close

जापान पठाइदिन्छु भन्दै नक्कली फेसबुक आईडी बनाई ९० लाख ठगी गर्ने महिला पक्राउ

टेकपाना टेकपाना

चैत १९, २०८२ १८:३७

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली अकाउन्ट खोली जापान पठाइदिने प्रलोभनमा पारेर ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बस्ने ५० वर्षीया वन कुमारी गुरुङ रहेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार गुरुङले फेसबुकमा नक्कली खाता खोलेर विभिन्न व्यक्तिहरूसँग सम्पर्क बढाउने गरेकी थिइन् । उनले पीडितहरूलाई आकर्षक तलब र सुविधामा जापान पठाइदिने भन्दै च्याटमार्फत विश्वासमा पारेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले चार जना पीडितहरूलाई व्यक्तिगत कागजातहरू समेत पठाउन लगाई विभिन्न बैंक खाताहरूमा पटक-पटक गरी कुल ९० लाख रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेकी थिइन् ।

ठगी सम्बन्धी उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी गुरुङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १८:४८