८००० एमएएच ब्याट्रीसहित साओमी १७ म्याक्स सार्वजनिक, २०० एमपी लाइका क्यामेरा
जेठ ९, २०८३ ८:२९
काठमाडौँ । साओमीले चिनियाँ बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन साओमी १७ म्याक्स सार्वजनिक गरेको छ । यस पटक कम्पनीले विशेषगरी ब्याट्री क्षमता र फोटोग्राफीमा नयाँ रेकर्ड कायम गर्ने प्रयास गरेको छ ।
साओमी १७ म्याक्समा ८,००० एमएएचको विशाल सिलिकन-कार्बन ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो ब्याट्रीले ३३.३ घण्टासम्म निरन्तर भिडिओ स्ट्रिमिङ गर्न सक्ने क्षमता राख्छ, जुन दुईवटा फुल चार्ज गरिएका आईफोन १७ प्रो म्याक्सको संयुक्त क्षमता भन्दा पनि बढी हो ।
यसलाई फास्ट चार्ज गर्न १०० वाटको वायर्ड र ५० वाटको वायरलेस हाइपरचार्ज सुविधा दिइएको छ । जसले गर्दा यो ठुलो ब्याट्री समेत लगभग ६० देखि ७० मिनेटमै फुल चार्ज हुन्छ ।
फोटोग्राफीका लागि यसमा पहिलो पटक लाइकाद्वारा सञ्चालित २०० मेगापिक्सेलको मुख्य क्यामेरा प्रयोग गरिएको छ । यसमा १/१.४ इन्चको ठुलो सेन्सर र विशेष पिरामिड कोटिङ छ, जसले प्रकाशको परावर्तन कम गर्छ ।
यसका साथै फोनमा ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स पनि छ । जसले ६ गुणा लसलेस जुम र १५ सेन्टिमिटरको म्याक्रो फोटोग्राफी सपोर्ट गर्ने कम्पनीको भनाइछ । साथै ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा पनि यसमा समावेश छ ।
फोनमा ६.९ इन्चको टुके सुपरपिक्सेल फ्ल्याट स्क्रिन छ । जसमा ३,५०० निट्सको पिक ब्राइटनेस रहेको छ । सुरक्षाका लागि यसमा तेस्रो पुस्ताको ड्रागन क्रिस्टल ग्लास प्रयोग गरिएको छ, जुन सामान्य सिसा भन्दा २० गुणा बढी बलियो रहेको कम्पनीको दाबी छ । यसमा शक्तिशाली स्न्यापड्रागन ८ इलाइट जेन ५ प्रोसेसर र तातो कम गर्न एड्भान्स थ्री-डी रिङ कुलिङ सिस्टम राखिएको छ ।
१२ जीबी र्याम + २५६ जीबी स्टोरेज भएको साओमी १७ म्याक्सको मूल्य करिब ९७ हजार रुपैयाँ (४,२९९ युआन) रहेको छ भने १६ जीबी र्याम + ५१२ जीबी स्टोरेज क्षमताका लागि करिब एक लाख १२ हजार रुपैयाँ (५,२९९ युआन) तोकिएको छ । विश्व बजारमा यो फोनको उपलब्धताको विषयमा भने कम्पनीले यो समाचार तयार पार्दासम्म कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ११:१७
