close

सबै जिल्लामा पुग्यो फोरजी

टेकपाना टेकपाना

माघ २२, २०७६ ८:९

सबै जिल्लामा पुग्यो फोरजी

हुम्ला सदरमुकाम सिमिकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएको खबर आजको गोरखापत्रमा छ ।

अधिकारीका अनुसार मङ्गलबारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ । टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (र्‍यान) का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो ।

टेलिकमले अहिलेसम्म दुई हजार ३८ साइटका तीन हजार ६८३ टावरमा फोरजी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरेको बताइएको छ । फोरजीको माग र सम्भावित बजार पहिचान गरेर नयाँ स्थानमा यसको सेवा विस्तार गर्ने काम भइरहेको अधिकारीको भनाई छ । फोरजी परियोजनाअन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान र थप ६४० नयाँ टावर स्थापना गर्ने लक्ष्य राखेको छ ।

नेपाल टेलिकमले त्यसअघि २०७३ पुस १७ गते नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । त्यतिबेला १८ सय मेगाहर्ज ब्यान्डमा फोरजी सेवा सुरु गरेको कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा मात्र यो सेवा उपलब्ध गराएको थियो । टेलिकमले हाल ८ सय र १८ सय मेगाहर्ज ब्यान्डअन्तर्गतको फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने कम्पनीको लक्ष्य छ ।

विस्तृतः गोरखापत्रमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०