२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

आखिर के चाहन्छन् महाबीर पुन ?

सुरुवाती दिनमा विकास अभियान्ता महाबीर पुन आविष्कार केन्द्र राज्यले नै सञ्चालन गरोस् र त्यसमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता बारम्बार व्यक्त गरिरहे । त्यसका लागि राज्यले मुलुकको कूल ग्राहस्र्थ उत्पादनको कम्तिमा एक प्रतिशत बजेट विनियोजन गरोस् भन्ने लबिङमा पनि वर्षौ‌ खर्चिए ।

सरकारी कामकाज गर्ने जुन नीति नियम छन्, त्यसै अन्तरगत आविष्कार कन्द्र चलाएर खोज, अनुसन्धान र आविष्कारको काम हुन सक्तैन भन्नेमा उनी सुरुदेखि नै स्पष्ट थिए । त्यसैले आविष्कार केन्द्र सञ्चालनका लागि छुट्टै किसिमको नीति नियम बनाउनुपर्छ भनिरहे ।

प्रचलित सरकारी नीति नियम अनुसार चलाउन खोजे आविष्कार केन्द्रले उद्देश्य अनुरुप काम गर्न सक्दैन भन्नेमा पुन दृढ थिए । ‘आविष्कार केन्द्रलाई कर्मचारीतन्त्रको ढिला सुस्तीमा चल्ने निकाय होइन, स्वतन्त्र किसिमले काम गर्न दिनुपर्छ भन्ने किसिमले हामीले सरकारलाई लामो समयदेखि घच्घच्याइ रह्यौँ । तर, सरकारले यो विषयलाई मनन् गर्नै चाहेन,’ उनी भन्छन् ।

जति कोशिस गर्दा पनि सरकार आविष्कार केन्द्रको आवश्यकता र महत्व बुझ्न तयार नदेखिए पछि पुनले आफ्नो एक्लो अग्रसरतामै भए पनि अढाई वर्ष अघि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा ल्याएर छाडे ।
आफ्नो व्यक्तिगत अग्रसरतामा आविष्कार केन्द्र स्थापना गरेको भए पनि यो काम सरकारकै भएको भन्न उनले अझै छुटाएका छैनन् ।

‘किन भने यो आविष्कार केन्द्र निजी सम्पत्ती होइन । यो सार्वजनिक सम्पत्ति हो, त्यसैले यो सरकारकै हो,’ उनी भन्छन्, ‘भविष्यमा सरकारसँगै मिलेरै यो केन्द्रबाट विज्ञान प्रविधिको क्षेत्रमा खोज, अनुसन्धान र आविष्कार गर्ने भनेर हामीले यसको ढोका खुला राखेका छौँ ।’

हुन त विज्ञान तथा शिक्षा मन्त्रालय अन्तरगत खोज, अनुसन्धान र आविष्कारको क्षेत्रमा काम गर्न भन्दै सरकारले विज्ञान प्रविधि प्रतिष्ठान–नाष्ट सञ्चालनमा ल्याएको वषौँ भइसक्यो । त्यसको अवधारण र उद्देश्य गलत नभए पनि वर्तमान सरकारी तन्त्रकै कार्यविधि र कार्यशैली अनुसार चलेको प्रति भने पुन त्यति खुशी छैनन् ।

‘जुन किसिमले सरकारले अरु कार्यक्रम चलाईरहेको छ, त्यही ढंग र ढाँचामा नास्टलाई पनि चलाइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो ढाँचाबाट नवीनतम् सोच भएका र खोज तथा अनुसन्धानभा रुची भएका युवाहरुलाई समेट्न सकिदैन । समेटि हाले पनि उनीहरुलाई काम गर्न मुस्किल पर्छ ।’

वास्तवमै अनुसन्धानको विषय समय तोकेर गर्ने चिज नै होइन । सोँच जतिखेर पलाउँछ, त्यतिखेर तत्कालै अगाडि बढाउन सक्नुपर्छ र त्यसका लागि सहयोग पनि सोही अनुसार प्राप्त हुन जरुरी छ । तर, सरकारी ढाँचामा काम गर्दा तत्कालै गर्नुपर्ने कामका लागि पनि महिनौँ पर्खिनुपर्ने बाध्यता रहने भएकाले त्यसले खोज र आविष्कारलाई सघाउन नसक्ने पुनको तर्क छ ।

हुन त नाष्टको परिसरमा रहेको पुरानो भवनमा आविष्कार केन्द्र राखेर सहकार्य गर्ने गरी पुनले सुरुमै प्रस्ताव समेत राखेका थिए । तर, नास्ट त्यसका लागि तयार नदेखिए पछि हाल त्रिभुवन विश्वविद्यालयको परिसर भित्र आफ्नै भवनमा आविष्कार केन्द्र सञ्चालनमा छ ।

आविष्कार केन्द्र कीर्तिपुरमा रहेको भए पनि यसको स्वरुप र संरचना भने खुला किसिमको छ । केन्द्रले नेपालको जुनसुकै कुनामा बसेर खोज, अनुसन्धान र विकास गर्न सक्ने विकल्प दिएको छ । काठमाडौं आइरहनुपर्ने बाध्यता छैन । काम गर्ने ठाउँको व्यवस्था मिलाउर्नुपर्ने अवस्थामा समेत केन्द्रले नै सहयोग गर्दै आएको छ ।

त्यसैअनुसार आविष्कार केन्द्रले धुलिखेलमा काठमाडौं विश्वविद्यालयसँग, चितवनमा रामपुर कृषि विश्वविद्यालयसँग, धरानमा इन्जिनियर कलेजसँग, बिराटनगरमा एउटा निजी कम्पनीसँग, जनकपुरमा एकजना व्यक्तिसँग, पोखरमा सफ्टवेयर कम्पनीसँग मिलेर खोज र अनुसन्धानको काम गरिरहेको छ ।

‘यो केन्द्रलाई आवश्यक परेको स्थानमा निर्माण र विस्तार गर्दै लैजाने सोँच बनाएका छौँ,’ पुन भन्छन्, ‘यो त केवल सुरुवाती विषय मात्र हो । अहिले नै धेरै काम गरियो भनेर सन्तुष्ट हुने हो भने हामी कहिँ पनि पुग्दैनौँ ।’
राष्ट्रिय आविष्कार केन्द्रमा अहिले विभिन्न १६ ओटा परियोजना सञ्चालनमा छन् ।

६/७ ओटा अरु सोचहरु पाइपलाइनमा छन् र त्यसमध्ये पनि केही सुरु हुने चरणमा छन् । सञ्चालनमा रहेका १६ ओटा सोचहरु विभिन्न चरणमा पुगेका छन् । तर, आविष्कार केन्द्रलाई कुरा मात्रै उठाउने, तर काम भने नगर्ने भन्दै आलोचना गर्नेहरु पनि यही समाजमा छन् ।

त्यस किसिमको आलोचनालाई पनि पुन सकारात्मक रुपमै ग्रहण गरिरहेका छन् । भन्छन्, ‘मान्छेहरुले त्यसरी आलोचना गर्नुको पछाडि पनि एउटा कारण छ, त्यो के भने उनीहरु अनुसन्धान र विकासको काम छिटो छिटो होस् भन्ने चाहन्छन् । खेतीपाती गरेजस्तो वा घर बनाएजस्तो कुनै निश्चित समयमा तयार हुन्छ भन्ने ठानिरहेका हुन्छन् ।’

वास्तवमा पुनले भनेजस्तै अनुसन्धान र विकास आफैमा निकै लामो प्रकृया हो । जसलाई पुरा हुन निकै समय लाग्न सक्छ । पुर्वानुमान गर्न त्यति सहज पनि हुँदैन । केन्द्र अन्तरगत अहिले सञ्चालनमा रहेका सबै परियोजनाहरु एकै समयमा सुरु भएका पनि होइनन् । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा आएको दुई वर्षको अविधिबिचमा फरक फरक समयमा परियोजनाहरु सुरु भएका हुन् ।

सञ्चालनमा रहेका कतिपय परियोजनाहरु सम्पन्न हुने चरणमा छन् भने केही आधाउधी अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका सबै परियोजना सफल नहुन सक्ने जोखिमको सन्दर्भमा समेत महाबिर पुन स्पष्ट छन् । अनुसन्धानका क्रममा कयौँ प्रयासहरु असफल भइरहेका हुन्छन् भने थोरै मात्र सफल हुन्छन् ।

यो एउटा अनुसन्धान तथा आविष्कारको कटु सत्य हो । ‘हामीले सुरु गरेका यी १६ ओटा काम मध्ये ५/६ ओटा मात्रै सफल भइदिए भने पनि त्यो हाम्रा लागि निकै ठूलो उपलब्धी हुनेछ,’ उनी भन्छन् । राष्ट्रिय आविष्कार केन्द्रले सानादेखि ठूला सबै सोँचलाई उत्तिकै महत्वका साथ सहयोग र साथ दिइरहेको छ ।

अहिले दुर्गम तथा ग्रामीण भेगमा औषधी पुर्याउने ड्रोनको विकास गरेर त्यसको परीक्षण गर्ने कार्य भइरहेको छ । ड्रोन केवल उडाएर प्रदर्शन गर्न मात्रै बनाइएको होइन, त्यसले प्रतिफल दिने गरी काम समेत गर्न आवश्यक छ । त्यसैले त नेपालको कठीन भौगोलिक अवस्था भएका स्थानहरुमा गएर त्यसले सुविधा दिन सक्छ कि सक्दैन भन्ने हिसावले त्यसको परीक्षण कार्य अझै पनि चालु छ ।

अर्कोतर्फ अस्पतालहरुमा समय नै नपुगि जन्मिेन बच्चाहरुलाई राख्ने बेबी इक्युबेटरको तयार पार्ने परियोजनाको काम समेत आविष्कार केन्द्रमा भइरहेको छ । त्यसमा पहिलो, दोश्रो हुँदै अहिले तेश्रो तथा अन्तिम मोडलमा काम चालु छ ।

आविष्कार केन्द्रबाट तयार हुने उत्पादनहरु नेपाली बजारमा उपभोक्ता तथा जनताले खरीद गर्न सक्ने स्तरका होऊन् भन्ने चाहना पुनको छ । त्यसैले ड्रोन र बेबी इन्क्युबेटर सस्तो रुपमै उपलब्ध गराउने धेयका साथ काम भइरहेको छ । त्यस बाहेक जाडोमा बच्चाहरुलाई चिसोबाट जोगाउन आवश्यक बेबी वार्मर विकासको काम समेत परीक्षणकै क्रममा छ ।

पेट्रोल तथा डिजेलबाट चल्ने पुराना गाडीहरु विद्युत् तथा ब्याट्रीबाट चल्ने बनाउने प्रयास समेत जारी छ । त्यसका लागि आवश्यक ब्याट्री र इलेक्ट्रिक मोटर चीनबाट मगाइ सकिएको छ । यसैगरी प्लास्टिकका पुराना बोतललाई पुनः उत्पादनका लािग पठाउनुपूर्व काटेर टुक्रा पार्ने मेसिन पनि आविष्कार केन्द्रमै बनिरहेको छ ।

विद्युतीकरण भइनसकेका दुर्गम ग्रामीण क्षेत्रका विद्यार्थीहरुको पढाइमा सहयोग पुर्याउने गरी सोलारबाट चल्ने कम विद्युत खपत गर्ने कम्प्युटर सिस्टम, प्रोजेक्टर, इन्टरनेट सहितको शैक्षिक सामग्रीयुक्त कम्प्याक्ट बक्स बनाउने परियोजना पनि चालु अवस्थामै छ । त्यससको परीक्षण जनकपुरका स्कुलहरुमा भइरहेको छ ।
यसैगरी स्वास्थ्यचौकी र साना अस्पतालहरुका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम पनि बनिरहेको छ ।

त्यसलाई लागु गर्ने तयारी भइरहेको पुनले बताउँछन् । नेपालभर विभिन्न ठाउँमा जाने बसको अनलाइन बुकिङ सिस्टम तयार पार्ने काममा समेत आविष्कार केन्द्रले युवाहरुलाई सघाइरहेको छ । बाँदर लखेट्ने मेसिन तयार गरी परीक्षणको काम समेत पुरा भइसकेको छ । आविष्कार केन्द्रकी सिईओ मीरा पोखरेलका अनुसार देशभरबाट त्यसको अत्यधिक माग समेत हुन थालेको छ ।

परीक्षण सफल हुनुलाई मात्र आविष्कार सफल भएको अर्थमा मान्ने पक्षमा पुन छैनन् । त्यसको व्यवसायिकीकरण मूख्य विषय भएको उनी बताउँछन् । ‘परीक्षण गरिसकेपछि बनेका चिज–वस्तुहरु बजारिकरणमा पनि सफल भए भने मात्रै परियोजना सफल भएको मान्न सकिन्छ,’ उनी भन्छन्, ‘त्यसैले खोज तथा आविष्कारमा जुटेका युवाहरु उद्यमीको रुपमा स्थापित हुन सके भने त्यसलाई आविष्कार केन्द्र अन्तरगत सञ्चालन भएका परियोजनाको सफलताको एउटा सूचकको रुपमा लिनुपर्ने हुन्छ ।’

राज्य स्तरबाटै सञ्चालन हुनुपर्ने राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको प्रयास महाबीर पुन एक्लैले थालेका छन् । अब यसलाई दीगो रुपमा सञ्चालन गर्न सकिने मोडालिटीको खाजिमा पुन लागिपरेका छन् । त्यसका लागि विभिन्न व्यवसायमा आविष्कार केन्द्रको लगानी गर्ने र त्यसबाट प्राप्त आम्दानी केन्द्र अन्तरगतका खोज, अनुसन्धान र आविष्कारमा लगाउने ।

त्यसका लागि अदुवा र जडिबुटी मिलाएर सफ्ट ड्रिङ्स बनाउने काम योजनाअनुसार अगाडि बढिरहेको छ । अहिलेकै गतिमा काम हुन सकेको खण्डमा कोक, फेन्टा जस्तै सफ्ट ड्रिङ्सको उत्पादन गर्ने केन्द्रको व्यवसाय अबको ५/६ महिनामा सुरु हुने अपेक्षा गर्न सकिन्छ ।

अर्कोतर्फ आफ्नै सफ्टवेयर कम्पनी खोलेर व्यवसायिक काम सञ्चालन गरेर आम्दानी गर्ने योजनामा पनि आवश्यक प्रक्रिया बढेको छ । पर्यटनमा लगानी गर्ने लगायतका अन्य उपायको खोजिमा समेत पुन र उनको टिम शक्रिय छ ।

हुन त सुरुवाती चरणमा १० मेगावाट जलविद्युत परियोजना तयार पारेर त्यसैको आम्दानी मार्फत आविष्कार केन्द्र सञ्चालन गर्ने योजना पनि बनेको थियो । तर, त्यसका लागि आवश्यक लगानी जुट्न नसक्दा अहिलेसम्म कार्यान्वयनमा भने जान सकेको छैन । यद्यपी, आगामी दिनमा श्रोत जुटेको अवस्थामा त्यो योजना समेत अगाडि बढाउन सकिने पुनको आश छ ।

अहिले आविष्कार केन्द्र केवल व्यक्तिगत रुपमा आउने सहयोगबाट सञ्चालन भइरहेको छ । यसरी आउने सहयोग मध्ये ९० प्रतिशत निम्न वर्गका व्यक्तिहरुबाट आउने गरेको छ । बाँकी ८/९ प्रतिशत मध्यम वर्गबाट र बाँकी नगन्य मात्राको सहयोग मात्रै उच्च वर्गले गरेको छ । नबुझेर भन्दा पनि विश्वास गर्न नसकेका कारण राज्य र समाजको उपल्लो तहका व्यक्तिहरुको सहयोग जुट्न नसकेको बुझाई पुनको छ ।

‘आविष्कार केन्द्रबाट खोज, अनुसन्धान र विकास गरेर देशको समृद्धिमा योगदान पुर्‍याउलान भन्ने कुरा यीनिहरुको सोँचमै छैन,’ पुन भन्छन्, ‘त्यो सोचाई आउनुको मूख्य कारण नेपाली समाजको पृष्ठभुमी नै जिम्मेवार छ । ऋषिमुनिहरुको पालादेखि नै वैज्ञानिक तरिकाले आविष्कार गर्ने, आविष्कार गरेको चिजलाई व्यवसायिक रुपमा लैजाने भन्ने किसिमको संस्कार बस्न सकेन । त्यसैले नै यस किसिमको सोचाई आएको हुनुपर्छ । राष्ट्रिय आविष्कार केन्द्र म लगायत २/४ जनाको मात्रै होइन, यो त सारा नेपालीको हो ।’

आविष्कार गर्ने वैज्ञानिकहरु पत्रिकामा सूचना प्रकाशित गरेर निवेदन हाल्न नआउने पुनको बुझाई छ । त्यस्ता प्रतिभा भएका व्यक्तिहरुलाई हामी आफैले पहिचान गर्न सक्नुपर्नेमा उनको जोड छ । ‘आविष्कारकहरुलाई फकाईफुल्याई गर्नुपर्ने हुन्छ । निवेदन मागेर वैज्ञानिकहरु आउनेवाला छैनन् भन्ने कुरा बुझ्न जरुरी छ,’ उनी भन्छन् ।

वास्तवमै खोज, अनुसन्धान र आविष्कार भन्ने विषय पुल, बाटो, भवन लगायतका संरचना बनाएजस्तो हुँदै हाइन । त्यसैले खोज र अनुसन्धानका लागि बजेटको सीमा तोक्नु विषय पनि ठीक नभएको पुन बताउँछन् । ‘मानौँ, घर बनाउनुपर्‍यो भने, लागत अनुमान गर्न र निश्चित समय तोक्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, कुनै पनि अनुसन्धान यति समयमा, यति पैसामा सम्पन्न हुन्छ, भन्न सकिदैन ।

त्यसैले बजेट र समयसीमा दुबै विषयमा लचकदार हुनुपर्छ । हामीले आविष्कार केन्द्रलाई पनि त्यसै किसिमले चलाउन खोजिरहेका छौँ ।’ खोज, अनुसन्धान र आविष्कारमा लाग्न चाहने युवाहरुलाई आविष्कार केन्द्रले आफै प्रस्ताव समेत गर्छ । निश्चित समयसीमा तोकेर आविष्कारमूलक सोचमा काम गर्न चाहने युवारुबाट निवेदन माग्ने काम पनि गर्दैन ।

राम्रा आइडिया सहित आउने प्रस्तावहरुमा आविष्कार केन्द्रको मूल्याङ्कन समितिले तत्कालै निर्णय दिन्छ । देशको आर्थिक विकासमा सहयोग पुग्ने, व्यक्ति उद्यमशील बन्न सक्ने र युवाहरुले रोजगार पाउँने संभावना भएका सोचहरुलाई साकार पार्न आविष्कार केन्द्रले सघाउँदै आएको छ । ‘यहाँ आविष्कारकहरुलाई जुनसुकै बेला आएर पनि काम गर्न सक्छन्, त्यसका लागि अहिले यो २४ सै घण्टा खुला भइरहेको छ । यहाँ कुनै विदा पनि हुँदैन । मन लागेको बेला आएर काम गर्न सक्छन् ।’

अनुसन्धानकर्तालाई आवश्यक सहयोगमा पनि सकेसम्म कुनै किसिमको ढिला सुस्ती हुन नदिने प्रयासमा केन्द्र लागिरहन्छ । सकेसम्म छोटो अवधिमा आवश्यक खर्च उपलब्ध गराउने फास्ट ट्र्याक विधि अपनाइएको छ । प्रकृयामै अल्झिनुपर्दा अनुसन्धानकर्ताको दिमाग नै एकाग्र हुन नसक्ने पुन बताउँछन् ।

अहिले सञ्चालनमा रहेका परियोजनाका लागि केन्द्रले खर्चको अभाव वा सीमितता व्यहोर्नुपर्ने अवस्था आइसकेको छैन । यद्यपी, दुई अर्ब रुपैयाँसम्म आवश्यक पर्न सक्ने परियोजनाका सोचहरु पनि केन्द्रमा आइरहेका हुन्छन् । त्यति ठूला परियोजना भने केन्द्रले सहयोग गर्न सकिरहेको छैन । हाल ५०/६० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको लगानीका परियोजना सञ्चालनमा छन् ।

अनुसन्धानमा कञ्जुस्याई गर्न नहुने विषय राम्रोसँग बुझेका पुनले हाँकेकको आविष्कार केन्द्रका भने आफ्नै सीमितता र बाध्यता छन् । त्यसैले यस्ता खोज, अनुसन्धान र आविष्कारका विषयमा राज्यले नै सहयोग गर्नुपर्ने लबिङमा पुन लागेका हन् । ‘राज्यले चाहेमा अरबौं, खरबौं रुपैयाँ पनि लगानी गर्न सक्छ,’ उनी भन्छन्, ‘त्यसैले राज्यको सहयोग र सहकार्य बिना खोज अनुसन्धान अगाडि बढाउँछौँ भनेका छैनौँ । राज्यको सहयोग बिना यो विषय अगाडि बढ्नै सक्दैन ।’

आविष्कार केन्द्रले नवीनतम् सोच भएका युवाहरुको खोज, अनुसन्धान र आविष्कारमा सघाउने सवालमा राज्यसँगै व्यक्ति, संस्था, सरकारी निकाय, निजी कम्पनी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकाय सबैसँग सहकार्यको ढोका खुला राखेको छ । ‘हामीले आपसी फाइदाको रुपमा भए पनि सहकार्य गर्नैपर्ने हुन्छ, सहकार्य बिना हामी अगाडि बढ्न सक्दैनौँ,’ उनी भन्छन् ।

आविष्कार केन्द्रको सपनालाई आफ्नो सपनाको रुपमा मात्रै अथ्र्याउने पक्षमा पुन छैनन् । उनी त्यसलाई समग्र नेपालीको सपनासँग जोडेर हेर्न चाहन्छन् । ‘खासमा मेरो आफ्नो सपना केही पनि होइन । यो त सारा नेपालीको देशलाई सुखी र समृद्ध बनाउने सपनाको विषय हो,’ उनी भन्छन्, ‘अबको २५/३० वर्षमा नेपाल अहिलेभन्दा निकै नै समृद्ध बन्न सक्छ र त्यो स्तरमा पुर्‍याउन सकिन्छ भन्ने मेरो सोँच हो । त्यसका लागि आविष्कार केन्द्रले जग बसाल्ने काम मात्रै गरेको हो । त्यसलाई विकास भनेको भावी सन्ततीले गर्ने काम हो । त्यसैले सारा नेपालीको सपनालाई यसमा गाँस्नैपर्ने हुन्छ ।’

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team