६५०० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभोका दुई नयाँ फोन नेपाली बजारमा
जेठ ७, २०८३ १५:२२
काठमाडौँ । भिभोले नेपाली बजारमा ‘वाई’ सिरिजका दुई नयाँ स्मार्टफोन मोडेल भित्र्याएको छ । कम्पनीले बजेट सेगमेन्ट अन्तर्गत ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री भएका वाई ११ डी (Y11d) र वाई २१ फाईभजी सार्वजनिक गरेको हो ।
दुवै फोनमा २९-डाइनामिक सेक्युरिटी प्रोटेक्सनसहितको ४४ वाट 'फ्ल्यासचार्ज' प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालका अनुसार वाई ११ डी दैनिक कार्यसम्पादन खोज्नेहरूका लागि लक्षित छ भने वाई २१ फाईभजीले मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसरमार्फत सुलभ मूल्यमा फाइभजी प्रविधि नेपाली उपभोक्ताको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ ।
धुलो र पानी प्रतिरोधका लागि फोनमा आईपी ६५ रेटिङ र खस्दा हुने क्षतिबाट जोगाउन ‘प्रोफेसनल एन्टी-ड्रप डिजाइन’ प्रयोग गरिएको छ ।
यी फोनमा १२० हर्जको स्मुथ डिस्प्ले, १२०० निट्सको पीक ब्राइटनेस, २०० प्रतिशत भोल्युम बुस्ट र मल्टिटास्किङका लागि ६ जीबी + ६ जीबीसम्मको एक्सटेन्डेड र्यामको सुविधा छ ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको अल्ट्रा क्लियर मुख्य क्यामेरा उपलब्ध छ ।
भिभो वाई २१ फाइभजी (६/१२८ जीबी) को मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ‘वाई ११ डी’ को ४/१२८ जीबी भेरियन्टलाई २१ हजार ४९९ रुपैयाँ र ६/१२८ जीबी भेरियन्टलाई २६ हजार ९९९ रुपैयाँमा भिभो रिटेल स्टोर र दराज अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १५:२२
