आउँदो सातादेखि ठुलो परिमाणमा लाइसेन्सको ‘ब्याकलग’ छपाइ सुरु हुँदै, असार २० भित्र १७ लाख थान सक्ने लक्ष्य
बैशाख २४, २०८३ १४:४७
काठमाडौं । क्यूआर कोडमा आधारित स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को दोस्रो चरणको छपाइअन्तर्गत आउँदो सातादेखि ठुलो परिमाणमा ‘ब्याकलग’ छपाइको काम सुरु हुने भएको छ । यातायात व्यवस्था विभागसँग भएको सम्झौताअन्तर्गत सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइको प्रक्रिया अघि बढाएको हो ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार पहिलो चरणको छपाइ कार्य गत १२ वैशाखमा सकिएपछि अहिले नियमित र अत्यावश्यकतर्फका लाइसेन्सको छपाइ भइरहेको छ । “यातायात व्यवस्था विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै यस्ता लाइसेन्स प्रिन्ट गरी पठाइने गरिएको छ,” उनले टेकपानासँग भने, “विशेषगरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जानेहरूका लागि तत्काल लाइसेन्स उपलब्ध गराउने कार्यलाई प्राथमिकता राखिएको छ ।”
लाइसेन्स छपाइका लागि आवश्यक कार्ड र अन्य सामान खरिदमा भएको ढिलाइले ब्याकलग छपाइ केही समय रोकिएको उनले सुनाए । “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग भएको सम्झौताअनुसार केही सामान आइपुगे, केही भोलि-पर्सि आइपुग्छन् । सम्भवत: २८ वा २९ वैशाखदेखि पूर्ण क्षमतामा कार्ड छाप्ने कार्य सुरु हुन्छ,” उनले भने ।
केन्द्रले १७ लाख लाइसेन्स छपाइका लागि असार मसान्तसम्मको समय पाएपनि त्यसअगावै छपाइ सक्ने लक्ष्य लिएको छ । “पूर्ण क्षमतामा काम भए असार २० भित्रै १७ लाख कार्ड छाप्ने लक्ष्य राखेका छाैँ,” तिमिल्सिनाले भने ।
यसअघि गत कात्तिक २०८२ मा यातायात व्यवस्था विभागसँग ६ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो । सम्झौताको पहिलो पाँच महिनामा मुस्किलले एक लाख मात्र छापिएकोमा पछिल्लो एक महिनामा बाँकी ११ लाख लाइसेन्स छपाइ सम्पन्न भएको थियो ।
केन्द्र र विभागबिच दोस्रो चरणको १७ लाख ब्याकलग लाइसेन्स छपाइका लागि ४ वैशाखमा सम्झौता भएको थियो ।
केन्द्रले लाइसेन्सका साथै हुलाक टिकट छपाइको प्रक्रिया पनि अघि बढाएको छ । हुलाक सेवा विभागसँगको सम्झौताअनुसार एक करोड ६० लाख थान टिकट छाप्नुपर्नेमा हाल ६० लाख थानको प्रक्रिया अघि बढेको उपसचिव तिमिल्सिनाले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ १५:१२
