close

५३.९९ लाखमा नेपाल भित्रियो दीपलको लक्जरी इलेक्ट्रिक एसयूभी ‘एस०५ प्लस’, यस्ता छन् सुविधा

टेकपाना टेकपाना

जेठ ११, २०८३ १४:२०

५३.९९ लाखमा नेपाल भित्रियो दीपलको लक्जरी इलेक्ट्रिक एसयूभी ‘एस०५ प्लस’, यस्ता छन् सुविधा

काठमाडौँ । नेपालका लागि दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले सन् २०२६ मोडेलको ‘दीपल एस०५ प्लस’ को बिक्री सुरु गरेको छ । स्मार्ट र लक्जरी इलेक्ट्रिक एसयूभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन र 'फाइभ स्टार' रेटेड सुरक्षा प्रणालीका साथ नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

रियर ह्विल ड्राइभ प्रणाली युक्त यस एस०५ प्लसमा ९९ किलोवाटको मोटर रहेको छ, जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर (डब्लूएलटीपी) को रेन्ज प्रदान गर्नेछ । १५१.५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न निकै कम समय लाग्ने कम्पनीको दाबी छ । साथै, यसमा ६ किलोवाटको भेहिकल-टु-लोड फिचर रहेको छ, जसको माध्यमबाट गाडीको ब्याट्री प्रयोग गरेर अन्य बाह्य विद्युतीय उपकरणहरू सञ्चालन गर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड २०२५’ विजेता यस गाडीमा सिग्नेचर फ्रेमलेस डोर (ढोका) र फ्लस ह्यान्डलहरू प्रयोग गरिएको छ । गाडीको इन्टेरियरलाई प्रिमियम बनाउन १५.४ इन्चको फुल एचडी टच स्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ६४ रङको 'एम्बायन्ट लाइटिङ' सुविधा दिइएको छ ।

गाडीको अगाडिको भागमा १५९ लिटरको फ्रंक र यस सेग्मेन्टमै पहिलो पटक 'रिमोट इन एन्ड आउट' सिस्टम उपलब्ध छ, जसले गर्दा चालकले बाहिरै बसेर स्मार्ट तरिकाले गाडी पार्क गर्न सक्नेछन् । कनेक्टिभिटीका लागि यसमा फोरजी र फाइभजी नेटवर्कको सुविधा छ, जसले चालकलाई सधैं इन्टरनेटसँग जोडी राख्छ ।

सुरक्षाका हिसाबले २०२६ दीपल एस०५ प्लसले ‘युरो एनक्याप’ बाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको छ, जसले यसलाई पूर्ण रूपमा सुरक्षित गाडीका रूपमा प्रमाणित गर्छ ।

कम्पनीका अनुसार यो गाडी विशेषगरी पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षालाई प्राथमिकता दिने ग्राहकहरूका लागि तयार पारिएको कम्पनीको भनाइ छ । नेपाली बजारमा यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १४:२५