस्ता समाचारमा हुनुपर्ने आधारभूत जानकारी नै खुलाइएको छैन । यो अपूर्ण सूचना नै आफैमा भ्रामक भयो । 

त्यसपछि डेस्कले २१ फागुनपछि पद्मा अर्यालको विषयमा प्रकाशित/प्रशारित समाचार खोज्यो । गुगल एड्भान्स सर्चमा खोज्ने क्रममा ५ चैत २०८२ मा अनलाइन खबरमा ‘एमाले सशक्त प्रतिपक्षीको भूमिकामा उत्रिन्छ : पद्‌मा अर्याल’ शीर्षकको समाचार प्रकाशित भएको फेला पर्‍यो । त्यस्तै थाहा खबरमा ‘आफू सकिएको देख्न सक्छौँ तर राष्ट्र कमजोर भएको देख्न सक्दैनौँ : पद्मा अर्याल’, बीबीसीमा ‘नयाँ संसद्‌मा 'सङ्कुचित' विपक्षीका भूमिकाबारे उठेका प्रश्नहरू’ शीर्षकको समाचार राखेको फेला पर्‍यो । 

यी समाचारमा अर्यालले आफ्नो दल संसद्‌मा सङ्ख्याका रूपमा कमजोर भए पनि आफूहरू सरकारलाई सहयोग गर्ने तर बाटो बिराएको खण्डमा ‘सशक्त प्रतिपक्षी’को भूमिका निभाउने बताएको उल्लेख छ । कतै पनि ‘रास्वपा सांसद्/नेतालाई तह लगाउने’ भन्ने किसिमले प्रतिक्रिया दिएको भेटिँदैन । 

हामीले उनले सञ्चार माध्यमसँग गरेका कुराकानी पनि खोज्यौँ । त्यस क्रममा जनता मिडियाले २० मार्चमा राखेको ‘ओलीले हारेपछि एमालेको संसदीय दलको नेता को ? के भन्छिन् पद्मा अर्याल ?’ भिडिओ फेला पर्‍यो । सो भिडिओमा सांसद अर्यालले आफ्नो पार्टीको संसदीय दलको नेताको विषयमा कुरा गरेको देखाइएको छ । त्यसमा रास्वपाको बारेमा बोलेको सुनिँदैन । 

त्यस्तै १९ मार्चमा ‘8848 News’ नामको फेसबुक पेजले राखेरको अर्यालको भिडिओमा पनि उनले रास्वपाको नाम लिएको सुनिँदैन । हेर्नुहोस् भिडिओ । 

१९ मार्चमै मकालुखबरलले राखेको ‘एमाले आफू सकिन तयार छ, तर राष्ट्रियता कमजोर भएको देख्न सक्दैनौंः पद्मा अर्याल’ को भिडिओमा सांसद् अर्यालले मत परिणामलाई स्वीकार्ने बताएकी छिन् । त्यस्तै रास्वपाले बनाउन लागेको झण्डै दुई तिहाईको सरकारलाई शुभकामना पनि दिएकी छिन् । जसमा उनले भनेकी छिन्-

 “हामीले बकायदै भनेका छौँ, यो जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ भनेका छौँ। हामीलाई किन दिनुभएन भन्या छौँ? हामीले भन्या छैनौँ । यो चुनावको रिजल्ट भनेको जनताको अभिमत हो । हाम्रो जनताको अभिमत प्रति सम्मान छ जहिले पनि । हामी जनताको मतलाई सम्मान गर्छौँ । त्यसैले हामीले त्यसलाई सम्मान गर्दै, चुनावको परिणामलाई हृदयदेखि स्वीकार गर्दै, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइको सरकार बनाउँदै छ, त्यो सरकार राम्रो ढंगले चलोस् भनेर शुभकामना पनि भनेका छौँ । त्यो मनै देखि भन्या छौँ । हामी स्थायित्वको पक्षमा छौँ नि । हिजोदेखि राजनीतिक स्थायित्वको कुरा त हामीले उठाएको हो। त्यसैले चुनावको रिजल्टलाई हामीले मज्जाले स्वीकार्या छौँ । स्वीकारेर अगाडि जान खोज्या छौँ । आफ्नो असफलताको कारण हामी समीक्षा गर्छौँ । हामी समीक्षा गर्छौँ र त्यसबाट शिक्षा लिएर अगाडि बढ्छौँ भन्ने कुरा हाम्रो कुरा हो ।

प्रतिपक्षको भूमिकामा तपाईँहरूले एमालेलाई सशक्त देख्नुहुन्छ । किन सशक्त देख्नुहुन्छ भन्नुहोला भने हामी राष्ट्रिय स्वाभिमानको झण्डा झुकेको, कमजोर भएको देख्न सक्दैनौँ । हामी आफू सकिन सक्छौँ । तर राष्ट्र कमजोर भएको, राष्ट्रिय स्वाभिमान कमजोर भएको हामीले देख्न सक्दैनौँ । कतै नेर त्यस्ता संकेत भयो भने हामी कुनै हालतमा पनि राष्ट्रिय स्वाभिमान झुकाउने काम यो सरकारलाई हामी गर्न दिँदैनौँ । त्यसैले हाम्रो त्यहाँ पहरेदारी, खरो पहरेदारी हुन्छ नम्बर वान ।

नम्बर टु, आज जनताको केही नभएको त होइन नि, केही त भा'छ नि । तर जनताको अपेक्षा के हो भन्नुहोला भने मुलुकमा रोजगारी । बेरोजगारी समस्याको समाधान हुनुपर्‍यो । देशमा रोजगारी सिर्जना हुनुपर्‍यो । अनि वृद्ध र महिलालाई सम्मान हुनुपर्यो, हैन ? उत्पादन बेसी हुनुपर्‍यो । मान्छेहरू छटपटाउने खालको स्थिति हुन भएन । हामी आत्मनिर्भर बन्ने दिशा तर्फ जानु पर्यो । सधैँ माग्ने मात्रै हुन भएन । अब यस्तो काम एउटा सरकारले सुरु गर्यो दुई महिना तीन महिना गइहाल्यो । अस्थिरताको कारणले विकासको बाधक, समृद्धिको बाधक, जनअपेक्षाको बाधक राजनीतिक अस्थिरता हो ।

त्यसैले अहिले कसैले छुन नसक्ने गरी झण्डै दुई तिहाइ नयाँ शक्तिले प्राप्त गर्‍यो छ । नयाँ शक्ति हो, जोस पनि छ, जाँगर पनि छ, खबरदारी पनि छ । त्यसैले हामीले पनि प्रतिपक्षबाट खबरदारी, जनताको मतलाई तलमाथि गर्न पाउँदैनौ, जनताको विश्वास जुटाउन पाउँदैनौ भनेर पनि हामीले ठीक ट्र्याकमा ल्याउने गरी अगाडि बढ्छौँ । तसर्थ जनताको पक्षमा, राष्ट्रको पक्षमा हाम्रो भूमिका संसदमा सशक्त हुन्छ । सरकारले ल्याएका राम्रा कामको निम्ति सहयोग हुन्छ, सरकारले ल्याएका नराम्रा, जनहित र राष्ट्रहित विपरीतका कामका निम्ति खबरदारी हुन्छ र हामीले रोक्ने काम गर्छौँ ।” हेर्नुहोस् भिडिओ । 

त्यस्तै समय नेपाल टिभीले प्रसारण गरेको भिडिओमा अर्यालले भनेकी छन्, “जनतालाई जे सपना बाड्नु भा’छ, त्यो पुरा गर्ने गरी अगाडि बढ्नुस् नेकपा (एमाले) साथमा छ, साथ दिन्छ । हामी कहाँ उभिनु पर्छ उभिन्छौँ । झुक्याएर के गरेर अनि फेरी छड्के बाटो अनि दम्भ घमन्ड देखाएर राष्ट्र हित विपरीतका जनहित विपरीतका कुरा चाहिँ बहुमतको नाममा नठेल्नुस् । त्यो बेला एमाले साथमा हुँदैन । त्यो बेला एमालेले खबरदारी गर्छ । जनहित र राष्ट्र हितमा ल्याएका कुरालाई कहाँ उभिनु पर्छ, के गर्नु पर्छ हामी साथ दिन्छौँ । 

त्यसैले चुनावमा जे फन्डा गरेर आकर्षित गरियो, सरकार त फन्डाले चल्दैन । जनताले त परिणाम खोज्छ । जनताले परिणाम हेर्छ । बाहिर बस्दा चिच्याउन जति सजिलो हुन्छ, त्यति सजिलो हुन्न नि । त्यसैले गम्भीर भएर काममा केन्द्रित हुनुस् भन्छु । मैले आज सुरु नै नगरिकन केही टिप्पणी गर्दिन। शुभकामना मात्रै दिन्छु । आज धेरै-धेरै शुभकामना राम्रो गर्ने शुभकामना । कतिपयले ६४ सालमा पनि अब एमाले सकियो माओवादीले देश लग्यो भन्या थियौँ । त्यसको लगत्तै अर्को चुनावमा हामीले एउटा पोजिसन बनाएर आयौँ । त्यसैले एउटा चुनावमा पराजित हुँदैमा सकिएको भन्ने निष्कर्ष निकालिँदैन । विगतले पनि त्यस्तो देखाउँदैन । हाम्रा ठुला पार्टीहरू भनेका विगतका पार्टीहरू पुराना पार्टीहरू पनि कहिले सफल कहिले असफल कहिले दोस्रो कहिले तेस्रो हुँदै आएका छन् त । त्यसैले हामी पनि कहिले फर्स्ट भयौँ, कहिले सेकेण्ड भयौँ, कहिले थर्ड भयौँ । अब यसबाट हतासिनु पर्ने कुरा छैन । शिक्षा चाहिँ प्रशस्त लिनु पर्छ ।

१९ मार्च २०२६ मा ‘Image Channel HD’ मा ‘रास्वपा सरकारलाई एमालेको च्यालेन्ज, केपी ओलीबाट छानबिन सुरु होस्: Padma Aryal | Hot Seat ||” शीर्षकको ५९ मिनेट लामो अन्तर्वार्ता प्रसारण भएको छ । सो अन्तर्वार्तामा कतै पनि सांसद अर्यालले रास्वपाका सांसदलाई तह लगाउने कुरा बोलेकी छैनन् । उनलाई रास्वपाको सन्दर्भमा सोधिएका हरेक प्रश्नमा सरकारलाई सहयोग गर्ने, तर सरकार सही ट्रयाकमा नआए सशक्त प्रतिपक्षको भूमिका निभाउने कुरा दोहोर्‍याएकी छिन् । यही टिप्पणीलाई आधार मान्दै केही फेसबुक पेजले सांसद अर्यालले भन्दै नभनेको कुरालाई उनकै भनाइ जसरी राखेको पाइयो । यी विभिन्न तथ्यले ‘एमाले सांसद अर्यालले सदनमा रास्वपा सांसदलाई तह लगाउने बताइन्’ भन्दै फैलाइएका दाबी भ्रामक पुष्टि हुन्छन् ।

भ्रामक पोस्टले झुक्किए नवनिर्वाचित सांसद तथा पूर्व शिक्षामन्त्री महावीर पुन

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् नवनिर्वाचित सांसद महावीर पुनले ‘Swatantra Media’ नामक फेसबुक पेजले सम्प्रेषण गरेको भ्रामक सामग्रीलाई आधार बनाएर आफ्नो धारणा राखेको पाइयो । उनले आइतबार फेसबुकमा सोही पोस्टको स्क्रिनशट राख्दै लेखेका छन्, “पद्मा अर्याल बहिनी ! तिम्रा नेताले सिकाएजस्तै यति साह्रै जान्ने स्वाँठ र मूर्ख नभए हुन्छ । पुराना नेतृत्वहरू कस्ता थिए र के गरे भन्ने कुरा युवा र वृद्धहरू सबैलाई प्रस्टसँग थाहा छ । संसारका युवाहरूसहित अहिलेका नेपाली युवाहरू तिमीभन्दा सयौं गुणा जान्ने र चलाख छन् । समयचक्रमा अहिलेका नेपाली युवाहरू तिमी र तिम्रा नेताहरूभन्दा धेरै नै चेतनशील छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमीजस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो वर्षको आमचुनावमा पुराना दलहरूलाई तह लगाए । चाकरी गरेर समानुपातिक कोटामा आएका तिमीजस्ता कथित पुराना सोचका नेताहरूले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु विवेकपूर्ण तरिकाले सहकार्य गर्नु अति उत्तम हुनेछ । २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरू !

यसैको जवाफ दिँदै सांसद अर्यालले भनेकी छन्, “माननीय महावीर पुनज्यू, नयाँ संसद्‌मा तपाईंजस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचना नियन्त्रणका सम्बन्धमा तपाईंसँगको सहकार्यलाई लिएर म पनि उत्साहित थिएँ । तर, आज तपाईंले गरेको पोस्टले निराश बनाएको छ । राजनीतिक एवं वैचारिक रूपमा तपाईं र मबीच स्वस्थ मतभेद होलान्, तर आफूलाई मिडियाको हवाला दिने कुनै पार्टीको मुखपत्रजस्तो फेसबुक पेजमा विषाक्त उद्देश्यले राखिएको मनगढन्ते कुरालाई आधार बनाई अनर्गल टिप्पणी गर्नु भने शोभनीय भएन । यस समयमा द्वेष उत्पादन गराउने कुनै पनि कुरा उपयुक्त छैनन् भन्नेमा म संवेदनशील छु । मैले नबोलेको विषयमा नियोजित ढङ्गले राखिएको कन्टेन्टलाई तपाईंजस्तो जिम्मेवार व्यक्तिले विनामूल्यांकन प्रचार गरी द्वन्द्वको सिर्जना गर्नु चिन्ताजनक विषय हो । भ्रम कहिले कसका विरुद्ध कुन हतियार बनी सोझिन्छ, कसलाई पो थाहा छ र ? म अझै पनि भ्रामक गतिविधिलाई निर्मूल पार्नेतर्फ सबैको ध्यान जानेछ र प्रस्तुत विषयको सत्यताको मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास राख्दछु ।

दाबी

एमाले सांसद तथा नेतृ पद्मा अर्यालले “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ” भनेको ।

दाबीकर्ता

'Hamro Nepal, 'Swatantra Media' र 'Sandesh TV Nepal', nayapusta.com नामक अनलाइनको फेसबुक पेज, र 'rajsharma20255' नामक थ्रेड्स प्रयोगकर्ता । 

तथ्य

पद्मा अर्यालका पछिल्ला समाचार, सार्वजनिक भिडिओ र अन्तर्वार्ताको अनुसन्धान गर्दा उनले रास्वपा नेताहरूलाई ‘तह लगाउने’ भनेर कतै पनि बोलेको पाइएन । बरु उनले चुनावको मत परिणामलाई स्वीकार्दै रास्वपाको बन्न लागेको नयाँ सरकारलाई राम्रो काम गर्न शुभकामना दिएकी छिन् । एमालेले संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका निभाउने, सरकारको राम्रो काममा सहयोग गर्ने, तर राष्ट्रहित र जनहित विपरीत काम भएमा कडा खबरदारी गर्ने कुरा मात्र उनले बताएकी छिन् ।

साथै सांसद महावीर पुनले सोही विषयमा गरेको आलोचनाको जवाफ दिँदै पद्मा अर्याल आफैँले पनि उक्त भनाइ आफ्नो नभएको र नियोजित रूपमा मनगढन्ते कुरा राखेर भ्रम फैलाइएको स्पष्ट पारेकी छिन् ।

निष्कर्ष

सामाजिक सञ्जालमा एमाले नेतृ पद्मा अर्यालको नाम जोडेर ‘सदनमा रास्वपाका नेताहरूलाई तह लगाउने’ भनी फैलाइएको भनाइ भ्रामक हो ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १९:१०