close

फिफा विश्वकपमा खेलाडी र समर्थकमाथि हुनसक्ने अनलाइन ठगी रोक्न के गर्दैछ मेटा ?

टेकपाना टेकपाना

जेठ १६, २०८३ १५:२

फिफा विश्वकपमा खेलाडी र समर्थकमाथि हुनसक्ने अनलाइन ठगी रोक्न के गर्दैछ मेटा ?

काठमाडौँ । मेटाले फिफा विश्वकप २०२६ का क्रममा दर्शक र खेलाडीलाई अनलाइन ठगीबाट जोगाउन नयाँ सुरक्षा उपायको घोषणा गरेको छ । बिहीबार एक ब्लग लेख्दै कम्पनीले विभिन्न किसिमका दुर्व्यवहार र अनलाइन ठगीका घटनाबाट जोगाउने सुरक्षा उपायबारे जानकारी दिएको हो ।

यस सुरक्षा नीतिअन्तर्गत मेटाले फेसबुकमा प्रयोगकर्ताले विश्वकपको टिकट खोजी गर्दा वा खेलसँग सम्बन्धित ग्रुपमा प्रवेश गर्दा विशेष ‘पप-अप अलर्ट’ देखाउने व्यवस्था गरेको छ । यो अलर्टले प्रयोगकर्तालाई टिकट खरिद गर्नुअघि त्यसको आधिकारिकता प्रमाणित गर्ने तरिका सिकाउनुका साथै शङ्कास्पद सामग्री वा अकाउन्ट फेला परेमा सोझै रिपोर्ट गर्न सघाउँछ ।

विश्वकपलाई लक्षित गरी हुनसक्ने डिजिटल ठगी नियन्त्रण गर्न मेटाले विशेष टोलीसमेत परिचालन गरेको जनाएको छ । कम्पनीका अनुसार यस टोलीले विशेषगरी नक्कली टिकट बिक्री, भ्रामक अध्यागमन प्रक्रियाका अफर र अवैध आवास बुकिङका विज्ञापनमाथि निगरानी राख्नेछ । 

आफ्ना प्लेटफर्मभन्दा बाहिर रहेका अनलाइन सुरक्षा चुनौतीलाई सम्बोधन गर्न कम्पनीले ‘ग्लोबल सिग्नल एक्सचेन्ज’ (जीएसई) र आफ्नै ‘फ्रड इन्टेलिजेन्स रेसिप्रोकल एक्सचेन्ज’ (फायर) जस्ता सुरक्षा सञ्जालसँग समन्वय गरिरहेको जनाएको छ ।

यसअन्तर्गत मेटाले भुक्तानी सेवा प्रदायक कम्पनी भिसाको ‘स्क्यामउ डिस्रप्सन’ टिमसँग सहकार्य गरी फिफा विश्वकप २०२६ को आधिकारिक ब्रान्डिङ नक्कल गरेर चलाइएका फेसबुक पेज र वेबसाइटको एउटा नेटवर्कलाई निष्क्रिय गरेको छ ।

उक्त नक्कली वेबसाइटले अनलाइन जुवाका सामग्री प्रवर्द्धन गर्दै प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरण चोर्ने (फिसिङ) गरेको पाइएको थियो । यस्ता ठुला खेलकुद प्रतियोगिताका समयमा हुने अनलाइन ठगी नियन्त्रण गर्न विभिन्न क्षेत्रका सङ्घसंस्थाबीचको आपसी सहकार्य महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ ।

अनलाइन ठगी पहिचान गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन एआई मा आधारित भेरिफिकेसन-सिस्टम र प्रयोगकर्ता-मैत्री सेफ्टी टुलमा मेटाले लगानी बढाएको छ । ठगी गर्ने समूहले विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गर्ने भएकाले कम्पनीले कानुन कार्यान्वयन गर्ने निकायसँग समेत सहकार्य गर्ने भएको छ । यो सुरक्षा अभियान विश्वकप प्रतियोगिता सुरु हुनुअगाडि, खेल अवधिभर र खेल सम्पन्न भइसकेपछि पनि निरन्तर जारी रहने मेटाले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १५:४४