अबको १ महिनामा उपलब्ध हुँदै एन्ड्रोइड १७ को स्टेबल भर्सन, तपाईँको फोनले पाउँछ कि पाउँदैन ?
योग्य फोनहरूको सूचीसहित
जेठ ९, २०८३ १४:१६
काठमाडौँ । एन्ड्रोइड १७ को स्टेबल बिल्ड (Stable Build) भर्सन आगामी जुन महिनामा सार्वजनिक हुने तयारीमा छ । हरेक नयाँ एन्ड्रोइड संस्करण सार्वजनिक हुँदा प्रयोगकर्ताको मनमा उब्जने मुख्य प्रश्न भनेकै 'के मेरो फोनमा यो अपडेट आउँछ त ?' भन्ने हो ।
यद्यपि धेरै स्मार्टफोन निर्माता कम्पनीहरूले अहिले सफ्टवेयर अपडेटमा राम्रो काम गरिरहेका छन्, तर अझै पनि बजेट र मिड-रेन्ज फोनहरूमा अपडेटको निश्चिततालाई लिएर केही अन्योलता कायमै छ ।
सामान्यतया यदि तपाईँको फोन सन् २०२४ वा त्यसपछि सार्वजनिक भएको हो भने त्यसमा एन्ड्रोइड १७ आउने प्रबल सम्भावना रहन्छ । तर यसमा साओमीको रणनीति अलि फरक देखिन्छ ।
उदाहरणका लागि रेड्मी नोट १३ प्रो प्लस सन् २०२४ को जनवरीमा सार्वजनिक भए पनि यसमा एन्ड्रोइड १३ मात्र दिइएको थियो, जसका कारण यसले एन्ड्रोइड १७ पाउने छैन । साओमीले आफ्ना पछिल्ला रेड्मी नोट १४ र १५ सिरिजमा पनि अपडेटबाट बच्न यस्तै रणनीति अपनाएको छ ।
आज हामी यहाँ त्यस्ता विभिन्न ब्रान्डका फोनहरूको सूची तयार पारेका छौँ, जसले एन्ड्रोइड १७ पाउने अपेक्षा गरिएको छ .
गुगल
गुगलका पिक्सेल फोनहरूले सबैभन्दा पहिले अपडेट प्राप्त गर्छन् । एन्ड्रोइड १७ पिक्सेल ६ र त्यसपछिका २० वटा मोडेलहरूमा उपलब्ध हुनेछ ।
-पिक्सेल ६, ६ प्रो र ६ए
-पिक्सेल ७, ७ प्रो र ७ए
-पिक्सेल फोल्ड
-पिक्सेल ८, ८ प्रो र ८ए
-पिक्सेल ९, ९ प्रो, ९ प्रो एक्सएल, ९ प्रो फोल्ड र ९ए
-पिक्सेल १०, १० प्रो, १० प्रो एक्सएल, १० प्रो फोल्ड र १०ए
सामसङ
सामसङले आफ्ना फ्ल्यागशिप फोनहरूलाई ७ वर्ष र मिड-रेन्ज फोनहरूलाई ६ वर्षको अपडेट दिने ग्यारेन्टी गरेको छ ।
ग्याजेक्सी एस सिरिजः एस-२३ देखि एस-२६ सम्मका सबै मोडेलहरू (प्लस, अल्ट्रा, एफई र एज सहित) ।
ग्यालेक्सी जेड सिरिज: जेड फोल्ड ५ र फ्लिप ५ देखि नयाँ जेड फोल्ड ८ र फ्लिप ८ सम्म, साथै जेड ट्राइफोल्ड ।
ग्यालेक्सी ए सिरिजः ए-२४ देखि ए-५७ सम्मका विभिन्न मोडेलहरू (ए-१५, ए-२५, ए-३५, ए-५५ आदि)।
ग्यालेक्सी एम र एफ सिरिजः एम-१५, एम-३५, एम-५५, एम-०७, एम-१६, एम-१७ तथा तथा एफ-०६, एफ-१५, एफ-३५, एफ-५६ जस्ता धेरै मोडेलहरू ।
भिभो र आईकू
भिभोका एक्स-३०० मोडेलहरूले ५ वर्ष र भी-७० जस्ता मिड-रेन्ज फोनहरूले ४ वर्षको अपडेट पाउँछन् ।
भिभो एक्स सिरिज: एक्स-१०० देखि एक्स-३०० सम्मका सबै प्रो र अल्ट्रा मोडेलहरू ।
भिभो भी सिरिज: भी-४० देखि भी-७० सम्मका मोडेलहरू (लाइट र प्रो सहित)।
भिभो टी र वाई सिरिज: टी-४ सिरिज र वाई-०५, वाई-११, वाई-३००, वाई-४०० जस्ता विभिन्न मोडेलहरू ।
आईकू: आईकू १२ प्रो, १३, १५ सिरिज र जेड-१०, नियो ९ प्रो जस्ता फोनहरू ।
ओप्पो
ओप्पोले आफ्ना हाइ-इन्ड फोनहरू र रेनो १५ सिरिजका लागि ५ वर्षको अपडेट सुनिश्चित गरेको छ ।
फाइन्ड एक्स सिरिज: फाइन्ड एक्स-७ देखि फाइन्ड एक्स-९ अल्ट्रासम्म ।
फाइन्ड एन सिरिज: फाइन्ड एन-५ र एन-६ ।
रेनो सिरिज: रेनो ११ देखि रेनो १५ प्रोसम्म ।
एफ र ए/के सिरिज: एफ-१५ प्रो, एफ-२७ देखि एफ-३३ सम्म र ए-५, ए-६, के-१३, के-१५ मोडेलहरू ।
मोटोरोला
मोटोरोलाको अपडेट नीतिमा सुधार भए पनि यो अझै अन्य ब्रान्डभन्दा पछि छ । रेजर फोल्डलाई ७ वर्षको अपडेट दिने भनिएको छ; जब कि अन्य रेजर मोडेललाई ३ वर्ष मात्र।
फ्ल्यागशिप सिरिज: रेजर २०२४ देखि २०२६ सम्मका मोडेलहरू, थिङ्कफोन र सिग्नेचर ।
एज सिरिज: एज २०२४ देखि एज ७० प्रोसम्म ।
मोटो जी सिरिज: सन् २०२५ का नयाँ मोडेलहरू र जी-४७, जी-८७, जी-५७ जस्ता केही निश्चित फोनहरू (यस सिरिजमा अपडेटको सम्भावना कम रहन्छ) ।
नथिङ
बजेट र मिड-रेन्जमा नथिङका फोनहरू राम्रो मानिन्छन् । यसले कम्तीमा ३ वर्षको अपडेट दिने गर्दछ ।
नथिङ फोन २, २-ए, २-ए प्लस
नथिङ फोन ३, ३-ए, ३-ए प्रो, ३-ए लाइट
नथिङ फोन ४-ए, ४-१ प्रो
सीएमएफ फोन २ प्रो
वनप्लस
पछिल्लो ३ वर्षमा सार्वजनिक भएका प्रायः सबै वनप्लस फोनहरूले एन्ड्रोइड १७ पाउनेछन् ।
वनप्लस ११, ११-आर, १२, १२-आर
वनप्लस १३ सिरिज (१३, १३-आर, १३-सी, १३-टी), वनप्लस १५ सिरिज
वनप्लस ओपन (फोल्डेबल)
वनप्लस नोर्ड ४, ५, ६ र सीई-४, सीई-५, सीई-६ सिरिज ।
साओमी
साओमी अपडेटको मामिलामा सबैभन्दा ढिलो र विवादास्पद मानिन्छ । तैपनि निम्न फोनहरूले (ढिलै भए पनि) अपडेट पाउनेछन् ।
साओमी सिरिज: १३, १४, १५ र १७ सिरिजका प्रो र अल्ट्रा मोडेलहरू ।
फोल्डेबल: एमआईएक्स फोल्ड ३, ४ र एमआईएक्स फ्लिप १ र २ ।
रेड्मी नोट सिरिज: रेड्मी नोट १४ र १५ सिरिजका विभिन्न मोडेलहरू ।
रेड्मी सिरिज: रेड्मी १५ र १५-सी सिरिज ।
एन्ड्रोइड १७ को विकासक्रमसँगै यो सूचीमा थप परिवर्तन र अपडेटहरू हुन सक्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ १४:१६
