गुगल सर्चमा एआई क्रान्ति, अब रुचि अनुसारका विषयमा अपडेट रहन आफ्नै एआई एजेन्ट बनाउन सकिने
जेठ ८, २०८३ १२:०
काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले सर्च प्रणालीमा महत्त्वपूर्ण एजेन्टिक क्षमता विकास गरेको घोषणा गरेको छ । यससँगै अब प्रयोगकर्ताहरूले आफ्नो रुचिका विषयहरूमा सधैँ अपडेटेड रहनका लागि आफ्नै व्यक्तिगत एआई एजेन्ट बनाउन, कस्टमाइज गर्न र व्यवस्थापन गर्न सक्नेछन् ।
यो घोषणा गुगलको एजेन्टिक एआई प्रणालीमा एक महत्त्वपूर्ण कदम हो । जसले प्रयोगकर्ताले सोधेका प्रश्नको उत्तर मात्र दिने नभई आफ्नै पहलमा कामहरूमा सहयोग गर्नेछ ।
परम्परागत सर्चभन्दा भिन्न र २४/७ सक्रिय
परम्परागत सर्च टुलहरूले प्रयोगकर्ताले सोधेको बेला मात्र जवाफ दिने गरेका छन् । तर यो नयाँ एआई एजेन्टलाई पृष्ठभूमिमा बसेर चौबिसै घण्टा (२४/७) सक्रिय रहनसक्ने गरी डिजाइन गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले एउटै जानकारीका लागि दिनहुँ बारम्बार सर्च गरिरहनु पर्दैन ।
यी एजेन्टहरूले केवल लिङ्कहरूको सूची मात्र दिँदैनन्, बरु विभिन्न स्रोतहरूबाट जानकारी सङ्कलन गरी त्यसको विश्लेषण गर्ने, कुनै कुरा किन महत्त्वपूर्ण छ भनेर बुझाउने, विभिन्न दृष्टिकोणहरूको तुलना गर्ने र उपयोगी सुझावहरू समेत प्रदान गर्नेछन् । यी एजेन्टलाई सन् २००३ मा सुरु गरिएको गुगल अलर्ट्सको एक विकसित रूपको रूपमा समेत हेरिएको छ । तर यिनीहरू सामान्य सूचना दिने मात्र भन्दा धेरै माथि उठेर काम गर्न सक्षम छन् ।
दैनिक जीवन र व्यवसायमा प्रयोग
यस्ता एजेन्टलाई विभिन्न काममा प्रयोग गर्न सकिनेछ । उदाहरणका लागि शेयर बजार पछ्याउने प्रयोगकर्ताले निश्चित कम्पनी, शेयर मूल्य वा आर्थिक ट्रेन्डका लागि छुट्टै एजेन्ट बनाउन सक्छन् ।
उक्त एजेन्टले दिनभरको बजार गतिविधि अनुगमन गर्ने, ब्रेकिङ न्युज पछ्याउने, कम्पनीका आम्दानी सम्बन्धी रिपोर्टहरूको सारांश निकाल्ने र महत्त्वपूर्ण परिवर्तन हुँदा प्रयोगकर्तालाई सचेत गराउनेछ ।
यसका साथै दैनिक जीवनका अन्य कार्यहरूमा समेत यस्ता एजेन्टलाई परिचालन गर्न सकिनेछ । जस्तै: हवाई टिकटको मूल्य ट्र्याक गर्ने, खेलकुद टिम र लाइभ कार्यक्रमहरूको निगरानी गर्ने, घरजग्गा वा रोजगारीको बजारमा आउने नयाँ ट्रेन्ड पछ्याउने, मौसम र ट्राफिक अपडेटहरूको जानकारी राख्ने आदि ।
कसरी प्रयोग गर्ने ?
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले गुगल सर्चभित्र रहेको एआई मोड खोलेर प्रम्प्ट (निर्देशन) दिनुपर्नेछ । उदाहरणका लागि "मलाई नजिकैको हलमा मालती मङ्गले फिल्मको टिकटबारे अपडेट राख ।" यति गरेपछि सान्दर्भिक जानकारी फेला पर्ने बित्तिकै गुगल एपले प्रयोगकर्तालाई पुश नोटिफिकेसन पठाउनेछ ।
प्रयोगकर्ताले आफ्नो एआई मोडको हिस्ट्रीमा गएर सक्रिय रहेका विषयहरू हेर्न, तिनीहरूलाई परिमार्जन गर्न वा बन्द गर्न सक्नेछन् ।
उपलब्धता र सर्चको नयाँ स्वरूप
यी एआई एजेन्टहरू यसै वर्षको समर सिजन (अगस्टसम्म) देखि उपलब्ध हुनेछन् । सुरुमा यो सेवा अमेरिकामा रहेका 'गुगल एआई प्रो र अल्ट्रा सब्सक्राइबरका लागि उपलब्ध गराइनेछ र पछि अन्य बजारहरूमा विस्तार गरिनेछ ।
एआई एजेन्टहरूका साथै गुगलले सर्चको इन्टरफेसमा पनि २५ वर्ष पछिको सबैभन्दा ठुलो परिवर्तन गरेको छ । नयाँ इन्टेलिजेन्ट सर्च बक्सलाई लामो र कुराकानी जस्तो लाग्ने जटिल प्रश्नहरूका लागि डिजाइन गरिएको छ ।
यसमा एआईमा आधारित नयाँ 'क्वेरी सजेसन सिस्टम' पनि थपिएको छ । जसले साधारण अटो-कम्प्लिटभन्दा माथि उठेर सन्दर्भ अनुसार सर्चलाई अझ परिष्कृत बनाउन मद्दत गर्छ
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १३:२७
