वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीमा
जेठ १८, २०८३ २०:४०
काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची र युवा, श्रम तथा रोजगार मन्त्रालयको १० बुँदे कार्ययोजना अन्तर्गत यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले सोही देश र सोही कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन दिएमा तोकिएका सर्तहरू पूरा भएको अवस्थामा प्रणालीले स्वतः श्रम स्वीकृति प्रदान गर्नेछ । सरकारले यही प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मार्फत पूर्ण रूपमा स्वचालित बनाएको हो ।
यो व्यवस्था लागु भएपछि श्रमिकहरूले श्रम कार्यालय धाइ रहनु पर्दैन । श्रमिकहरूले स्वदेशमा हुँदा वा विदेशमा (जुनसुकै देश) कार्यरत रहँदा आफैँ अनलाइन आवेदन दिएर यो स्वीकृति प्राप्त गर्न सक्छन् । यसका लागि म्यादी जीवन बीमा, वैदेशिक रोजगार कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषमा तोकिएको शुल्क विद्युतीय माध्यमबाट बुझाउनु पर्ने हुन्छ ।
एक पटक वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले आफ्नो श्रम स्वीकृतिको अवधि समाप्त भएपछि सोही मुलुक वा रोजगारदाताकहाँ निरन्तरता दिन वा नयाँ कम्पनीमा काम गर्नका लागि पुनः श्रम स्वीकृति (Re-Entry Labor Permit) अनिवार्य रूपमा लिनुपर्ने हुन्छ ।
विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति प्राप्त गर्न निश्चित सर्तहरू तोकिएको छ । जसअनुसार श्रम स्वीकृति आवेदन गर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरेकै देश र कम्पनीका लागि आवेदन गरेको हुनुपर्नेछ ।
राहदानीको अवधि कम्तीमा ३ महिना बाँकी भएको हुनुपर्ने, सम्बन्धित देशको वैध भिसा (Valid Visa) हुनुपर्ने र कम्पनीसँगको करार सम्झौता (Contract) भएको हुनुपर्ने जस्ता सर्तहरू तोकिएका छन् ।
यसका साथै सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष र आवधिक जीवन बीमाको तोकिएको रकम जम्मा गरेको हुनुपर्नेछ । वैध भिसा र करार सम्झौताका विषयमा FEIMS प्रणालीमा अनिवार्य रूपमा स्व-घोषणा (Self-declaration) समेत गर्नुपर्ने विभागले जनाएको छ ।
समयमै पुनः श्रम स्वीकृति नलिई काम गर्दा वैदेशिक रोजगारीका क्रममा दुर्घटना वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने आर्थिक सहायता तथा बीमा कम्पनीबाट पाइने क्षतिपूर्ति सुविधाहरू गुम्ने जोखिम रहन्छ । त्यसैले श्रमिकहरूलाई समयमै प्रक्रिया पूरा गर्न सुझाव दिइएको छ ।
FEIMS प्रणालीमा आवेदन दिँदा कुनै पनि गलत विवरण वा कागजात पेस नगर्न समेत विभागले सचेत गराएको छ । यदि आवेदनमा कुनै त्रुटि भएमा त्यसको पूर्ण जिम्मेवारी र दायित्व स्वयँ सेवाग्राहीले नै बहन गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ २०:४०
