close

यी प्रयोगकर्तालाई निःशुल्क अडियोबुक उपलब्ध गराउँदै स्पोटिफाई

टेकपाना टेकपाना

भदौ २३, २०८० १७:५

यी प्रयोगकर्तालाई निःशुल्क अडियोबुक उपलब्ध गराउँदै स्पोटिफाई

काठमाडौं । म्युजिक प्लेटफर्मको रूपमा परिचित स्पोटिफाईले आफ्ना सशुल्क ग्राहकहरूका लागि नि:शुल्क अडियोबुक उपलब्ध गराउने भएको छ । विभिन्न अमेरिकी प्रकाशकहरूसँगको सहकार्यमा कम्पनीले पहिले तिरेकै शुल्कमा अडियोबुक उपलब्ध गराउने भएकाे हाे ।

यससँगै विज्ञापन र अतिरिक्त शुल्क बिना प्रयोगकर्ताले २० घण्टासम्म लामो अडियोबुक सुन्न पाउने भएका छन् । यसका लागि कम्पनीले सुरुमा अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका अङ्ग्रेजी भाषी देशहरूका प्रयोगकर्ताका लागि अडियोबुक उपलब्ध गराउने छ ।

अडियोबुकमा साहित्यका विभिन्न विधाहरू समेटिने समेत उल्लेख छ । सबै प्रकारका अडियो सामग्री एकै ठाउँमा उपलब्ध गराउन कम्पनीले यस्ताे कदम चालेकाे बुझिएको छ। हाल कम्पनीले यस परियोजनाको परीक्षण गरिरहेको छ ।

यदि परीक्षण सफल भएर परियोजना अघि बढे कम्पनीले हालै बढाएको शुल्क वृद्धिको प्रभावलाई कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । गत जुलाईमा कम्पनीले सबै प्रिमियम योजनाहरूको शुल्क वृद्धि गरेको थियो । जसमा प्रति महिना ९.९९ डलर रहेको स्पोटिफाईलाई १०.९९ डलर पुर्‍याइएको थियो ।

त्यस्तै १२.९९ डलर भएको प्रिमियम डु‌ओ १४.९९ डलर र प्रिमियम फ्यामिली १५.९९ डलरबाट १६.९९ पुर्‍याइएको थियो । त्यस्तै प्रिमियम स्टुटेन्ड समेत ४.९९ बाट ५.९९ डलर पुर्‍याइएको थियो । यद्यपि कम्पनीले सन् २०२२ देखि अडियोबुक बिक्री गर्न सुरु गरेको थियो ।

अहिले कम्पनीले तीन लाख ५० हजार बढी अडियोबुक बिक्रीका लागि राखेको छ । जुन वेबसाइटबाट मात्र किन्न सकिन्छ । त्यस्तै स्पोटिफाईको यो कदमले अमेजनको अडिबल (Audible) लाई पनि चुनौती दिन सक्ने जनाइएको छ ।

कसैले अडिबलबाट अडियोबुक बिक्री गरे अमेजनले ३० प्रतिशत कमिसन स्वरुप लिने गरेको छ । तर अडियोबुकको उद्योगमा अडिबल निकै अगाडि छ ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८० १७:५