शब्दकै भरमा एआई भिडिओ बनाइदिने सोरा एप बन्द गर्दै च्याटजीपीटी निर्माता ओपनएआई
चैत ११, २०८२ ११:१८
काठमाडौँ । ओपनएआईले आफ्नो एआई भिडिओ एप सोरा बन्द गर्ने भएको छ । कम्पनीले मङ्गलबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै एप बन्द गर्न लागिएको जानकारी दिएको हो ।
“हामी सोरा एपलाई बिदाइ गर्दैछौँ,” कम्पनीले एक्समा भनेको छ, “सोरा प्रयोग गरेर आफ्ना सामग्री बनाउने, शेयर गर्ने र यसको एउटा समुदाय निर्माण गर्ने सबैलाई धन्यवाद । तपाईंले सोरा मार्फत बनाउनु भएका सामग्रीको निकै महत्त्व छ र हामीलाई थाहा छ, यो खबरले तपाईंहरूलाई पक्कै निराश बनाएको छ ।”
कम्पनीले एक्स पोस्टमा कन्जुमर एप र एपीआई बन्द हुने उल्लेख गरेको छ । टेक पोर्टल सीनेटका अनुसार कम्पनीले एप बन्द गर्ने भएसँगै सोरामा २०० भन्दा बढी क्यारेक्टर (पात्र) प्रयोग गर्न वाल्ट डिज्नीसँग गरिएको एक अर्ब डलरको सम्झौता पनि अन्त्य भएको छ । ओपनएआईका प्रवक्ताले सीनेटसँग कुरा गर्दै सोराको कन्जुमर एप र एपीआई दुवै बन्द गर्न लागिएको जानकारी दिएका हुन् । “कम्प्युटिङको माग बढ्दै गएको र कम्पनीको प्राथमिकता फेरिएकाले अब सोराको अनुसन्धान टोली मानिसलाई भौतिक काममा सघाउने रोबोटिक्स र वर्ल्ड सिमुलेसन प्रविधिको विकासमा केन्द्रित हुनेछ,” प्रवक्ताले भनेका छन् ।
एप पूर्ण रूपमा कहिले बन्द हुन्छ भन्ने यकिन समयतालिका भने तोकिएको छैन । यद्यपि सोराको एक्स पोस्टमार्फत प्रयोगकर्तालाई बिदाइ गर्दै छिट्टै विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ ।
पछिल्लो समय एआई कम्पनी जेनेरेटिभ मिडिया (भिडिओ/अडियो निर्माण) बाट पछि हट्दै व्यापारिक र व्यावसायिक प्रोडक्टतर्फ केन्द्रित हुन थालेका छन् । प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकले हालै मात्र व्यावसायिक प्रयोगका लागि ‘क्लाउड कोवर्क र कोड’ टुल सार्वजनिक गरेपछि ओपनएआई दबाबमा थियो । यसै महिनाको सुरुवातमा ओपनएआईका एप्लिकेसन प्रमुख फिजी सिमोले कर्मचारीलाई साना परियोजना बन्द गरेर कोडिङ र इन्टरप्राइज टुल जस्ता मुख्य काममा केन्द्रित हुन निर्देशन दिएका थिए ।
जेनेरेटिभ भिडिओ उद्योगकै शीर्ष कम्पनी ओपनएआईले यति ठुलो परियोजना बन्द गर्नुलाई यस क्षेत्रप्रतिको घट्दो विश्वासका रूपमा विश्लेषकले हेरेका छन् । सोरा एआई र सामाजिक सञ्जालको मिश्रित एप थियो । यसले प्रयोगकर्तालाई आफ्नै वा अरूको अनुहार राखेर टिकटक शैलीमा हेर्न मिल्ने वास्तविक जस्तै लाग्ने भिडिओ बनाउन दिन्थ्यो । तर यसको दुरुपयोगबाट डिपफेक बन्न सक्ने र इन्टरनेटमा भ्रामक सामग्री बढ्ने भन्दै सेलिब्रेटी र अधिकारकर्मीले चिन्ता व्यक्त गर्दै आएका थिए ।
यसैबिच वाल्ट डिज्नी कम्पनीका प्रवक्ताले ओपनएआईको निर्णयको सम्मान गर्ने बताएका छन् । उनले आगामी दिनमा बौद्धिक सम्पत्ति र स्रष्टाको अधिकारको सम्मान गर्ने अन्य एआई प्लेटफर्मसँग सहकार्य जारी राख्ने प्रतिक्रिया दिएका छन् ।
डिज्नीसामु अब गुगल र रनवे जस्ता अन्य विकल्प रहेका छन् । तर यस्ता भिडिओ जेनेरेटर कम्पनीसँगको सहकार्य विवादरहित भने छैन । डिज्नीले ओपनएआईसँग सम्झौता घोषणा गरेकै दिन गुगलको जेमनाई एआईले आफ्नो प्रतिलिपि अधिकार उल्लङ्घन गरी क्यारेक्टरको नक्कल गरेको भन्दै गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पछिल्लो अध्यावधिक: चैत ११, २०८२ ११:१८
