इलेभनल्याब्ससँगको सहकार्यमा लेखकहरूलाई अडियोबुक तयार पार्ने एआई टुल उपलब्ध गराउँदै स्पोटिफाई
जेठ ८, २०८३ ८:५२
काठमाडौँ । म्युजिक तथा अडियो बुक प्लेटफर्म स्पोटिफाईले लेखकहरूका लागि एआईमा आधारित अडियोबुक तयार पार्ने नयाँ टुल सार्वजनिक गरेको छ । यो नयाँ सुविधा इलेभनल्याब्सको प्रविधिमा आधारित छ । यसलाई स्पोटिफाई फर अथर्स (Spotify for Authors) प्लेटफर्म अन्तर्गत समावेश गरिएको छ ।
कम्पनीले आफ्नो इन्भेस्टर डे कार्यक्रम मार्फत जानकारी दिए अनुसार यो फिचर आगामी जुन महिनादेखि बेटा भर्सनमा उपलब्ध हुनेछ । सुरुमा यो सुविधा आमन्त्रणको आधारमा (invite-only) मात्र उपलब्ध हुनेछ र प्रारम्भिक चरणमा यसले अङ्ग्रेजी भाषालाई मात्र सपोर्ट गर्नेछ ।
यस एआई उपकरणको मुख्य विशेषता भनेको लेखकहरू कुनै विशेष सम्झौतामा बाँधिनु पर्ने छैन । यसको अर्थ लेखकहरूले स्पोटिफाईको एआई प्रयोग गरेर तयार पारेका अडियोबुकहरू अन्य कुनै पनि प्लेटफर्ममा प्रकाशन गर्न स्वतन्त्र हुनेछन् ।
स्पोटिफाई र इलेभनल्याब्सबिचको यो पहिलो सहकार्य भने होइन । यसअघि पनि लेखकहरूले इलेभनल्याब्सको प्लेटफर्ममा बनाएका अडियोबुकहरू स्पोटिफाईमा अपलोड गर्न पाउने व्यवस्था थियो । स्पोटिफाईले यसअघि गुगल प्ले बुक्ससँग पनि डिजिटल न्यारेसनका लागि साझेदारी गरेको थियो ।
तर इलेभनल्याब्सको पछिल्ला भोइस मोडेलहरू थप भावपूर्ण र मानवीय सुनिने भएकाले कम्पनीले यसलाई रोजेको हो । स्पोटिफाईले आफ्नो स्पोटिफाई फर अथर्स प्लेटफर्मलाई थप १० भाषाहरूमा विस्तार गर्दैछ । जसमा फ्रेन्च, क्यानेडियन फ्रेन्च, जर्मन, डच, ल्याटिन अमेरिकी स्पेनिश, स्विडिस, फिनिश, आइसल्यान्डिक, डेनिस र नर्वेली भाषाहरू समावेश छन् ।
अडियोबुकको क्षेत्रमा स्पोटिफाईको उपस्थिति बलियो बन्दै गएको छ । हालसम्म १० लाखभन्दा बढी प्रयोगकर्ताले अडियोबुक+ को सदस्यता लिइसकेका छन् । यो प्लेटफर्म वार्षिक १०० मिलियन डलर आम्दानी सिर्जना गर्ने दिशामा रहेको छ ।
यस वर्ष कम्पनीले अडियोबुक+ योजनामा सुन्ने समयको सीमा बढाउने र भविष्यमा विद्यार्थी तथा परिवारका लागि नयाँ विकल्पहरू थप्ने योजना पनि बनाएको छ । स्पोटिफाईको क्याटलगमा हाल ७ लाखभन्दा बढी अडियोबुक शीर्षकहरू उपलब्ध छन् ।
कम्पनीले प्रयोगकर्ताहरूका लागि अडियोबुक खोज्न सजिलो होस् भनेर प्राकृतिक भाषा प्रयोग गरी प्रश्न सोध्न सकिने नयाँ तरिका पनि ल्याएको छ । साथै यसै समर सिजनदेखि प्रयोगकर्ताहरूले प्रम्प्टका आधारमा म्युजिक र पडकास्ट जस्तै अडियोबुकको पनि प्लेलिस्ट बनाउन सक्नेछन् ।
स्पोटिफाईका अनुसार विगतका केही वर्षदेखि अडियोबुकमा विशेष ध्यान केन्द्रित गरेकै कारण सुन्ने समयमा वार्षिक ६० प्रतिशतले वृद्धि भएको छ । उल्लेखनीय कुरा के छ भने स्पोटिफाईमा अडियोबुक सुन्ने आधाभन्दा बढी श्रोताहरू गत वर्ष मात्र यस प्लेटफर्ममा जोडिएका हुन् । यसका साथै कम्पनीले अमेरिका र बेलायतमा लेखकहरूका लागि भौतिक पुस्तक बिक्री गर्ने कार्यक्रम पनि सुरु गरिसकेको छ
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १२:३०
