मोबाइलमा आएको एउटा अलर्ट मेसेजले रित्तियो बैङ्क खाता, १३ जनाको गिरोह विरुद्ध अदालतमा मुद्दा
जेठ १३, २०८३ १९:५१
काठमाडौँ । मोबाइलमा आएको एउटा सामान्य जस्तो लाग्ने एसएमएस भित्रको लिङ्कमा क्लिक गर्दा एक जनाको खाताबाट झन्डै ३५ लाख रुपैयाँ चोरी भएको छ । मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा एक अभियोगपत्र दायर भएसँगै यो घटना बाहिरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले योजनाबद्ध रूपमा खाताको रकम उडाउने १३ जना फरार प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको छ ।
१२ जेठ २०८२ का दिन दिउँसो करिब ३:५३ बजेको समयमा सन्तोष कुमार चौधरीको मोबाइलमा द अलर्ट (The Alert) नामबाट एउटा मेसेज आएको थियो । उक्त मेसेजमा रहेको शङ्कास्पद लिङ्कमा चौधरीले क्लिक गरेका थिए । चौधरीले बताए अनुसार लिङ्क खोल्दा मोबाइलमा तत्काल कुनै प्रतिक्रिया वा सूचना भने आएको थिएन ।
तर, भोलिपल्ट बिहान उठेर मोबाइल हेर्दा उनको होस हवास उड्यो । उनको नेपाल बैङ्क लिमिटेडमा रहेको एसकेसी एण्ड एसोसिएट्सको खाता र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको व्यक्तिगत खाताबाट विभिन्न अपरिचित बैङ्क तथा वालेटहरूमा लाखौँ रकम ट्रान्सफर भएको मेसेजहरूले मोबाइल भरिएको थियो ।
ठगहरूले मेसेजमा पठाएको फिशिङ लिङ्कको माध्यमबाटै चौधरीको कनेक्ट आईपीएसमा अनधिकृत पहुँच (ह्याक) गरी कूल ३४ लाख ८२ हजार ३७७ रुपैयाँ उडाएका थिए ।
प्रहरीको साइबर ब्युरोले गरेको लामो अनुसन्धानले ठगीमा संलग्न गिरोहले प्रमाण लुकाउन लेयरिङ (तहगत संरचना) को प्रयोग गरेको देखाएको छ । घटनाको भोलिपल्ट अर्थात् १३ जेठ २०८२ मा ह्याकरहरूले चौधरीको खाताबाट पहिलो तहमा चार जना मुख्य प्रतिवादीहरूको खातामा रकम सारेका थिए ।
लक्ष्मी सनराइज बैङ्कमा रहेको विवश बम्जनको खातामा ५६,६००, यब कुमार केवटको आईएमई पे वालेटमा ५० हजारका दरले ४ पटक गरी २ लाख, दुर्गेश केवटको आईएमई पे वालेटमा ५० हजारका दरले २ पटकमा १ लाख र समिर प्रजाको एनआईसी एसिया बैङ्कको खातामा पटक-पटक गरी ११ लाख रुपैयाँ ट्रान्सफर गरिएको थियो ।
यसपछि अनुसन्धानलाई झुक्याउन सोही दिन उक्त रकम दोस्रो तहका अन्य ९ जना प्रतिवादीहरूका विभिन्न बैङ्क खातामा सारियो । यब कुमार र दुर्गेश केवटको वालेटबाट अनुराग सिंघी, नारायण गुरुङ, रन्जिता थारु र सबिना पराजुलीको खातामा रकम पठाइयो । त्यसैगरी समिर प्रजाको बैङ्क खाताबाट अनुज विश्वकर्मा, खड्ग थेबे, पदमबहादुर भण्डारी, राजिब तामाङ र राजन मगरका खाताहरूमा लाखौँ रुपैयाँ रकमान्तर गरिएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा यस सङ्गठित साइबर ठगीमा संलग्न कतिपय प्रतिवादीहरूको यसअघि पनि गम्भीर प्रकृतिका आपराधिक रेकर्ड रहेको तथ्य बाहिर आएको छ ।
मुख्य आरोपी विवश बम्जनविरुद्ध २०७८ सालमा सिन्धुली प्रहरीमा गर्भ संरक्षण विरुद्धको कसुरमा उजुरी दर्ता भएको थियो । अनुराग सिंघीविरुद्ध २०७६ सालमा पर्सामा सार्वजनिक हित, स्वास्थ्य र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलेको थियो ।
त्यस्तै राजिब तामाङविरुद्ध २०८१ सालमा धादिङमा लागु औषध सम्बन्धी कसुर देखिएको छ भने राजन मगरविरुद्ध २०८२ वैशाखमा काठमाडौँको बौद्ध प्रहरीमा ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दा दर्ता भएको देखिएको छ ।
पीडित सन्तोषकुमार चौधरीको आफ्नो खाताबाट ठगी भएको कूल ३४ लाख ८२ हजार ३७७ रुपैयाँमध्ये साइबर ब्युरोको पहलमा २० लाख ८ हजार २८ रुपैयाँ विभिन्न चरणमा फिर्ता भइसकेको छ । अब फिर्ता हुन बाँकी १४ लाख ५६ हजार ६ सय रुपैयाँलाई बिगो कायम गरी सरकारी वकिल कार्यालयले अदालतमा दाबी पेस गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा सबै १३ जनालाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको माग गरिएको छ । साथै, दफा २५४ बमोजिम १४ लाख ५६ हजार ६ सय रुपैयाँ प्रतिवादीहरूबाट असुल गरी पीडितलाई भराउन र अपराध पीडित संरक्षण ऐनअनुसार थप क्षतिपूर्ति दिलाउनसमेत मागदाबी लिइएको छ ।
हाल सबै १३ जना प्रतिवादीहरू फरार रहेकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १९:५१
