काठमाडौँ । नेपालको पुँजी बजारमा प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भएसँगै शेयर बजारमा सर्वसाधारणको पहुँचमा उल्लेख्य वृद्धि देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको 'आर्थिक सर्वेक्षण २०८२/८३' को तथ्याङ्कअनुसार अनलाइनमार्फत प्राथमिक शेयर (आईपीओ) भर्न र आफ्नो शेयर पोर्टफोलियो हेर्न प्रयोग हुने मेरो शेयर खाता खोल्नेको सङ्ख्या ६६ लाख १३ हजार पुगेको हो ।
चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्कअनुसार मेरो शेयर प्रयोगकर्ताको यो सङ्ख्या देशको कूल जनसङ्ख्याको करिब २२.७ प्रतिशत हुन आउँछ । यसअघि २०८२ असार मसान्तसम्म मेरो शेयर खाताको सङ्ख्या ५९ लाख ७६ हजार रहेको थियो ।
चालू आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा मात्रै ६ लाख ३७ हजार नयाँ मेरो शेयर प्रयोगकर्ता थपिएको आर्थिक सर्वेक्षणले देखाएको छ ।
डिम्याट खाता खोल्ने जनसङ्ख्या २६ प्रतिशतभन्दा बढी
मेरो शेयरसँगै शेयर अभौतिकीकरण गरी सुरक्षित राख्ने डिम्याट खाता (हितग्राही खाता) खोल्नेको सङ्ख्यामा पनि उच्च वृद्धि भएको छ । प्रतिवेदनका अनुसार २०८२ फागुनसम्ममा डिम्याट खाताको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन देशको कूल जनसङ्ख्याको करिब २६.२ प्रतिशत हो ।
२०८२ असार मसान्तसम्म यस्तो खाताको सङ्ख्या ६९ लाख ९७ हजार रहेको थियो । यस तथ्याङ्कले नेपालका एक चौथाइभन्दा बढी नागरिक औपचारिक रूपमा पुँजी बजारको दायरामा आबद्ध भइसकेको देखाउँछ ।
डिम्याट र मेरो शेयर खातामा आएको यस उछालले प्राथमिक शेयर (आईपीओ, राइट शेयर आदि) बजारमा आम नागरिकको आकर्षण कति धेरै छ भन्ने देखाउँछ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमार्फत ५४ अर्ब १६ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति प्रदान भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११७ प्रतिशतले बढी हो ।
त्यसैगरी घरमै बसेर शेयर खरिदबिक्री गर्न सकिने सुविधाका कारण दोस्रो बजार (Secondary Market) मा पनि अनलाइन कारोबारका लागि लग-इन लिने लगानीकर्ताको सङ्ख्या ३१ लाख ८२ हजार ४ सय ६२ पुगेको छ ।
समग्रमा शेयर बजारको आकार पनि विस्तार भएको छ । २०८२ फागुन मसान्तसम्म आइपुग्दा नेप्से सूचकाङ्क २८२०.४५ विन्दुमा कायम भएको छ भने धितोपत्र बजारको कूल बजार पुँजीकरण बढेर ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ । पुँजी बजारमा बढ्दो प्रविधिको पहुँचले समग्र वित्तीय क्षेत्रलाई नै थप गतिशील बनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १८:४४
