close

अब साओमीका मोबाइलमा भूकम्प जानु अघि नै ‘अलर्ट’

टेकपाना टेकपाना

मंसिर ४, २०७६ १७:१२

अब साओमीका मोबाइलमा भूकम्प जानु अघि नै ‘अलर्ट’

पश्चिम नेपालमा मंगलबारमात्रै ५.७ रेक्टरको भुकम्प गयो । कुनै किसिमको क्षती नभए पनि त्यसले धेरै नेपालीहरूलाई २०७२ को महाभूकम्पको भने सम्झना दिलाएको छ ।

हुन त, ‘भूकम्प सोधेर आउँछ र ?’ भन्ने नेपाली उखान नै छ । नसोधे पनि भूकम्प आउनु केही सेकेन्ड अघि मात्रै भए पनि चेतावनी दिने भए कस्तो हुथ्यो होला ? हुन त कतिपयलाई केही सेकेन्ड अघिको चेतावनीले के नै फरक पर्छ होला भन्ने पनि हुनसक्छ ।

तर, सम्झिनुहोस् त, केही सेकेण्ड अघिकै चेतावनीले पनि कति धेरैलाई सुरक्षित रहने मौका दिन सक्छ होला ? यही विषयलाई लिएर चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्ना मोबाइलमा एमआईयुआई ११ मा ‘अर्थक्विक डिटेक्सन’ अथार्त भुकम्पको पुर्व जानकारी दिन सक्ने प्रणाली उपलब्ध गराउँदै छ ।

कम्पनीले आफ्नो ब्लगमार्फत आफ्नो एमआईयुआई ११ र एमआई टीभी सिरिजमा ‘अर्थक्विक डिटेक्सन’ प्रविधि उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीका अनुसार यो सेवा पहिलो चरणमा चीनका प्रयोगकर्ताले मात्रै पाउनछन् । कम्पनीले चीनको विपदबारे चेतावनी दिने संस्थासँगको सहकार्यमा यो प्रणालीको विकास गरेको हो । गएको सेक्टेम्बरमा कम्पनीले चीनको सिन्ह्वामा यसको पहिलो परीक्षण गरेको थियो ।

यसलाई छिट्टै नै चीनभर सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले भुकम्पको धक्का आउनु १० सेकेण्ड अघि नै त्यसको जानकारी दिने दाबी गरिएको छ । मोबाइल निमार्ता कम्पनीले यस्तो सुविधा उपलब्ध गराएको यो नै पहिलो पटक हो । अन्य थर्डपार्टी एप, थ्रीजीजीपी ग्रुपले भने यस्तो सुविधा उपलब्ध गराउँदै आएका छन् । साओमीले यो सेवा विश्वभरका मोबाइल प्रयोगकर्तालाई उपलब्ध गराउने जनाएको भए पनि मिति भने खुलाएको छैन ।

तर, त्यस्ता एपमा भर पर्न नसकि रहेको अवस्थामा साओमीले मोबाइलको सिस्टममै यस्तो सुविधा उपलब्ध गराउने भएको हो । यसअघि एप्पलले पनि सन् २०११ मा यस्तो किसिमको सेवा जापानमा उपलब्ध गराउने जनाएको थियो । तर, अझैपनि उक्त कार्य परिक्षणकै क्रममा रहेको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१