close

खुकुरीले छियाछिया हुने गरी चितुवाको बीभत्स हत्या गरिएको भिडि‌ओ प्रमाण, घटना झापा बुद्धशान्तिको

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

चैत ११, २०८२ १७:३

खुकुरीले छियाछिया हुने गरी चितुवाको बीभत्स हत्या गरिएको भिडि‌ओ प्रमाण, घटना झापा बुद्धशान्तिको

काठमाडौँ । झापामा निकै क्रूर तरिकाले चितुवामाथि धारिलो हतियार प्रहार गर्दै मारिएको भिडिओ फुटेज सार्वजनिक भएको छ । सार्वजनिक भएको फुटेजमा स्थानीयहरूले वरिपरिबाट भुईँमा लडिरेको चितुवालाई घेरा हालेका छन् । निर्जीव प्राय: अवस्थामा रहेको चितुवामाथि लाठी र धारिला हतियारले प्रहार गरिरहेका छन् । दृश्य यति बीभत्स छ कि त्यसले तपाईंलाई विचलित तुल्याउन सक्छ । यदि तपाईंलाई यस्तो दृश्य हेर्दा असहज हुन्छ भने यहाँबाट अगाडि नबढ्न सल्लाह छ । 

भिडिओमा “यो, यो, ला । काट, काट । छप्काइदे ।” भनेको सुन्न सकिन्छ । छाडा र अपशब्द प्रयोग समेत गरेर चितुवामाथि आक्रोश पोखिएको छ । पृष्ठभूमिमा भने केही व्यक्तिहरूले “भयो भयो” भन्दै रोक्न समेत आग्रह गरेका छन् ।

तर धारिलो हतियार प्रयोग गर्नेहरू रोक्किएका छैनन्, बरु चक्कु र खुकुरीले चितुवाको शरीर छियाछिया हुने गरी प्रहार गरिरहेका छन् । यसरी खुकुरीले रेटेर चितुवाको एउटा खुट्टा शरीरबाट लगभग छिन्निन लागेको देखिन्छ । 

केही व्यक्तिले चितुवा ‘मर्‍यो’ भनेको छन् भने चितुवालाई प्रहार गर्ने क्रममा हातमा भएको खुकुरी भाँचियो भनिरहेका छन् । 

एक्स प्रयोगकर्ता ‘prajwal sharma’ २३ मार्च राति ९:२१ मा शेयर गरेको उक्त भिडिओ निकै हृदयविदारक छ । तल राखिएको भिडिओमा बीभत्स दृश्य भएकाले सावधानीपूर्वक हेर्न अनुरोध छ । 

सोही किसिमको क्लिप इन्स्टाग्राम प्रयोगकर्ता ‘irfaniacs’ ले २४ मार्चमा शेयर गरेका छन् । उक्त क्लिपमा त मरणासन्न भएको चितुवाको तिघ्राको मासु काटेर हातमा दिएको स्पष्ट देखिएको छ । हेल्मेट लगाएका एक युवकले चितुवाको तिघ्राको भाग मासु काटेर हातमा लिएका हुन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको चितुवालाई निर्ममतापूर्वक मारिएको घटना झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ को रहेको दाबी गरिएको छ । फेसबुक प्रयोगकर्ता ‘deven vlog’ ले भने बुद्धशान्ति-४ मा बिहानै देखि चितुवा देखिएको भन्दै फरक किसिमको क्लिप राखेका छन् । उक्त क्लिपको क्याप्सनमा उनले बिहानैदेखि नियन्त्रण गर्न नसकेपछि स्थानीयले घेरा हालेर बाँस, ढुङ्गा तथा लठ्ठी प्रयोग गरी मारेको दाबी गरेका छन् । 

दिउँसोको समयमा खिचिएको उक्त भिडिओमा मकै बारिमा चितुवा भागिरहेको छ भने बारीको छेउछाउबाट भाँटा लिएका युवाहरू चितुवा भएतर्फ आक्रामक तरिकाले दौडिरहेका छन् । केही व्यक्तिले भने चितुवालाई ढुङ्गा समेत हानेका छन् । २३ मार्च साँझ ५:३० मा उक्त भिडिओ सार्वजनिक गरिएको हो । सो भिडिओलाई पाँच लाख ८८ हजार भन्दा धेरैले हेरिसकेका छन् ।

‘deven vlog’ ले नै मरणासन्न अवस्थामा पुगेको चितुवाको अर्को क्लिप पनि राखेको छ । उक्त क्लिपमा चितुवाको खुट्टाको भागबाट मासु गायब भएको र हड्डी मात्र बाँकी रहेको देखिएको छ । मुख, पेट लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको देखिन्छ । 

Anusandhan HD नामक फेसबुक पेजबाट २२ मार्च साँझ ७:५१ मा सार्वजनिक भिडिओमा साँझको समयमा चितुवालाई बोकेर लगिएको दृश्य देख्न सकिन्छ । चितुवाको खुट्टा चारैतिरबाट समातेर झुन्ड्याउँदै विजय उत्सव मनाए जस्तै गरेर सडकमा भीड हिँडेरहेको छ । मोबाइलको फ्ल्याश लाइट बाल्दै स्थानीयले तस्बिर र भिडिओ समेत खिचि रहेका छन् । उक्त भिडिओको क्याप्सनमा समयमा नियन्त्रण टोली आइ नपुगेको दाबी गरिएको छ । 

आइतबार राति १०:५४ मा फेसबुक प्रयोगकर्ता ‘Sancha Raj Mabo’ले “बाल बाल ज्यान बचाइयो बुद्धाशन्तिमा चितुवा देखिय्यो” क्याप्सनसहित भिडिओ राखेका छन् । उक्त भिडिओमा सशस्त्र प्रहरीसहित स्थानीयले चितुवालाई लखेटिरहेका छन् । बाँझो खेतमा चितुवालाई लाठीले हान्दा सशस्त्र प्रहरीको हातमा चोट लागेर रगत बगेको उक्त भिडिओमा देखिएको छ । 

सोही फेसबुक अकाउन्टबाट २३ मार्चको दिउँसो ११:२६ मा अर्को भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओमा स्थानीयले चितुवालाई कब्जा गरेर घाँटीमा बाँसले थिचेका छन् भने बाँस र धारिलो हतियारले प्रहार गर्न थालेको देखिएको छ । 

यसरी बीभत्स तरिकाले चितुवाको हत्या गरिएको भिडिओ झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४, किमाईको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले उक्त भिडिओको आइतबार (८ चैत) साँझ करिब ६ बजे तिरको भएको पुष्टि गरे । किमाईका स्थानीय कमल खड्काको मकैबारीमा चितुवालाई क्रूरतापूर्वक मारिएको थियो । 

डीएसपी खड्काले दिउँसो १ बजे तिर चितुवा देखिएको जानकारी पाएपछि घटनास्थलमा प्रहरी पगेको जानकारी दिए । उनका अनुसार चितुवा सुरुमा मकैबारीमा घाइते वा थाकेको अवस्थामा फेला परेको थियो ।  उनले भने, “उसको कम्मर वा खुट्टामा चोट लागेको हुन सक्छ । किनभने बिहानै देखि देखिएको चितुवा भाग्न सकेको थिएन । घाइते अवस्थामा भएर मात्र दिनभर एकै ठाउँमा बसेको हुनुपर्छ । सही अवस्थामा भएको भए चितुवा जस्तो सबैभन्दा छिटो दौडिने जीव कहाँ एकै ठाउँमा बस्थ्यो र !” 

उनका अनुसार चितुवा नियन्त्रणका लागि झापा जिल्ला वन कार्यालयसँगको समन्वयमा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट टोली मगाइएको थियो । उक्त टोली घटनास्थलमा बेलुका करिब ५ देखि ६ बजेतिर मात्र आइपुगेको थियो । सो समयमा इलाका प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको पाइएको छ । 

टोलीले चितुवालाई नियन्त्रणमा लिन ‘डार्ट’ (नसालु औषधि) प्रहार गरेपछि चितुवा भड्किएको थियो । सो क्रममा चितुवाले मानिसहरूमाथि आक्रमण गरेको डीएसपी खड्काले बताए । 

प्रहरीका अनुसा चितुवाको आक्रमणबाट ४ जना सामान्य घाइते भएका छन् । सशस्त्रका प्राविधिक प्रहरी नायब निरीक्षक (प्रा.प्र.ना.नि) केशव श्रेष्ठ, बुद्धशान्ति गाउँपालिका वडा नं ६ का ५० वर्षीय कृष्ण गजमेर,  ५४ वर्षीय दुर्गाबहादुर कटुवालका साथै मेचिनगर नगरपालिका वडा नं १० का २६ वर्षीय विशाल कार्की सामान्य घाइते भएका हुन् । आक्रमण र भागदौडको क्रममा स्थानीयको कुटाइ वा अन्य चोटका कारण सोही दिन चितुवाको मृत्यु भएको उनले बताए । 

स्थानीय भन्छन्: ‘चितुवा घाइते भएर गाउँमा पसेको होइन, स्थानीयले घाइते बनाए’ 

बुद्धशान्ति-४ का स्थानीय प्रज्ज्वल शर्मा प्रहरीदेखि प्रशासनसम्मको कमजोरीले चितुवा क्रूरतापूर्वक मारिएको दाबी गर्छन् । उनले भने, “चितुवा जुन ठाउँमा देखियो, त्यहाँबाट आर्मी क्याम्प नजिकै थियो । यदि उनीहरूले चाहेको भए चितुवाको वरिपरि मानिसहरूलाई खासै जान नदिन सक्थे । प्रहरी र वन्यजन्तु आरक्षणसँग समन्वय गरेर चितुवाको छिट्टै उद्धार गर्न सकिन्थ्यो होला । तर त्यस्तो भएन । बिहान ८ बजे देखिएको चितुवा उद्धार गर्ने टोली साँझ ६ बजेतिर मात्र आइपुग्यो ।”

 

उनका अनुसार बिहान ८ बजेतिर गाउँमा चितुवा देखिएको थियो । देखिने बित्तिकै विभिन्न ठाउँबाट स्थानीयहरू भेला भएका थिए । उक्त चितुवा बिहान घाइते अवस्थामा नभइ स्वस्थ नै देखिएको उनले दाबी गरे । “ ३०/४० फिट चौडा बाटो मानिसहरूको भिडले भरिएको थियो । खेतको वारिपारिबाट मानिसहरूले घेरा हालेका थिए । दिउँसोसम्म चितुवा दौडिन सक्ने अवस्थामा नै थियो । देख्दा उ त्यति वयस्क भइसकेको चितुवा जस्तो पनि थिएन । तर, स्थानीयहरूले ढुङ्गाले हानेर घाइते बनाए ।”

हजारौँ मानिसहरूको घेरा हालेर छेकेकाले चितुवा भागेर जङ्गलतिर जाने अवस्था पनि नभएको उनले दाबी गरे । उनले भने, “यो घटना भएको उत्तर र दक्षिणपट्टि करिब तीन किलोमिटर टाढा जङ्गल छ । तर चितुवा जङ्गल जान पाएन ।”

बिहान ८ बजेतिर गाउँमा देखिएको चितुवाले साँझसम्म पनि कसैलाई हानी नगरेको र वन्यजन्तु आरक्षणबाट टोली आएर नसालु औषधि दिएर कमजोर बनाएपछि मारिएको उनले सुनाए । “कोही मान्छे यति क्रूर कसरी हुन सक्छ, हुन त चितुवा हिंस्रक जनावर नै हो । तर मानिस चाहिँ कुनै पनि जनावरप्रति यति निर्दयी कसरी हुन सक्छ ? यही सोचेर म रातभर निदाउन सकिनँ ।”

झापाका स्थानीय सञ्चारमाध्यम ‘अनुसन्धान मिडिया’ का सञ्चालक खरो खगेन्द्रले आफू घटनास्थलमा दिउँसो १२ बजेतिर पुगेको बताए । सो समयमा पनि आफूले पाँच/सात सय स्थानीयहरू उपस्थित भएर चितुवा धपाउन ढुङ्गामुढा गरिरहेको अवस्थामा देखेको बताए । 

त्यहाँका अन्य स्थानीयहरूले पनि सो दिन चितुवाको उद्दारमा समय लाग्नु र सबै गाउँलेहरूलाई चितुवाको नजिकै आउन दिनुले उक्त चितुवाको निर्मम तरिकाले हत्या भएको दाबी बताएका छन् । एक अर्का स्थानीयले भने, “बिहान आठ बजे चितुवा देखियो, तर उद्धार गर्ने टोली आउँदा साँझ परिसकेको थियो । चितुवालाई वन्यजन्तु आरक्षणबाट आएको टोलीले डार्ट हानेपछि आक्रामक भएको हो । त्यसबेला स्थानीयहरू नजिकै भएकाले केही आक्रमणमा पनि परे । तर, भीडलाई नजिक जान दिनु नै प्रशासनको गल्ती थियो ।” 

उनले उक्त घटनामा स्थानीयले चितुवाको सिकार खाने नियतले नै काटेको दाबी गरे । “डार्ट लागेपछि कमजोर भएको चितुवाको घाँटी बाँसले थिचिएको थियो । खुट्टा पनि कुल्चिएको थियो । चितुवा खाने नियतले काटेका छन् । केही मानिसले त चितुवाको मासु काटेर लगेका छन् । आफ्नो आत्मरक्षाको लागि मारेको भए स्वाभाविक नै मान्न सकिन्थ्यो, तर यसरी निर्मम तरिकाले काटेर मार्नुले नियतपूर्वक घटना घटाइएको स्पष्ट हुन्छ ।” 

कमाईमा चितुवा पसेको घटना नौलो 

बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेरबहादुर रायका अनुसार उक्त क्षेत्रमा चितुवाले आक्रमण गरेका घटना खासै छैनन् । उनले भने, “यो एउटा चितुवा चाहिँ कताबाट आएछ ? बिहान आठ बजे तिर नै गाउँमा देखिएको  जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि घटनास्थलमा पुगेको थियौँ । सँगै प्रहरी र स्थानीयको पनि बाक्लो उपस्थिति थियो ।” 

उनले हजारौँको सङ्ख्यामा मानिसहरू उपस्थित भएको अवस्थामा भीडलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । “वन्यजन्तुको आरक्षणबाट नसालु औषधी हानिएपछि एक्कासि चितुवा भड्कियो । स्थानीयले रोक्न खोज्दा स्थानीयहरूमाथि नै आक्रमण गर्‍यो । चितुवाले हिंस्रक रूप देखाउन थालेपछि स्थानीयहरू जाइलागे । हजार जना भन्दा धेरै उपस्थित भएको बेलामा कसैलाई रोक्न सक्ने अवस्था पनि थिएन । यदि त्यो चितुवा उम्किएर बस्ती पसेको भए झन् क्षति निम्त्याउन सक्थ्यो,” उनले दाबीका साथ भने । 

उक्त क्षेत्रमा हात्तीको आक्रमण बेलाबखत हुने गरेको भए पनि चितुवा गाउँमा पसेको घटना यसअघि खासै नघटेको वडाध्यक्ष रायले सुनाए  ।

स्थानीय वन्यजन्तु संरक्षणकर्मी भन्छन्ः भाइरल हुने मोहले नै चितुवा मारियो 

झापाको बुद्धशान्तिमा भएको चितुवाको बीभत्स हत्यालाई स्थानीय वन्यजन्तु संरक्षणकर्मीहरूले ‘जघन्य अपराध’ र ‘मानवीय क्रूरता’को पराकाष्ठाको संज्ञा दिएका छन् । झापास्थित मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्रकुमार खरेलले यो घटना कुनै पनि दृष्टिकोणबाट आत्मरक्षा नभई योजनाबद्ध रूपमा गरिएको हत्या भएको जिकिर गरे । खरेलका अनुसार चुरे क्षेत्रको सामुदायिक वनबाट बाटो बिराएर मकैबारीमा आइपुगेको त्यो चितुवा वयस्क नभई अल्पवयस्क थियो, जसलाई मानिसहरूले अनावश्यक घेराबन्दी गरेर उत्तेजित बनाएका थिए । 

“खेतबारीमा झुक्किएर आइपुगेको वन्यजन्तुलाई देख्ने बित्तिकै होहल्ला गर्ने र चारैतिरबाट घेरा हाल्ने काम भयो, जसले गर्दा त्यो बिचरा प्राणी हतासियो,” खरेलले भने । उनले घटना झन् बिग्रनुको मुख्य कारण पछिल्लो समय सामाजिक सञ्जालमा ‘भाइरल’ हुने गलत प्रवृत्तिलाई मानेका छन् । युट्युबर र फेसबुक प्रयोगकर्ताले भिडिओ बनाउने बहानामा चितुवालाई भाग्ने ठाउँ नै नदिई छेकेपछि मात्र उसले आफ्नो ज्यान जोगाउन मानिसमाथि झम्टिएको उनको तर्क छ । त्यस्तै मेचीनगर जस्ता टाढाका स्थानबाट समेत जनप्रतिनिधि भाइरल हुनकै लागि त्यहाँ पुग्नुले भीड नियन्त्रण हुनुको साटो झन् भद्रगोल बनेको खरेलले सुनाए ।

घटनाको अनुसन्धान गर्दै डिभिजन वन कार्यालय

उक्त घटनाको बारेमा डिभिजन वन कार्यालय झापाले अनुसन्धान अघि बढाइएको बुझिएको छ । कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत अमृतबहादुर लिम्बूले घटनाका विषयमा अनुसन्धान गर्नका लागि कार्यालयले अनुसन्धान अधिकारी तोकेको जानकारी दिए । उनले भने,  “अब अनुसन्धान अधिकारीले आफ्नो आवश्यकता अनुसार छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुहुन्छ ।”  चितुवालाई डार्ट लागिसकेको थियो/थिएन वा मासु काटेर लगिएको विषयमा भने अनुसन्धानपछि आउने रिपोर्टबाट थाहा हुने उनले बताए । 

हाल भने उक्त चितुवाको दाहसंस्कार सम्पन्न भइसकेको छ । सोमबार (९ चैत) उक्त चितुवाको स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा अन्तिम दाहसंस्कार गरिएको हो । उनका अनुसार चितुवाको दाहसंस्कार अघि पशु चिकित्सक सहितका अधिकारीले चितुवाको अवस्थितिका बारेमा प्रमाण सङ्कलन गरेका छन् । लिम्बुले भने, “यदि उक्त घटनामा कोही दोषी देखिएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुन्छ ।” 

कोशीटप्पु वन्यजन्तु आरक्षबाट उद्दार टोली किन ढिला आयो भन्ने प्रश्नमा उनले भने, “यो समस्या देखिनुको कारण जनशक्तिको कमी पनि हो । हामीले उहाँहरूलाई मौखिक रूपमा खबर गरेको थियौँ । चितुवा देखिनु यहाँको लागि नौलो घटना हो । सुनसरीबाट यहाँसम्म आइपुग्न लगभग चार घण्टा टाढा पर्छ । तर उहाँहरू अन्य फिल्डमा खटिनु भएको रहेछ । फिल्डबाट अफिस पुगेर यहाँ आइपुग्न ढिलो भएको रहेछ ।”

पछिल्लो अध्यावधिक: चैत ११, २०८२ १८:३०