close

महिलाका लागि सफ्टवेयर डेभलपमेन्ट फेलोशीप, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

फागुन १, २०७६ ९:२२

महिलाका लागि सफ्टवेयर डेभलपमेन्ट फेलोशीप, यसरी दिनुहोस् आवेदन

काठमाडौं । किशोरी तथा महिलाहरुको समूहले सफ्टवेयर विकास गर्न सुरु गरेको स्टार्टअप कम्पनी ‘कोड रश’ले ‘कोड लाईक हर’ (उनले जस्तै कोडिङ गर्नुहोस) फेलोशिप संचालन गर्ने भएको छ । युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीप सिकाउने र रोजगारी प्रदान गर्ने उद्देश्यका साथ ६ महिने फेलोशिपको उपलब्ध गराइने भएको हो ।

स्नातक तहमा आईटी तथा इन्जिनियरिङ विषय अध्यय गरिरहेका तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले उक्त फेलोशिपका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिनेहरुमध्ये १२ जना आवेदकलाई ‘कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिने कम्पनीले जनाएको छ ।

अहिले नेपालमा सूचना प्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको संख्या एकदमै न्यून छ । आईटी उद्योगमा काम गर्न आवश्यक सीपको अभाव हुँदा महिलाहरु करिअर अगाडि बढाउन सकिरहेका छैनन् । निःशूल्क रुपमा संचालन गरिने फेलोशिप मार्फत उनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा नेतृत्व विकास सम्बन्धि विभिन्न सीप प्रदान गरिनेछ ।

फेलोशिपमा सहभागीहरुले फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्न पाउने छन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि दिइनेछ ।

फेलोशिप मार्फत ’कोड रश’ले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । फेलोशिप अन्तर्गत तीन महिनासम्म वर्कशप तथा विभिन्न प्रोजेक्टहरु मार्फत सफ्टवेयर डेभलपमेन्ट तथा अन्य विभिन्न सीप विकास तालिम दिइनेछ भने अर्को तीन महिना सूचना प्रविधि क्षेत्रका कम्पनीहरुमा इन्टर्नशीपको रुपमा सहभागी गराइने छ ।

इन्टर्नशीपध पश्चात उनीहरुलाई विभिन्न कम्पनीहरुमा रोजगारी प्राप्त गर्ने सन्दर्भमा समेत कोड रशले सहयोग गर्नेछ । २ मार्चदेखि सुरु हुने फेलोशीपमा सहभागी हुन चाहनेहरुले २० फेब्रुअरीभीत्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको वेबसाईट मार्फत फेलोशीपका बारेमा थप विवरण थाहा पाउनुका साथै अनलाईन आवेदन दिन समेत सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१