close

क्रिप्टोकरेन्सी अवैध कारोबारको आरोपमा चितवनमा एक युवक पक्राउ

टेकपाना टेकपाना

जेठ १८, २०८३ १८:१६

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडाै । अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा स्थायी घर भई हाल चितवन बस्दै आएका २९ वर्षीय पप्पुकुमार यादव रहेका छन् ।

बाइनान्स, बाइबिटजस्ता मोबाइल एपमार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवका अनुसार आरोपीको ठेगानामा रितपूर्वक खानतलासी गर्दा १७ थान स्मार्टफोन र तीन थान बारफोन बरामद गरिएको छ ।

"अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ती फोनहरू फेला परेका हुन्," डीएसपी यादवले टेकपानासँग भने, "प्रारम्भिक अनुसन्धानमा मोबाइल एपकै माध्यमबाट क्रिप्टो सञ्चय र कारोबार गर्ने गरिएको देखिएको छ । बरामद भएका केही मोबाइलको पासवर्ड अझै खुल्न सकेको छैन । प्रविधिको प्रयोग गरी ती फोन अनलक गरेर थप अनुसन्धान अघि बढाउने प्रयास भइरहेको छ ।"

बरामद गरिएका सबै फोन यादवकै भएको प्रहरीको दाबी छ । उनले कुन प्रक्रियाबाट क्रिप्टोकरेन्सी सञ्चय गरेका थिए । बरामद फोनहरू कुन प्रयोजनमा प्रयोग हुन्थे र उनको शैक्षिक पृष्ठभूमि कस्तो छ भन्नेबारे विस्तृत अनुसन्धानपछि मात्र जानकारी दिने प्रहरीले बताएको छ ।

पक्राउ परेका यादवमाथि चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १८:१६