close

२ करोड बढी नागरिकको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, तर कार्ड वितरण साढे ४० लाख मात्रै

टेकपाना टेकपाना

जेठ १३, २०८३ १४:१५

२ करोड बढी नागरिकको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, तर कार्ड वितरण साढे ४० लाख मात्रै

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्रका लागि दुई करोडभन्दा बढी नागरिकको वैयक्तिक र जैविक विवरण सङ्कलन गरे पनि कार्ड वितरणको अवस्था भने निकै सुस्त देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कले विवरण सङ्कलनको तुलनामा कार्ड छपाइ र वितरणमा ठुलो अन्तर देखिएको हो ।

आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा २ करोड १३ हजार ५५३ नागरिकको वैयक्तिक र जैविक विवरण सङ्कलन कार्य सम्पन्न भएको छ । तर, विवरण दिएका नागरिकहरूको तुलनामा कार्ड वितरण भने साढे ४० लाखको हाराहारीमा मात्र सीमित छ ।

प्रतिवेदनका अनुसार हालसम्म जम्मा ७५ लाख ८१ हजार १८३ वटा स्मार्ट कार्ड छपाइ भएको छ भने त्यसमध्ये जम्मा ४० लाख ३३ हजार ४० वटा राष्ट्रिय परिचयपत्र मात्र नागरिकलाई वितरण गरिएको छ । यस तथ्याङ्कले विवरण बुझाएका करिब डेढ करोड बढी नागरिक अझै पनि आफ्नो राष्ट्रिय परिचयपत्रको पर्खाइमा रहेको देखाउँछ ।

यद्यपि, सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सरकारी सेवा तथा सुविधाहरूसँग आबद्ध गर्ने कार्यलाई भने तीव्रता दिएको छ । सर्वेक्षण अनुसार राष्ट्रिय परिचयपत्रलाई हालसम्म राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष र कर्जा सूचना केन्द्र लगायतका १२ वटा निकायको सूचना प्रणालीसँग अन्तरआबद्ध (Interconnected) गरी सकिएको छ ।

राष्ट्रिय परिचयपत्रलाई राज्यले प्रदान गर्ने विभिन्न सेवासँग अनिवार्य गर्दै लगे पनि कार्ड छपाइ र वितरण संयन्त्रको सुस्तताका कारण नागरिक तहमा भने अझै पूर्ण रूपमा कार्ड पुग्न सकेको छैन । छिटोभन्दा छिटो सबै नागरिकको हातमा कार्ड पुर्‍याउन छपाइ र वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता सर्वेक्षणको तथ्याङ्कले औँल्याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १६:८