काठमाडौँ । मेटाको रे-बान स्मार्ट ग्लासमा अब हातले इसारा गरेकै भरमा मेसेज लेख्न सकिने भएको छ । शुक्रबार स्मार्ट ग्लास सार्वजनिक भएको ६ महिनाको अवसरमा कम्पनीले नयाँ अपडेट उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्रामका साथै एन्ड्रोइड र आईओएसका नेटिभ मेसेजिङ एपमा यो सुविधा प्रयोग गर्न सकिनेछ ।
यो फिचर मेटा रे-ब्यान डिस्प्लेमा समावेश गरिएको न्युरल रिस्टब्यान्डका कारण सम्भव भएको कम्पनीको भनाइ छ ।
कम्पनीले गत जनवरीमा ह्वाट्सएप र मेसेन्जरका लागि अर्ली एक्सेसका रूपमा ल्याएको फिचर अहिले भने सबैका लागि उपलब्ध गराइएको छ । यसका साथै मेटाले स्मार्ट ग्लासमा अन्य केही अपडेट पनि थपेको छ ।
‘डिस्प्ले रेकर्डिङ’ नामक नयाँ फिचरमार्फत प्रयोगकर्ताले लेन्स डिस्प्लेमा देखिएको दृश्य, बाहिरको वातावरण र वरपरको अडियोलाई समेटेर भिडिओ खिच्न सक्नेछन् । त्यसैगरी, हिँड्दा बाटो देखाउने (वाकिङ डिरेक्सन) फिचर अमेरिका, लण्डन, पेरिस र रोमलगायतका सहरमा उपलब्ध गराइएको छ ।
यसका साथै मेटाले डेभलपरका लागि नयाँ ‘डेभलपर प्रिभ्यु’ सार्वजनिक गरेको छ । यसको सहयोगमा उनीहरूले मेटा रे-बान ग्लासका लागि उपयुक्त एप तयार पार्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १९:४६
