१९ हजार मूल्यमा ७००० एमएएच ब्याट्री भएको मोटोरोला स्मार्टफोन नेपाली बजारमा, केके छन् फिचर ?
जेठ ५, २०८३ २२:२१
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइल्सले नेपाली बजारमा मोटोरोलाका दुई नयाँ स्मार्टफोन ‘मोटो जी०६’ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ । ‘एन्ट्री’ र ‘मिड-रेन्ज’ स्मार्टफोन बजारलाई लक्षित गर्दै कम्पनीले यी दुई मोडेल भित्र्याएको हो ।
मोटो जी०६ पावर (Moto G06 Power)
यो फोन विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको मोटोरोलाले जनाएको छ । यसमा ७००० एमएएचको ब्याट्री उपलब्ध छ । जसलाई एकपटक फुल चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
यस फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ । कम्पनीले ४ जीबी र्याम उपलब्ध गराए पनि ‘र्याम बुस्ट’ प्रविधिमार्फत १२ जीबीसम्म विस्तार गर्न सकिने विकल्प दिएको छ । ६.८८ इन्चको १२० हर्ज डिस्प्ले रहेको फोनमा फोटोग्राफीका लागि ५० मेगापिक्सेल क्वाड पिक्सेल क्यामेरा छ । अडिओका लागि डल्बी एटमससहितको स्टेरियो स्पिकर, कोर्निङ गोरिल्ला ग्लास थ्री र सेक्युरिटी र आईपी६४ वाटर-रिपेलेन्ट डिजाइन यसका थप विशेषता हुन् ।
भेगन लेदर फिनिसमा उपलब्ध यस मोडेलको मूल्य नेपाली बजारमा १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
मोटो जी५७ पावर

यस फोनलाई कम्पनीले हाई पर्फमेन्स र इनोभेसन सहितको स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ । यसमा स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीले विज्ञप्तपमा उल्लेख छ । ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको यस फोनमा र्याम बुस्टमार्फत कुल २४ जीबी सम्मको र्याम अनुभव लिन सकिन्छ ।
यसमा पनि ७००० एमएएचकै ब्याट्री छ, जसले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।
फोटोग्राफीका लागि यसमा ‘मोटो एआई’ द्वारा सञ्चालित ५० मेगापिक्सेल सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । ६.७२ इन्चको फुल एचडी प्लस १२० हर्ज डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकर र बास बुस्ट जस्ता फिचरले मनोरञ्जनको अनुभव सन्तुष्ट बनाउने कम्पनीको विश्वास छ । सुरक्षाका लागि यसमा मिलिटरी-ग्रेड (MIL-STD-810H) प्रमाणीकरण र गोरिल्ला ग्लास ७आई दिइएको छ ।
एन्ड्रोइड १६ सहित आउने यो फोनमा एन्ड्रोइड १७ को अपग्रेड र तीन वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध हुनेछ । भेगन लेदर डिजाइनमा उपलब्ध यो फोनको मूल्य ३७ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।
सीजी मोबाइल्सका अनुसार यी दुवै स्मार्टफोन देशभर रहेका आधिकारिक सीजी रिटेल आउटलेट तथा पार्टनर स्टोरहरूमार्फत खरिद गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ २२:३२
