ड्राइभिङ लाइसेन्स स्क्यान गर्दा किन देखियो चप्पलको विज्ञापन ? यस्तो छ वास्तविकता
जेठ ११, २०८३ १७:११
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा स्मार्ट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को क्यूआर कोड स्क्यान गर्दा जुत्ता-चप्पल किन्ने वेबसाइट खुलेको भिडिओ भाइरल भइरहेको छ । वर्षौंसम्म पर्खेर प्राप्त गरेको कार्ड अर्थहीन र कमसल रहेको भन्दै आलोचना गरिएको छ ।
सुरक्षण मुुद्रण केन्द्रले यसलाई प्रविधिको गलत बुझाइ र डिजिटल साक्षरताको अभाव भनेको छ । लाइसेन्सको क्यूआर कोडमा कुनै प्राविधिक त्रुटि नरहेको केन्द्रको दाबी छ ।
भाइरल भइरहेको उक्त भिडिओमा एक व्यक्तिले हातमा क्यूआर कोडयुक्त लाइसेन्स लिएको देखिन्छ । ती व्यक्तिले व्यङ्ग्यात्मक शैलीमा “चार वर्षपछि लाइसेन्स पाइयो आज, ल यहाँ स्क्यान गरौँ त के आउँदो रहेछ” भन्दै अर्का व्यक्तिलाई स्क्यान गर्न लगाउँछन् । अर्का व्यक्तिले स्मार्टफोनको सामान्य स्क्यानरबाट क्यूआर स्क्यान गर्दा एउटा नम्बर आउँछ र उक्त नम्बर गुगलको सर्चबारमा खोजिँदा अमेजनमा चप्पल बिक्रीका लागि राखिएका तस्बिर र पेज खुल्छन् ।
त्यसपछि भिडिओमा “यो लाइसेन्स हो कि चप्पल हो, लाइसेन्स भनेर चप्पलको एड्भर्टाइज गर्यो कि क्या हो, बितायो त नेपाल सरकारले” भनेको सुनिन्छ ।
यसै विषयमा स्पष्टीकरण दिँदै सुरक्षण मुद्रण केन्द्रका सेक्युरिटी डिजाइन तथा भीडीपी मेनेजर निरज दाहालले स्मार्ट लाइसेन्समा रहेका क्यूआर कोड डिजाइन अनुरूप नै पूर्ण रूपमा ठीक ढङ्गले कार्य गरिरहेको बताएका छन् । उनका अनुसार लाइसेन्सको अगाडि र पछाडि राखिएका दुवै क्यूआर कोड ‘इन्क्रिप्टेड’ (सुरक्षित) फर्म्याटमा रहेका छन् । “अगाडिको क्यूआरमा ‘एप्लिकेसन आईडी’ र पछाडिको क्यूआरमा ‘वाहकको नाम’ मात्र पब्लिक लेयरमा राखिएको र अन्य सम्पूर्ण व्यक्तिगत विवरण, बायोमेट्रिक सन्दर्भ र म्याद जस्ता विवरण इन्क्रिप्टेड तहमा रहने हुँदा साधारण क्यामेराले स्क्यान गरेर ती विवरण हेर्न सकिंदैन,” भीडीपी मेनेजर दाहालले भने ।
भिडिओमा चप्पलको विज्ञापन देखिनुको कारण खुलाउँदै म्यानेजर दाहालले अगाडि भने, “साधारण क्यामेरा एपले क्यूआरको पब्लिक लेयरमा रहेको एप्लिकेसन आईडी मात्र पढ्न सक्छ, जुन अङ्क मात्र हो । स्मार्टफोनको सामान्य सिस्टम अनुसार जुनसुकै नचिनिएको अङ्कलाई वेब सर्च सम्झेर गुगलमा पठाइन्छ र गुगलले त्यो संख्यासँग मिल्ने जुनसुकै सामग्री रिजल्टमा देखाउँछ ।” गुगलमा जुनसुकै र्यान्डम नम्बर टाइप गर्दा यस्तै नतिजा आउनु स्वाभाविक भएको बताउँदै उनले अगाडि भने, “यो क्यूआरको गुणस्तरसँग सम्बन्धित विषय होइन । उक्त भिडिओले क्यूआरमा कुनै त्रुटि देखाएको होइन, बरु इन्क्रिप्टेड डेटालाई अनधिकृत क्यामेराले पढ्दा हुने अपेक्षित परिणाम मात्र देखाएको हो ।”
लाइसेन्सको आधिकारिकता जाँच्न र विवरण हेर्न यातायात व्यवस्था विभाग र केन्द्रको समन्वयमा छुट्टै प्रणालीको विकास गरिएको छ । हाल ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका अधिकारी र तोकिएका निकायले मात्र प्रयोग गर्न मिल्ने गरी पूर्ण रूपमा ‘अफलाइन’ चल्ने डेडिकेटेड भेरिफिकेसन एप्लिकेसन सञ्चालनमा रहेको मेनेजर दहालले जानकारी दिए ।
आधिकारिक व्यक्तिले उक्त एपमार्फत क्यूआर स्क्यान गर्दा डेटा लोकल सर्भरमै डिक्रिप्ट भई वाहकको फोटोसहितको पूर्ण विवरण देखिने व्यवस्था मिलाइएको उनको भनाइ छ । दाहालका अनुसार यसका लागि इन्टरनेट वा केन्द्रीय डेटाबेसमा पुग्नुपर्ने आवश्यकता नपर्ने पर्दैन ।
यसका साथै सर्वसाधारणका लागि विकासक्रममा रहेको ब्राउजरमा आधारित भेरिफिकेसन प्रणाली पनि छिट्टै सञ्चालनमा आउने केन्द्रले जनाएको छ । यस प्रयोजनका लागि छुट्टै डोमेनको माग गरिसकिएको र उपलब्ध भएलगत्तै सर्वसाधारणले स्मार्टफोनको ब्राउजरबाटै स्क्यान गरेर आफ्नो विवरण हेर्न सक्नेछन् ।
मेनेजर दाहालका अनुसार यो प्रणालीमा इन्टरनेट केवल वेबसाइट खोल्न मात्र आवश्यक पर्ने र डेटाको प्रमाणीकरण प्रयोगकर्ताकै मोबाइलमा हुनेछ । “स्क्यान गर्दा विभागको केन्द्रीय डेटाबेसमा कुनै जानकारी नपठाउने गरी यसको डिजाइन गरिएको छ, जसले गर्दा डेटाबेस आक्रमण र डेटा चोरीको जोखिम शून्य रहन्छ,” उनले सुनाए ।
पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १७:३४
