close

विदेशी मोडलको नाममा नक्कली फेसबुक आईडी खोली पैसा असुल्ने १५ बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

होटल नै भाडामा लिएर चलाउँथे धन्दा

टेकपाना टेकपाना

जेठ १८, २०८३ २३:४३

विदेशी मोडलको नाममा नक्कली फेसबुक आईडी खोली पैसा असुल्ने १५ बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा बसेर विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक अकाउन्ट बनाई बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई गत शुक्रबार ठमेल नजिकै पक्नाजोलस्थित होटल एसीई (Hotel ACE) बाट पक्राउ गरेको हो । भिजिट भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूले होटलका चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिई संगठित रूपमा अवैध गतिविधि सञ्चालन गरेको भेटिएको प्रहरीको दाबी छ । उनीहरूले विदेशी मोडल र युवतीहरूको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर बंगलादेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाउने र कुराकानीका माध्यमबाट ब्ल्याकमेलिङ गरी पैसा माग्ने गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम र २२ वर्षकै अपोन चन्दा साहासहित १५ जना बंगलादेशी नागरिक छन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको छ । उनीहरूमाथि अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ ०:४