close

अब मोबाइल एपबाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने, यस्तो छ प्रकिया

टेकपाना टेकपाना

जेठ ५, २०८३ १६:११

अब मोबाइल एपबाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने, यस्तो छ प्रकिया

काठमाडौँ । अब कुनै पनि घटना वा अपराधको उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनु नपर्ने भएको छ । नेपाल प्रहरीले आफ्नो मोबाइल एपमार्फत घरैमा बसेर उजुरी दिन सकिने सुविधा सुरु गरेसँगै सहजता हुने भएको हो ।

मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा सुरु गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की*ले डिजिटल प्रविधिको प्रयोगबाट नागरिकलाई छिटो र छरितो सेवा दिने लक्ष्य राखिएको बताए । उनका अनुसार अब नागरिकले घटनाको विवरण उल्लेख गरी मोबाइलबाटै अनलाइन उजुरी दर्ता गर्न सक्नेछन् ।

उजुरीकर्ताले आफू रहेको स्थान वा घटना भएको सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयलाई सम्बोधन गरी उजुरी पठाउन सक्ने व्यवस्था मिलाइएको छ । ​“नागरिकले प्रहरी कार्यालयसम्म पुगेर उजुरी दिनुपर्ने सास्ती अब हटेको छ,” नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक अबि नारायण काफ्ले टेकपानासँग भने, “यसबाट प्रहरीको सेवा थप पारदर्शी र नागरिकमैत्री हुने विश्वास छ ।”

कसरी दिने उजुरी ?

यो सेवा प्रयोग गर्न प्रयोगकर्ताले सर्वप्रथम 'Nepal Police' को आधिकारिक मोबाइल एप (एन्ड्रोइड/आईओएस डाउनलोड गरी साइन-अप गर्नुपर्ने हुन्छ ।

एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन’ (Register Complaint) सेवामा गएर विभिन्न शीर्षकहरूमा उजुरी दिन सकिने व्यवस्था छ । एपको मुख्य विशेषता भनेको उजुरीसँगै घटनाको प्रमाणका रूपमा फोटो, अडिओ र भिडिओसमेत अपलोड गर्न सकिने सुविधा हो ।

 

“एपमा घटना भएको लोकेसन राख्नेदेखि प्रमाणका रूपमा अडिओ-भिडिओ पठाउने सुविधा छ । उजुरी सबमिट गरिसकेपछि आफ्नो उजुरीको अवस्था एपबाटै नियमित अपडेट हेर्न सकिनेछ,” प्रवक्ता काफ्लेले भने ।

एपमा दुर्घटना, साइबर अपराध, चोरी, घरेलु हिंसा, लागूऔषध, आर्थिक अपराध लगायतका शीर्षकहरू छुट्याइएको छ । सम्बन्धित विभाग-ब्युरोले उजुरीमाथि तत्काल कारबाही अगाडि बढाउन अपराधका शीर्षकहरू छुट्याइएको काफ्लेले बताए ।

*समाचारमा प्रहरी महानिरीक्षकको नाम दानबहादुर कार्की हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ १६:३६