मेटाले ल्यायो टिनएजर बालबालिकाको फेसबुक, इन्स्टाग्राम र मेसेन्जरको निगरानी गर्ने नयाँ तरिका
कसरी प्रयोग गर्ने ?
जेठ ४, २०८३ १४:५२
काठमाडौँ । मेटाले आफ्ना प्रमुख प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा किशोरकिशोरीहरूको सुरक्षा र अभिभावकीय निगरानीलाई थप मजबुत बनाउन नयाँ सुविधाहरूको प्याकेज घोषणा गरेको छ । विशेषगरी अभिभावकहरूलाई आफ्ना बालबालिकाको डिजिटल रुचि र गतिविधिबारे थप जानकारी प्रदान गर्ने उद्देश्यका साथ नयाँ अपडेट ल्याइएको हो ।
मेटाले आफ्ना सबै एपका लागि अभिभावकीय नियन्त्रण सुविधालाई 'फ्यामिली सेन्टर' नामक एउटै केन्द्रीय हबमा एकीकृत गरेको छ । अब अभिभावकले छुट्टाछुट्टै एपमा जानुको सट्टा एकै ठाउँबाट इन्स्टाग्राम, फेसबुक र मेसेन्जरमा आफ्ना टिनएजर छोराछोरीको गतिविधि निरीक्षण गर्न सक्नेछन् । अभिभावकले एउटै इन्भिटेसन पठाएर सबै प्लेटफर्महरूमा निगरानी गर्न सक्ने सुविधा पनि थपिएको छ ।
नयाँ फिचरअन्तर्गत इन्स्टाग्रामले अभिभावकहरूलाई उनीहरूका टिनएजर बालबालिकाले कुन-कुन सामान्य विषयहरू (जस्तै: बास्केटबल, फेसन, फोटोग्राफी वा म्युजिकल) मा रुचि देखाइरहेका छन् भन्ने जानकारी दिनेछ । यदि कुनै टिनएजरले आफ्नो एल्गोरिदममा नयाँ रुचि थपेमा अभिभावकलाई त्यसबारे नोटिफिकेसन पठाइनेछ ।
यसको उद्देश्य अभिभावकहरूलाई आफ्ना बालबालिकाले कस्तो सामग्री हेरिरहेका छन् भन्ने बुझ्न र उनीहरूसँग अर्थपूर्ण कुराकानी गर्न मद्दत पुर्याउनु हो । यद्यपि गोपनीयता कायम राख्न अभिभावकले केवल सामान्य विषयहरू मात्र देख्न पाउनेछन् । व्यक्तिगत कुराकानी वा विशिष्ट सामग्रीहरू हेर्न पाउने छैनन् ।
मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई प्लेटफर्मबाट हटाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने भएको छ । एआईले प्रयोगकर्ताको उचाइ र हड्डीको बनावट जस्ता भिजुअल क्लु (Visual Clues) का साथै प्रोफाइल बायो, क्याप्सन, कमेन्ट र जन्मदिनका पोस्टहरू विश्लेषण गरेर उमेरको अनुमान गर्नेछ । १३ वर्ष मुनिका पहिचान गरिएका अकाउन्टहरू निष्क्रिय गरिनेछ । यदि कोही गलत रूपमा रिपोर्ट गरिएमा उनीहरूले उमेर प्रमाणीकरण प्रक्रियामार्फत आफ्नो अकाउन्ट फिर्ता पाउन सक्नेछन् ।
यी सुविधा हाल अमेरिका र अन्य केही देशमा विस्तार गरिएको छ । अमेरिकामा मनिटरिङ टुल प्रयोग गर्ने टिनएजरहरूको सङ्ख्या गत वर्षको तुलनामा दोब्बर भएको मेटाले जनाएको छ । अस्ट्रेलिया जस्ता देशहरूमा, जहाँ १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ, यो सुविधा १६ र १७ वर्षका प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।
मनिटरिङ सक्रिय हुन टिनएजरले अभिभावकको इन्भिइटेसन स्वीकार गर्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरूलाई गोपनीयता कायम राख्ने विकल्प पनि उपलब्ध रहन्छ ।
आउँदा महिनाहरूमा मेटाले अभिभावकहरूका लागि 'एग्रिगेटेड टाइम स्पेन्ट' (बालबालिकाले सबै एपमा बिताएको कुल समय) हेर्न मिल्ने सुविधा पनि थप्ने योजना बनाएको छ । किशोरकिशोरीका अकाउन्टहरूमा पहिले नै 'टिन अकाउन्ट' सेटिङहरू लागु गरिएका छन् ।
जसले स्वचालित रूपमा गोपनीयतासम्बन्धी सेटिङ मिलाउने र अनुपयुक्त सामग्रीहरू फिल्टर गर्ने गर्दछ । मेटाका यी प्रयासहरू सकारात्मक भए तापनि यसको सफलता अभिभावकहरूको सक्रियता र बालबालिकाको स्वीकारोक्तिमा निर्भर गर्नेछ । डिजिटल साक्षरता भएका अभिभावकहरूले यी उपकरणहरूको प्रभावकारी प्रयोग गरी अनलाइन जोखिमहरू कम गर्न सक्ने बताइएको छ ।
कसरी प्रयोग गर्ने ?
यी सुविधाहरू प्रयोग गर्न अभिभावकहरूले सबैभन्दा पहिला familycenter.meta.com/supervision मा जानुपर्ने हुन्छ । यो मेटाको फ्यामिली सेन्टर हो, जहाँबाट सबै सुरक्षा सेटिङहरू व्यवस्थापन गर्न सकिन्छ ।
इन्स्टाग्रामका लागि यहाँ क्लिक गरेर अनि फेसबुक तथा मेसेन्जरका लागि यहाँ क्लिक गरेर आफ्ना किशोरकिशोरीलाई इन्भाइट गर्न सक्नु हुनेछ । त्यसपछि अभिभावकले आफ्ना किशोरकिशोरीलाई मनिटरिङका लागि एउटा इन्भिटेसन (निमन्त्रणा) पठाउन सक्छन् ।
यो एउटा इन्भिटेसनले इन्स्टाग्राम, फेसबुक र मेसेन्जर जस्ता सबै एपहरूमा मनिटरिङ सक्रिय गराउँछ । अभिभावकले छुट्टाछुट्टै एपमा गएर सेटिङ मिलाइरहनु पर्दैन ।
अभिभावकले पठाएको इन्भिटेसन किशोरकिशोरीले स्वीकार गरेपछि मात्र निगरानी सुरु हुन्छ । उनीहरूसँग यस्तो इन्भिटेसन अस्वीकार गर्ने विकल्प पनि हुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १५:५५
