डिजिटल स्वयल म्यापमा देशभरबाट माटोको ३८ हजारभन्दा बढी नमुना समावेश, घरमै बसेर गुणस्तर हेर्न सकिने
जेठ १३, २०८३ २२:३०
काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, आधुनिकीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको डिजिटल स्वयल म्याप (Digital Soil Map) को प्रयोग र विस्तार तीव्र रूपमा अघि बढेको छ । हालसम्म देशभरबाट सङ्कलन गरिएका ३८ हजार ४ सय १८ वटा माटोको नमुना परीक्षणको विवरण यस प्रणालीमा प्रविष्टिको काम सम्पन्न भएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले यूएसएडको नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्ट र सिमिटसँगको सहकार्यमा यो म्याप विकास गरेको हो । यस नक्सालाई मसिन लर्निङ (Machine Learning - Random Forest) प्रविधिको प्रयोग गरी तयार पारिएको छ ।
प्रयोगशालाबाट प्राप्त माटोको परीक्षण नतिजालाई भू-उपग्रहबाट प्राप्त १६८ वटा वातावरणीय चरहरू (Covariates) सँग संयोजन गरेर यो नक्सा तयार गरिएको छ । यस नक्साले १०० मिटरको रिजोलुसनमा माटोको अवस्था देखाउँछ ।
म्यापमा के-के हेर्न सकिन्छ ?
डिजिटल स्वायल म्यापमार्फत माटोका १० वटा महत्त्वपूर्ण गुण र पोषक तत्त्वहरूको अवस्था सजिलै थाहा पाउन सकिन्छ । यसले मुख्यगरी माटोको पीएच (pH) र प्राङ्गारिक पदार्थ (Organic Matter), कुल नाइट्रोजन, फस्फोरस र पोटासियम, जिंक तथा बोरन जस्ता सूक्ष्म पोषक तत्त्व, माटोको बनावट अर्थात् बालुवा, पाँगो र चिम्ट्याइलोपनको मात्रा कति छ भनेर देखाउँछ ।
किसानलाई कसरी फाइदा पुग्छ ?
यस प्रविधिको मुख्य उद्देश्य किसानहरूलाई आफ्नो जग्गाको माटो सुहाउँदो खेती गर्न र मलखादको सही प्रयोग गर्न सघाउनु हो । किसान वा कृषि प्राविधिकले soil.narc.gov.np वेबसाइटमा गएर पोइन्ट वा पोलिगन टुलको प्रयोग गरी आफ्नो खेतको क्षेत्र नक्सामा कोरेर (Select गरेर) सिधै आफ्नो माटोको विवरण र गुणस्तर हेर्न सक्छन् ।
यो विवरणलाई एक्सेल/सीएसभी फर्म्याटमा डाउनलोड गर्न र मोबाइल एपमा एपीआईमार्फत पनि प्रयोग गर्न सकिन्छ । यसबाट कुन बाली वा बिरुवामा कुन र कति मात्रामा मलखाद एवं सूक्ष्म पोषक तत्त्व प्रयोग गर्ने भनेर वैज्ञानिक सुझाव प्राप्त हुन्छ ।
विगतमा परम्परागत ढङ्गले अन्दाजको भरमा मलखादको प्रयोग गर्दा एकातिर कृषि उत्पादन नबढ्ने र अर्कोतिर माटोको उर्वरा शक्ति घट्दै जाने समस्या थियो । अब यो प्रणालीले माटोको आवश्यकता अनुसार मात्र मलखादको प्रयोग गर्न सघाउनेछ ।
किसानका साथै यो तथ्याङ्क नीति निर्माता, अनुसन्धानकर्ता र कृषि प्रसार कार्यकर्ताहरूलाई मलखाद व्यवस्थापन योजना बनाउन, माटोको अम्लीयपन सुधार गर्न र देशको कुन क्षेत्रमा कस्तो मल आवश्यक छ भनी निर्णय लिन अत्यन्तै उपयोगी साबित हुनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ २२:३०
