close

जलविद्युतलाई एआई प्रविधिमा जोड्ने सरकारको घोषणा, स्टार्टअप र अनुसन्धानलाई विशेष प्रोत्साहन

टेकपाना टेकपाना

जेठ १५, २०८३ १६:५८

जलविद्युतलाई एआई प्रविधिमा जोड्ने सरकारको घोषणा, स्टार्टअप र अनुसन्धानलाई विशेष प्रोत्साहन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गराउन विशेष पहल सुरु गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौँको स्युचाटारमा देशकै पहिलो 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने घोषणा गरेका हुन् । 

अर्थमन्त्री वाग्लेले भने, “नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ । काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ ।” 

सरकारले एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउन हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने योजना अघि सारेको छ । मुलुकमा उत्पादित स्वच्छ जलविद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य बजेटले लिएको छ । 

“स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु,” अर्थमन्त्री वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै भने, “नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु ।” 

बजेट अनुसार आगामी आर्थिक वर्षमा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाइरहेका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गरिनेछ । एआई प्रविधिको विकासका लागि आधारभूत मानिने गणित लगायतका शैक्षिक विधालाई समेत शैक्षिक क्षेत्रमा उच्च प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:४